हाँडीगाउँको प्राचीनता फर्काउन ९ करोड ४५ लाखमा ५४ घरको अग्रमोहडा सुधार हुँदै

डिसी नेपाल
२६ पुष २०८२ ८:२६
120
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले आधुनिक निर्माणका कारण हराउँदै गएको हाँडीगाउँको ऐतिहासिक र सांस्कृतिक पहिचान पुनःस्थापना गर्न ठूलो अभियान सुरु गरेको छ।

यसअन्तर्गत कृष्णमन्दिरदेखि डबली हुँदै भवँर कुःसम्म करिब ३०९ मिटर सडक आसपासका ५४ वटा घरको अग्रमोहडा मौलिक नेवार शैलीमा सुधार गरिनेछ। यसका लागि ९ करोड ४५ लाख रुपैयाँमा निर्माण सम्झौता भएको छ।

यस मार्गमा रहेका ६३ घरमध्ये ९ घरधनीले आफैँ अग्रमोहडा सुधार गरिसकेका छन् भने बाँकी घरमा वडा कार्यालय र महानगरपालिकाको समन्वयमा काम अघि बढाइनेछ।

परियोजनाअन्तर्गत परम्परागत झ्यालढोका, बालकोनी, पेटी, गारो, बलेँसी र झिँगटी छानाको प्रयोग गर्दै भवनको मौलिक स्वरूप फर्काइनेछ। साथै, सडकमा ढुङ्गा छाप्ने, पाटी-पौवा, मन्दिर, डबली र सामुदायिक संरचनाको पुनरुत्थान पनि गरिनेछ।

वडाध्यक्ष वीरेन्द्र प्रजापतीका अनुसार हाँडीगाउँ उपत्यकाकै प्राचीन बस्तीमध्ये एक हो, जहाँ पूर्व–लिच्छवी र लिच्छवीकालीन सांस्कृतिक तथा पुरातात्विक अवशेष भेटिएका छन्। ‘हाँडीगाउँको प्राचीनता नरःदे हो, यसलाई जोगाउन गुरुयोजनाअनुसार चरणबद्ध रूपमा काम गरिरहेका छौँ,’ उनले बताए।

धार्मिक, सामाजिक तथा सांस्कृतिक जात्रा–पर्वमा निरन्तर प्रयोग हुने यस मार्गको मौलिकता संरक्षणले स्थानीय पहिचानसँगै पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *