लघुकथा : प्रतिभा

भूमिका गैरे तिमिल्सिना
२ फागुन २०८२ ८:०३
1.9k
Shares

`बाख्राको पुच्छर खाएजस्तो एकछिन नचली बस्न सक्दैनौँ, रोहण! के खाएर आउँछौ हँ? ´पढाइरहेको बेलामा चकचक गरेको देखेर शिक्षिकाले उसलाई हकारिन्। सबै गलल्ल हाँसे। एउटा विद्यार्थीले गुनासो गर्‍याे, `रोहणले मेरो कापी कलम खोस्यो।´

`यो केटोसँग म त हैरान भएँ। बदमासी पनि कति आएको हो? मान्छे हेर्दा सानो छ। कसैलाई टेर्दैन।´ भन्दै कापी कलम फिर्ता मागिन्। त्यसैबेला पिउन दाइ नोटिस लिएर आए।

उनले सबैलाई पढेर सुनाइन्, `आज शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तिमको दुई पिरियड चित्रकला प्रतियोगिता हुनेछ। इच्छुक विद्यार्थीले सहभागी जनाउनू´

सातौँ घण्टीमा विद्यार्थीहरू प्रतियोगिता हलमा प्रवेश गरे।

सबैलाई पेपर बाँडियो र निर्धारित समय तोकियो। सबैले चित्र कोर्न थाले। कोहीले वातावरणका विषयमा, कोहीले विद्यालयको भवन, कोहीले बगेको खोला बनाए।

उत्साहित भएर यस्तै अनेक अनेक चित्र कोर्दै थिए। शिक्षिकाले सबैतिर नजर घुमाउँदै थिइन्। रङ पनि भरेर चिटिक्क पारे। समय सकियो।

शिक्षिकाले भन्नुभयो, `ल, अब सबैले पेपर बुझाऊ त?´

उनी सबैसँग पेपर जम्मा पार्दै थिइन्। रोहणको पालो आयो। उनले मुख बङ्ग्याउँदै भनिन्, `यो छुकछुके त के बनायो होला, खै?´

नतिजा आफ्नै पोल्टामा पर्ला कि? भन्ने आशामा रोहणको अनुहारमा खुसी देखिन्थ्यो। उसले पेपर बुझायो। शिक्षिकालाई चित्र अद्भूत लाग्यो। उसको चित्र देखाउँदै सोधिन्, `तिमीले यो चित्रमा के देखाउन खोजेका हौ?´

उसले छाती फुलाउँदै गर्वका साथ भन्यो, `सांसारिक तनावबाट मुक्त हुन, शान्तिको खोजीमा मानिस हिमालको काखमुनि नदीको समीपमा गएर एकचित्त हुनु पर्छ भन्ने देखाउन खोजेको नि!´

लघुकथा : छठ

नदी, जलाशयमा लस्कर देखियो। महिलाहरू विभिन्न परिकारका मिठाइँ बनाएर पूजा सामग्रीसहित उपस्थित थिए। नदी वरिपरि रङ्गीबिरङ्गी पहिरन, सजावटले प्रत्यक्षदर्शीको ध्यान खिँचिरहेको थियो।

निकै श्रद्धा र उत्साहका साथ लामबद्ध भई बसी भक्तिभावले गुनगुनाएर आस्था प्रकट गर्दै थिए। सबै नियाली रहेका पहिलोले भन्यो, “साँझको बेला, नदी छेउ,पूजा सामग्रीसहित कस्तो अनौठो आस्था र विश्वास, हगि?”

दोस्रोले, “हो तनि, छठ पर्वमा अस्ताउँदो सूर्य देवलाई श्रद्धाका साथ अर्ध्य चढाई रातभर जाग्राम बसी उदाउँदो सूर्यलाई अर्ध्य दिएर पूजा समापन गरिन्छ।”
पहिलोले पुलकित हुँदै, “आहा! जुन धर्म माने पनि भगवानप्रतिको आस्था र विश्वास बोजोड!” उनले रोमाञ्च भाव देखाए।

दोस्रोले, ‘पौराणिक कथन अनुसार छठी मैयाँ ब्रह्माकी मानस पुत्री एवम् सूर्यदेवकी बहिनी हुन्। यिनलाई विशेषतः सन्तान र परिवारमा सुख, शान्ति, समृद्धि एवम् सकारात्मक ऊर्जाका रूपमा लिइन्छ, यो पर्व विशेषगरी तराई क्षेत्रमा मनाइन्छ।” उनले सत्यको बोध गराए।

धर्मको गहिराइको आभास भएकाले पहिलो मन्द मुस्कान दिँदै केही विनीत देखियो र भन्यो, “नेपाल चार वर्ण छत्तीस जातको फूलबारी, त्यसै भनिएको रहेनछ।”

दुबैलाई नियाली रहेको तेस्रो गम्भीरतापूर्वक बोल्यो, “आफू भलो त जगत भलो, भगवानको रूप एक नाम अनेक।” हा..हा..हा

लघुकथा : अष्टाङ्ग

“के सुन्नु पर्‍याे?” शोभाले खासखुस गरी।

मान्छेको जातै असन्तोषी, कहिल्यै नपुग्ने, भो भन्न नजान्ने, लोभको भाँडो कहिल्यै भरिदैन भन्थे। बाँचुन्जेल तछाडमछाड, मर्‍याे भने केही छैन?” अनिताले दार्शनिक लवजमा जीवनको विश्लेषण गरी।

शोभा, केही नजिक सर्दै भन्न थाली, “सुबोध त्यत्रो सम्पत्तिको मालिक थियो, के नपुग्दो थियो र झुन्डिएर मर्नुपर्ने? बाहिरबाट हेर्दा सम्पन्न तर भित्री पीडा कसलाई के थाहा?” उसले समयको गतिसँगै बहेको यथार्थता दर्शाई।

अनिताले मान्छेको वर्गीकरण गर्दै दाँज्न पुगी, ” त्यहीँ त, सर्वहारा वर्गको मान्छे काम गरेर खाने बरू सुखी छन्। बिहान बेलुकी परिवारसँग मिठोनमिठो खाएर रमाएको देखिन्छ।” उसले निधार खुम्च्याउँदै बोली।

शोभाले परिवारप्रति सहानुभूति देखाउँदै भनी, “कमसेकम आफ्नो पीडा बाँडेको भए समाधान निस्कन्थे होला। मर्नु समस्याको विकल्प होर।”

त्यतिकैमा उर्मिला आई र उनीहरू म्लान भएको देखेर भन्न थाली, “आजबाट नजिकै विद्यालयमा अष्टाङ्गयोग सम्बन्धी कार्यक्रम रहेको छ।” जीवनको पर्याय बुझ्न जानुपर्छ भन्दै लिएर गई

गुरूले सौम्य भावले भन्नुभयो, “शान्ति हामीभित्र छ, निराशाबाट टाढा रहन योग, ध्यानको सहाराले रोगलाई मात्र होइन मृत्युलाई पनि जित्न सकिन्छ।” उहाँको प्रवचनले मनलाई शान्ति दिलायो

शोभाले सुबोधलाई सम्झँदै, चिन्ताले चितासम्म पुर्‍याउँछ भन्थे हो रहेछ, उसलाई उचित परामर्शको खाँचो थियो,कसले बुझ्यो हँ? ” ऊ विरक्तिई।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.