काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको दुई दशक लाग्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार राजसंस्था र हिन्दु राज्यको मुद्दा लिएर घरदैलो अभियानमा व्यस्त छन् ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपाका केन्द्रीय प्रवक्ता डा. सुन्दर सिंह बोहोराको घरदैलो अभियान केवल भोट माग्ने औपचारिकता मात्र देखिँदैन । गणतन्त्र, राजसंस्था, धर्म, संस्कृति र राज्य संरचनाबारे गम्भीर वैचारिक हस्तक्षेपका रूपमा अभियान अघि बढिरहेको देखिन्छ ।

नेतृत्व विकास तथा मानव संसाधनमा विद्यावारिधी गरेका डा. बोहोराले निर्वाचन आचारसंहिता उल्लंघनका घटनाले बारम्बार चुनावलाई विवादित बनाइरहँदा आफूले शालीन, संयमित र धार्मिक–सांस्कृतिक शैलीमा चुनावी अभियान गरिरहेको बताए ।

उनले भड्किलो नाराबाजी, अपमानजनक भाष्य र उत्तेजक भाषणबाट टाढा रहँदै ‘आशीर्वाद लिने’ अभियानमा जोड दिएको बताए ।
‘घरदैलो कार्यक्रममा आचार संहितालाई आत्मसाथ गरेर काम गरिरहेका छौं । भड्किरा शब्दहरु बोलेका छैनौं र एकदम शुद्ध, पवित्र मनसहित मैदानमा छौं । सबैको आशिर्वाद पाउनेगरी हिडिरहेको छौं,’ उनले भने ।

राप्रपाले आफूलाई अन्य दलहरूभन्दा फरक, अनुशासित र परम्परागत मूल्यमा आधारित शक्तिका रूपमा प्रस्तुत गर्न खोजेको उनले बताए । उनका अनुसार हाम्रो शैली शहरी मतदाता र राजनीतिप्रति आजित नागरिकलाई लक्षित रणनीति हो ।

डा. बोहोराले ०८२ को निर्वाचनलाई व्यवहारमा जनमत संग्रहसँग तुलना गरेका छन् । उनको विश्लेषणमा चुनाव दुई धारमा विभाजित हुँदैछ ।
एकातिर गणतन्त्रलाई निरन्तरता दिन चाहने दलहरू, अर्कोतिर राजसंस्था र सनातन हिन्दू पहिचान पुनःस्थापनाको माग गर्ने राष्ट्रवादी शक्ति छन् । यो बहस नयाँ होइन । तर पछिल्ला वर्षहरूमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, नीतिगत अन्योलता र संस्थागत कमजोरीका कारण जनतामा बढेको निराशाले यो बहसलाई फेरि सतहमा ल्याएको छ । यही असन्तुष्टिलाई राप्रपाले ‘अभिभावक चाहियो’ भन्ने नारामा रूपान्तरण गरेको देखिन्छ ।

‘अहिलेको निर्वाचन यो ०८२ को जनमत संग्रह जस्तै छ, गणतन्त्र मान्नेहरु रास्वपा, कांग्रेस, एमाले र नेकपा हुन र राजसंस्था हुनुपर्छ, हिन्दू सनातनी धर्म हुनुपर्छ भन्ने राष्ट्रवादी हामी हौं,’ उनले थप भने, ‘अब गणतन्त्रवादी र राष्ट्रवादीसँग दोहोरो निर्वाचन हुँदैछ ।’

राप्रपाको राजनीतिक तर्कमा राजसंस्था कुनै निरंकुश शक्ति नभई दलभन्दा माथि उभिएको ‘चेक एण्ड ब्यालेन्स’ भएको डा.बोहोराले बताए । उनले दलको दबाबमा निर्णय गर्ने राष्ट्रपति वा सरकारभन्दा स्वतन्त्र, दीर्घकालीन सोच राख्ने अभिभावक संस्थाले मात्र राष्ट्रिय मुद्दामा सन्तुलन दिन सक्ने बताए ।

नागरिकता विधेयक, राष्ट्रपतिको भूमिका, विवादास्पद कानुनहरू र राजनीतिक हस्तक्षेपका घटनालाई उदाहरण दिँदै उनले भने, ‘नव–युवाले दलको ह्वीपभन्दा बाहिर उभिन सक्ने संस्थाको कल्पना गरेका छन् ।’

सनातन हिन्दू धर्मलाई संस्थागत गर्नु, संस्कार र परम्परालाई राज्य संरचनासँग जोड्नु र राष्ट्रिय पहिचान पुनःस्थापना गर्नु राप्रपाको केन्द्रीय एजेन्डा रहेको उनले बताए ।

डा. बोहोराले संसद सदस्यको भूमिकाबारे भ्रम फैलिएको स्पष्ट पार्दै भने, ‘सांसदको काम सडक, ढल र बजेट बाँड्ने होइन ।’
स्थानीय सरकार ऐन २०७४ अनुसार साना पूर्वाधार स्थानीय तहको जिम्मेवारी भएको उल्लेख गर्दै उनी प्रतिनिधिसभा सदस्यको भूमिकालाई नीति निर्माण, कानुनी सुधार र नागरिकका आवाज सदनमा उठाउने प्रक्रियासँग जोड्छन् ।

‘प्रतिनिधिसभाको पात्रले निर्वाचन क्षेत्रमा जसले जति जे भनेपनि त्यसले काम गर्ने होइन, भोट माग्दैजाँदा यस्तो विकास गरिदिन्छु, पाँच करोड, तीन करोड हालिदिन्छु भन्नु एकदमै हाइपोथेटिकल र फिक्सिसियस टक हो,’ उनले भने ।

वागमती करिडोर विस्तारमा मुआब्जा नपाएका किसान, गोकर्ण क्षेत्रको सडक सुरक्षा, जग्गा अधिग्रहणजस्ता मुद्दा उनी संसदमा निरन्तर उठाउने प्रतिबद्धता जनाउँछन् ।

‘वाग्मतीमा बाटो विस्तार गर्दा अतिकरणको पैसा नदिइ जबरजस्ती सरकारले कब्जा गरिराखेको छ । किसान प्रताडित छन् । यस्ता मुद्दाहरु प्रतिनिधिसभा सदस्यले स्थापित गर्ने हो, म त्यो गर्नेछु,’ उनले प्रतिबद्धता जनाए ।

राप्रपाले प्रस्तुत गरेको विकास मोडल परम्परागत औद्योगिक भाष्यभन्दा फरक भएको भन्दै डा. बोहोराले बुद्ध जन्मभूमि, सनातन हिन्दू तीर्थस्थल र सांस्कृतिक पर्यटनलाई आर्थिक मेरुदण्ड बनाउने सोचलाई प्राथमिकता दिएको बताए ।

उनको तर्कमा पर्यटन केवल होटल र घुमघाममा सीमित नभई पर्यटनसँग कृषि, पशुपालन, स्थानीय उत्पादन, हस्तकला र रोजगारी जोडिने उनको तर्क छ ।

‘हामीलाई जिम्मेवारी दिनुभयो भने बुद्धिजम, टुरिजम र हिन्दुजमलाई प्राथमिकता दिनेछौं,’ उनले भने ।
युवा विदेश जानु राजनीतिक असफलताको प्रतीक मात्र होइन भन्ने डा. बोहोराको धारणा परम्परागत भाष्यभन्दा फरक छ । सीप सिकेर फर्किने, अनुभव बटुल्ने र स्वदेशमा उद्यमशीलता विकास गर्ने प्रक्रियालाई उनी स्वाभाविक ठान्छन् ।

उनले राज्यले युवालाई स्वरोजगार, कृषि, जंगल, जमिन र जलसँग जोड्न सक्नुपर्ने बताए । आत्मनिर्भरता बिना राष्ट्रको समृद्धि सम्भव नभएको उनको निष्कर्ष छ ।

डा. बोहोराले अघि सारेको ‘पृथ्वी पथ’ अवधारणा सन्तुलन, चेक एण्ड ब्यालेन्स र दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएको बताए । यो अवधारणा प्रचण्डको ‘प्रचण्ड पथ’को प्रतिपक्षीय वैचारिक ब्रान्डिङ भएको बताए ।