लुटको लंकामा आगो: ‘कर्नर’ बाट उठेको काफिला र हजुरबाहरु
“तुम गिराने मे लगे थे,
तुमने सोचा ही नहीं,
मै गीरा तो मसला बनकर खडा हो जाउङ्गा।
मुझको चलने दो,
अकेला है अभी मेरा सफर
रास्ता रोका गया तो, काफिला हो जाउङ्गा।”
-वसिम बरेलवी
भारतीय कवि वसिम बरेलवीका यी हरफहरू आज नेपाली राजनीतिको रंगमञ्चमा कुनै भावुक सायरी होइनन्, यी त ३६ वर्षदेखि सत्ताको वरिपरि पर्खाल लगाएर बसेका शासकहरूका लागि इतिहासले कोरिदिएको ‘मृत्युलेख’जस्तै लाग्छन्।
दशकौंदेखि सिंहदरबार र पार्टी कार्यालयका अग्ला पर्खालभित्र बसेको ‘हजुरबा’ पुस्ताले जब-जब परिवर्तनका संवाहकलाई ‘एक्लै’ देखेर कुल्चिने, गिराउने र सिध्याउने दुस्साहस गरे, तब-तब इतिहासले कोर्ल्टे फेर्यो। उनीहरूले सोचे-“यो झिल्कोलाई पैतालाले किचेर निभाउँछौँ।” तर उनीहरूले बिर्से कि खरानीभित्र लुकेको झिल्को जब दमनको हावासँगै उठ्छ, त्यसले डढेलोको रूप लिन्छ र वर्षौंदेखि खडा गरिएको ‘कुशासनको लंका’ लाई खरानी बनाइदिन्छ।
आजको नेपाली राजनीति यही ‘दमनकारी सत्ता’ र ‘विद्रोही चेत’ बीचको निर्णायक महाभारत हो। यो लडाइँ केवल चुनाव जित्नका लागि होइन, यो त ३ दशकदेखि बन्धक बनाइएको देशको भविष्य छुटाउनका लागि हो।
कांग्रेसको ‘ट्राजेडी’: सिद्धान्तको लिलामी र गगनको ‘काफिला’
नेपाली राजनीतिको इतिहासमा नेपाली कांग्रेस केवल एउटा दल थिएन; त्यो लोकतन्त्रको पाठशाला थियो, विचारको विश्वविद्यालय थियो। तर, विडम्बना! जुन पार्टीले राणा र पञ्चायतसँग लडेर लोकतन्त्रका लागि रगत बगायो, आज त्यही पार्टीभित्र आन्तरिक लोकतन्त्र ‘कोमा’ मा छ।
गगन थापाहरूले एकपटक होइन, पटक-पटक दललाई रूपान्तरणको बाटोमा हिँडाउन खोजे। विधानको सर्वोच्चता र विधिको शासन बसाल्न खोजे। तर, बालुवाटार र सानेपाको सिसाको महलमा बसेको ‘कोटरी’ (Coterie) ले उनलाई सधैं ‘कर्नर’ गर्याे।
शेरबहादुर देउवा- जसले हिजो पञ्चायतको कालकोठरीमा जवानी बिताएका थिए, आज आफ्नै श्रीमती आरजु देउवा र छोरा प्रकाश,जयवीरहरूको (राजनीतिक) भविष्य सुरक्षित गर्न सिङ्गो पार्टीको आदर्श लिलामीमा राखेर ‘मूकदर्शक’ बने। यो ‘पुत्रमोह’ र ‘पत्नीमोह’ ले धृतराष्ट्रलाई जस्तै देउवालाई पनि राजनीतिक रूपमा अन्धो बनाएको छ।
माओवादीको भारी र कार्यकर्ताको आँसु सिद्धान्त र आदर्शलाई सत्ताको तराजुमा जोखेर आरजु र प्रकाश देउवाहरूले (मन्त्रीको कुर्सीमा) रजाईँ गरिरहँदा, तल्लो तहको इमानदार कार्यकर्ताको मन रोयो।
हिजो जुन माओवादीले गाउँ-गाउँमा काङ्ग्रेस कार्यकर्तालाई खोजी-खोजी लखेट्यो, जसको हँसिया र हथौडाको डाम अझै पनि हजारौं कार्यकर्ताको शरीर र मनमा आलै छ, आज देउवाको ‘हठ’ का कारण त्यही हँसिया-हथौडा बोकेर भोट माग्नुपर्ने लज्जास्पद विवशता कांग्रेसजनमा आइलाग्यो।
आफ्नो नेतृत्व क्षमता देखाउन आतुर गाउँ र टोलको तरुण युवा, हिजो आफ्नै प्राणको चुनौती दिने कम्युनिस्टलाई काँधमा बोक्न बाध्य भयो। फलतः पार्टीको तल्लो तह (Grassroots) ले माथि (Elite) सँग भावनात्मक सम्बन्ध तोडिसकेको छ।
विशेष महाधिवेशन र न्यायिक लडाइँ यही नैराश्यता र विचलनका बीच जब गगन थापा र विश्वप्रकाशहरूले “अब अति भयो” भन्दै विशेष महाधिवेशनको माग गरे, जब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाइयो, तब देउवा क्याम्प अत्तालियो।
लोकतन्त्रको दुहाई दिने नेतृत्वले विधि र विधानको सामना गर्नुको साटो, आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्दै “स्टे अर्डर” को खोजीमा भौंतारिनुले उनीहरूको नैतिकता नाङ्गिएको छ। उनीहरू डराएका छन्- गगनबाट होइन, गगनले बोकेको ‘परिवर्तनको एजेन्डा’ बाट।
तर, वसिम बरेलवीले भनेझैं, “रास्ता रोका गया तो, काफिला हो जाउङ्गा।” देउवा र उनको कोटरीले जति रोक्न खोजे, जति घेराबन्दी गरे, गगन थापा आज त्यति नै सशक्त भएर निस्किएका छन्।
आज गगन एक्लो यात्री होइनन्, उनीसँग देशभरका परिवर्तनकारी युवाहरू, निराश कार्यकर्ता र आशावादी मतदाताको विशाल ‘काफिला’ छ। यो काफिला अब अदालतको ‘स्टे अर्डर’ ले रोकिँदैन, किनकि यो कागजमा होइन, जनताको मनमा दर्ता भइसकेको छ।
केपी ओलीको ‘हिपोक्रेसी’: रविलाई ‘मसला’ बनाउने खेल
उता, अर्को तस्बिर एमाले र केपी ओलीको छ। राजनीतिमा ‘दोहोरो चरित्र’ को कुनै सीमा हुन्छ भने, त्यो आजको एमाले नेतृत्वमा देखिन्छ।
रवि लामिछाने- नेपाली राजनीतिमा उदाएको एउटा नयाँ ‘फ्लेवर’। उनी राजनीतिमा आउनु संयोग थिएन, त्यो ३५ वर्षको वितृष्णाको उपज थियो। कानुन सबैका लागि बराबर हुन्छ, र रवि लामिछानेमाथि लागेका आरोपहरूको सत्यतथ्य छानबिन हुनुपर्छ भन्नेमा दुईमत छैन।तर, राजनीतिक रूपमा जसरी उनलाई ‘सिध्याउने’, घेराबन्दी गर्ने र ‘गिराएर मसला बनाउने’ सुनियोजित कोसिस भयो, त्यो कानुनी प्रक्रिया मात्र थिएन।
हिजोको रक्षक, आजको भक्षक? हामी अलिकति फ्ल्यासब्याकमा जाऔं। चुनाव अघि र सरकार बनाउने समीकरण मिलाउने बेला तिनै केपी ओली रविको नागरिकता र राहदानी प्रकरणमा ‘ढाल’ बनेर उभिन्थे।
“के को छानबिन? रविजीलाई फसाउन खोजियो, उहाँ निर्दोष हुनुहुन्छ” भन्दै सदन देखी बालकोटको बार्दलीबाट कुर्लिन्थे। तर, जब समीकरण बदलियो, जब रविले पुराना दलहरूको ३६ वर्षे ‘लुटको सिन्डिकेट’ लाई संसदमा उभिएर चुनौती दिन थाले, तब ओलीजीको बोली फेरियो। हिजोको ‘रक्षक’ आज ‘भक्षक’ को भाषा बोल्दै, महान्यायाधिवक्ताले क्लिन चिट दिँदादिँदै पनि “सहकारी ठग” भन्दै हिँड्नु राजनीतिक बेइमानी होइन?
एकै व्यक्ति, एकै मुद्दा। हिजो आफू अनुकूल हुँदा ‘बचाउ’ र आज चुनौती बन्दा ‘विरोध’? यो कस्तो राजनीतिक नैतिकता हो ओली जी? यसले प्रमाणित गर्छ कि पुराना दलहरूलाई विधिको शासनसँग मतलब छैन, उनीहरूलाई केवल आफ्नो कुर्सी हल्लिने डर छ। उनीहरू नयाँ शक्तिलाई ‘अराजक’ भन्छन्, किनकि नयाँ शक्तिले उनीहरूको ‘लुटतन्त्र’ को लय बिगारिदिएका छन्।
बालेन, सिंहदरबार र राजनीति
काठमाडौंको मुटुमा अर्को विद्रोहको आगो सल्किएको छ। बालेन शाह- जसले महानगरको फोहोर मात्र होइन, ३५ वर्षदेखि थुप्रिएको ‘राजनीतिक फोहोर’ पनि सफा गर्ने आँट गरे।
न्युरोडको फुटपाथ विस्तार गर्ने योजनामा एमालेका स्थानीय नेता र वडाध्यक्षहरूले जसरी सडकमा बार लगाएर, पिच खनेर काम रोके, त्यो ‘विकास विरोधी’ मानसिकताको पराकाष्ठा थियो।
एउटा निर्वाचित मेयरलाई काम गर्न नदिने, संघीय सरकारले पुलिस पठाएर हस्तक्षेप गर्ने, र पाइला-पाइलामा असहयोग गर्ने एमाले-कांग्रेसको रणनीति अन्ततः उनीहरूकै लागि आत्मघाती बन्यो।
वसिम बरेलवीको सायरी यहाँ बालेनका लागि पनि ठ्याक्कै मेल खान्छ। “रास्ता रोका गया तो, काफिला हो जाउङ्गा।” न्युरोडमा भौतिक रूपमा बाटो छेकेर बालेनको मिसन रोकिनेवाला छैन।
एमालेले जति घेराबन्दी गर्छ, बालेनको पक्षमा जनताको ‘काफिला’ त्यति नै ठूलो हुँदै गएको छ। सिंहदरबारको पर्खाल भत्काउने, काठमाडौंलाई बस्नयोग्य बनाउने र स्थानीय सरकारको स्वायत्तता जोगाउने उनको लडाइँमा अब उपत्यकावासी ‘ब्याकअप फोर्स’ बनेर उभिएका छन्।
तीन दशकको ‘ब्यालेन्स सिट’ र कुशासनको आगो
इतिहास साक्षी छ, यी पुराना दलहरूले पाएको अवसर कम थिएन। २०४६ सालदेखि २०८२ सम्म आइपुग्दा, उनीहरूले के गरेनन्?
-केपी ओलीले दुई-तिहाइको शक्तिशाली सरकार चलाए। केन्द्रदेखि सातै प्रदेशमा उनीहरूकै हालिमुहाली थियो। त्यो शक्ति हुँदा किन देश बनेन?
-देउवाले ५ पटक प्रधानमन्त्री खाए। प्रचण्डले ‘क्रमभंग’ को नाममा अस्थिरता मात्र दिए।
आज उनीहरू भन्छन्-“रवि, बालेन र नयाँ दलहरूले देशमा आगो लगाउन खोजे, बङ्गलादेश बनाउन खोजे।” यो तर्क दिँदा उनीहरूलाई लाज लाग्नुपर्ने हो।
मेरो सिधा प्रश्न छ: बङ्गलादेशमा शेख हसिनाले वा श्रीलंकामा राजपक्षे परिवारले पनि अन्तिम समयसम्म आन्दोलनकारीलाई “आतंककारी” र “विदेशी एजेन्ट” नै भन्थे। तर जब जनताको धैर्यताको बाँध फुट्यो, उनीहरूले देश छोड्नुपर्यो। नेपालमा यदि कुनै दिन ‘बङ्गलादेश मोडल’ को विद्रोह भयो भने, त्यसको जिम्मेवार रवि वा बालेन हुनेछैनन्। त्यसको जिम्मेवार-
-एयरपोर्टमा रुँदै बिदेसिने लाखौं युवाको आँसु हुनेछ।
-सहकारीमा डुबेको गरिबको पैसा हुनेछ।
-सिमानामा बेचिएको स्वाभिमान हुनेछ।
-भ्रष्टाचारका फाइल ‘सेटिङ’ मा लुकाउने तिमीहरूको कुकृत्य हुनेछ।
आगो रवि-बालेनले बालेका होइनन्, ३६ वर्षदेखि तिमीहरूले थुपारेको ‘बारुद’ मा तिमीहरूकै कुशासनको ‘घर्षण’ (Friction) ले आगो सल्किँदैछ। हामी त केवल त्यो आगो निभाउन ‘सिस्टम’ को कुरा गर्दैछौँ, तिमीहरू त्यसलाई ‘अराजकता’ भन्दैछौ।
अबको ‘रिफर्म नेपाल’
हामी केवल विरोध गर्न आएका होइनौं। ३६ वर्षको फोहोर सफा गर्ने ‘ब्लु-प्रिन्ट’ हामीसँग छ।
-शिक्षा: हामी डिग्री बेच्ने होइन, ‘लर्निङ बाई अर्निङ’मार्फत कक्षा कोठाबाटै उद्यमी निकाल्ने शिक्षा प्रणाली लागू गर्नेछौँ। शिक्षकलाई झन्डा बोकाउने होइन, ट्याब्लेट दिएर ‘डिजिटल र विश्वस्तरीय’ बनाउनेछौँ।
-स्वास्थ्य: उपचार नपाएर मर्नुपर्ने वा उपचार गर्दा घरबारी बेच्नुपर्ने दिनको अन्त्य गर्न ‘एक नागरिक, एक स्वास्थ्य कार्ड’ र ‘युनिभर्सल हेल्थ कभरेज’ को ग्यारेन्टी गर्नेछौँ।
-रोजगारी: पासपोर्टको लाइनलाई ‘इनोभेसन हब’ मा बदल्नेछौँ। ‘कलेज-टु-करियर ब्रिज’ मार्फत युवाको हातमा डिग्री र नियुक्ति पत्र एकैसाथ थमाउनेछौँ।
नाति पुस्ताको युग र हजुरबाहरुको विश्राम
यो आगामी चुनाव सामान्य चुनाव होइन। यो ‘जनमत संग्रह’ हो। यो चुनाव- देशलाई अधोगतिमा लगेर खरानी बनाउन ‘आगो उत्पादन गर्ने’ पुराना शक्ति र देशलाई विकसित राष्ट्रहरूको सूचीमा रकेट गतिमा हिँडाउने ‘योजनाकार’ हरू बीचको महाभारत हो।
अब समयको माग स्पष्ट छ। ‘हजुरबा’ पुस्ताका नेताहरू (देउवा, ओली, प्रचण्ड) ले अब घरमै बसेर नाति-पनातिसँग खेल्दै, राज्यले दिएको पेन्सन र भत्ता बुझ्दै, स्वास्थ्य लाभ गर्दै विश्राम लिनुपर्छ। उहाँहरूको योगदानलाई इतिहासले मूल्यांकन गर्नेछ, तर अबको आधुनिक इन्जिन चलाउने सफ्टवेयर र क्षमता उहाँहरूसँग छैन।
अबको युग नाति पुस्ताको हो। गगन थापा, विश्वप्रकाश, बालेन, रवि जस्ता नयाँ र उर्जावान नेतृत्वले देशको स्टेरिङ समात्ने बेला हो।
-गगनको ‘भिजन’,
-बालेनको ‘एक्सन’, र
-रविको ‘आवाज’।
यी तीनको संयोजन नै नेपालको भविष्य हो। त्यसैले, जो-जो बाटो छेक्न आउँछन्, तिनीहरूलाई साक्षी राखेर भन्नुपर्छ— तिमीले जति रोक्छौ, हाम्रो काफिला उति नै विशाल हुनेछ।
“३६ बर्से ‘लुटको लंका’ अब ढल्छ, विकसित नेपालको यात्रा अब रकेट जसरी चल्छ।”
यात्रा सुरु भइसक्यो। अब पालो, परिणामको। जय नेपाल ! जय देश !
















Facebook Comment