म मन पर्छु भने मलाई भोट देऊ
इमान्दारहरु आत्माले बोल्छन्, विवेक घुमाएर अनुकूल बोल्दैनन्। जे बोल्छन, आत्मैदेखि त्यसको पक्षपोषण र त्यही गर्छन्। हाम्रा नजरमा आजकाल एकजना पात्र छन महावीर पुन।
आजका दिनमा उनको एउटा कमजोरी छ, उनी यौटा अपराधमा दोषी आरोपित छन्, त्यो हो उनले यो सरकारमा बस्नु हुन्न थियो अथवा यो सरकार छोड्नु हुन्न थियो। कथाले माग्ने कुरा त्यही नै हो तर यो अपराध अरु सयौ संगीन अपराध गरेर खुल्लमखुल्ला समाजलाई लल्कार्दै गरेकाहरुका भीडमा सानो भइसक्यो।
हिजो आजको चुनावी माहौलमा महावीर पुन मात्र एक जना त्यस्तो पात्र हुन् जसले चुनाव र लोकतन्त्रको मर्मलाई पालना गरेका छन्। उनी भोट माग्दै जिल्लाका कुना कन्दरामा हिँडेका छन् र भन्छन्- म पनि भोटमा उठेको छु, ‘तिमीहरूलाई म मन पर्छु भने मलाई भोट देऊ, म मन पर्दिन भने जसलाई मन पर्छ उसलाई भोट देऊ’।
उनी पूर्ण प्रजातान्त्रिक वा लोकतान्त्रिक व्यक्ति हुन भन्ने कुराको यो भन्दा ठूलो उदाहरण खोजी रहन पर्दैन। ठग बन्धनको गैह्रकानूनी चुक्लीमा बाधिने वाहेक चुनावी मैदानमा उत्रेको उम्मेद्वारले आफूबाहेक विपक्षीहरुलाई पनि त्यति सहजतापूर्वक भोट मागि दिने अर्को कुनै उम्मेद्वार मैदानमा देख्न पाइन्छ र? पाइँदैन।
महावीर पुन चंख्याईं, धुर्त्याईं गर्न जान्दैन, मिलाएर बोल्न, आश्वासन र ललिपप देखाउन जान्दैनन् भनेर धेरैले सांसद बन्न उनको योग्यता पुगेको देख्दैनन् र उसवाट काम चल्दैन भन्छन्।
यही भोटका लागि डर, धम्की पस्केर, घुमाउरा अर्थहीन भाषण कोच्याएर, ठगबन्धनको चक्रव्युह रचेर, मैले/ हामीले नजिते यो हुन्छ र त्यो हुन्छ भन्दै मनेवैज्ञानिक आतंक फैलाएर निषेधको राजनीति गर्ने सुकिला मुकिलाहरू भन्दा महावीर पुन जस्ता सादगी कता हो कता महान छन्। काम सिस्टमले गर्ने हो, नियत र इमानले गर्ने हो त्यसैले उनीवाट पनि काम हुन्छ।
आफ्नो दिमाग, समय खर्चेर किताव लेखि पैताला खियाएर देशभर कराउँदै किताव बेचेर बाह्र करोड रुपैया जस्तो ठूलो रकम, राट्रले हेर्नु पर्ने ठाउँमा आफैं खन्याएर देशका किसानको स्तरोन्नतिका लागि खर्चने, गैह्र नाफामूलक राष्ट्रिय आविष्कार केन्द्र खोलेर सयौं युवाहरुको विचारको धरातल निर्माण गरिदिएर गुन लगाउने महाविर पुन अमेरिकाको विश्वविद्यालयमा विज्ञान प्रविधिमा माष्टर्स गरेका काविल मान्छे हुन भन्ने उनको योग्यता त सबैले विर्सी सके।
अझ त्यो बेला पढी सकेर अमेरिकै बसि डलरमा ६ अंकको जागीरमा रमाउन सक्ने उनको हैशियत र अवसरलाई त्यागेर नेपालका कयौ शहरमा इन्टरनेट थाहा नभएका बेला पश्चिम नेपालको विकटता भित्र पनि उनले स्कुल-स्कुलमा इन्टनेट पुर्याएर त्यहाँका जनता लाभन्वित बनाएको कुरा राष्ट्रिय बजेटको अदृश्य तातोले धनी बनेका हरूले मान्यता दिँदैनन्।
उनले आफूलाई बिर्सेर यो देशका लागि केही गरी रहेकै बेला, व्यक्तित्वको अहंकार बोकेर विभिन्न चरणमा देशका आमा बाबुको काख रित्याउने र सहीदको थुप्रो लगाउने चतुरेहरु र राष्ट्रको बजेट माथि कमिशनको छाली काढेर यो बनाएँ र त्यो बनाएँ, मैले जस्तो कसले गर्न सक्यो..? भन्दै त्यसैबाट धनी बनेका नवधनाढ्यहरु उम्मेद्वार बनेर देशमय भएका छन्।
हो, उनीहरुसँग महावीर पुन मैदानमा उत्तिकै अहंकारले उफ्रिन सक्दैनन्, खर्चको खोलो बगाउन सक्दैनन्, बाहुबल र प्रतिष्ठाको भीड उचाल्न सक्दैनन तर संसदमा उनको राष्ट्रप्रेमी सादगी उज्यालो आवश्यक छ जसले कयौ कुनियतका काला अनुहारहरू प्रष्ट देखिन सकुन्।
एउटै रुद्राक्षको बोटमा फल्ने एकमुखे दाना उस्तै देखिए पनि त्यसको महत्व र मूल्य रुखका सबै रुद्राक्षको भन्दा धेरै हुन्छ । गौदान, कन्यादान, मतदान बेइमान र धोकेवाजहरुका हातमा गयो भने दानको अपमान हुन्छ।
आफूले गरेको दानको हुर्मत देख्नु पर्याे भने कस्तो लाग्ला ? म त भन्छु, उहाँको क्षेत्रका मतदाता र उम्मेद्वारले म भन्दा उहाँ नै उपयुक्त हो भनेर सबैले महावीरलाई भोट दिन आग्रह गर्नु भए बेश हुन्छ। मलाई महावीर मन पर्याे, मेरो मनै देखिको भोट उनैलाई।
















Facebook Comment