लघुकथा : औपचारिकता
`अस्मितालाई कत्रो ठूलो बज्रपात पर्याे ?´ उसको श्रीमानको मृत्युप्रति साइली दिदीले सहानुभूति बाढ्दै भनिन्।
अस्मिता केवल रोइ मात्र रही। केही बोलिन। सुझाव दिँदै उनले पुन: थपिन् , ` यस्तो त आफू खाने शत्रुलाई पनि नपरोस् । तीन- तीन जना छोराछोरी कसरी पाल्छे? बरु नानी , तँ जागिर गर् । पढेलेखेको के काम?´
गाउँपालिकामा कर्मचारी आवश्यकता परेको सूचना उसले थाहा पाई। साहिली दिदीको सुझाव शिरोधार्य गर्दै उसले जागिरको लागि आवश्यक कागजपत्रसहित् निवेदन हाली। उसको नागरिकतामा श्रीमानको थर ‘लम्साल’ थियो तर उसको प्रमाणपत्रहरूमा माइतीको थर ‘पौडेल’ थियो।
यसै विषयमा कर्मचारी र ऊ बीचमा ठूलै विवाद पर्याे। अस्मिताले विवाह दर्ताको प्रमाणपत्र पेश गरी र कर्मचारीको मुखमा बुझो लगाई। लिखित र मौखिक परीक्षामा राम्रो अंक ल्याएर पास गरी । अन्तरवार्ता राम्रो भयो । ऊ ढुक्क भई तर नतिजा आउँदा उसको नाम फेला परेन।
ऊ आक्रोशित भई ।
गाउँपालिका पुगेर हाकिमसँग ठाडै प्रश्न गरी , ` मेरो भन्दा कम अंक आएको मानिसलाई किन नियुक्ति गरियो ? आखिर किन?´
हाकिमले सहजै भने , ` उहाँ त ठूलै नेताको भानिज पर्नु हुँदो रहेछ।´
लघुकथा : एकालाप
ऊ आफैसँग विलौना गर्दै थियो , ` आखिर नेपालको पढाइ के मा काम लाग्यो र ? न रोजगार, न कुनै आयमूलक काम ? पढेको पनि व्यर्थ भयो। आफू जन्मिएको, हुर्किएको ठाउँ छोडेर यो विरानो देशमा जिम्मेवारी बोकेर एक्लै बाँच्न कसलाई पो रहर हुन्छ र?
परिवारको गरिबी अनि देशको परिस्थितिले देशमा बस्ने वातावरण नै भएन । ऋणको भारि बोकेर आएपछि यहाँको पढाइ र कामले हाँस्नु न रुनु बनाएको छ। दु:ख र संघर्षलाई साथी बनाएर बाँच्नु परेको छ। न बेलामा सुत्नु छ , न त खानु नै । अर्काको देशमा चिनेजानेको कोही छैन।
घरपरिवार सम्झेर कतिपटक रोएँ। देशको डाँडापाखा हेर्न कल्पिएर कतिपटक बैरागिएँ ती बुढी आमा आउने बाटो कुर्दी हुन्। मन हुँदाहुँदै पनि बाध्यताले रोक्छ। सुनौलो भविष्यको कल्पनामा पटक पटक सङ्कल्प गर्छु , “ एकदिन त मेरा पनि दिन पक्कै आउनेछ।´
यही संकल्पले फेरि प्रोत्साहन दिन्छ र फेरि जाँगरिलो बन्छु । हाड घोटछु । रगत , पसिना बगाउँछु । कहिलेकाँही त लाग्छ , “ यत्रो श्रम आफ्नै देशमा गरेको भए मुहार त फेरिन्थ्यो होला नि!´´
लघुकथा :बाध्यता
` यो नाति हुर्काउदा मलाई कम्ता त धौ , धौ भएको थिएन ? रातभर नसुती बोतलबाट दुध ख्वाउथे ? त्यो दुधे बालक ल्याएको हिजो जस्तो लाग्छ , अहिले यत्रो भयो । ´´ अतीत सम्झिदै उनले बुढासँग भनिन्।
`हामीले नल्याएको भए यसको स्यहार सुसार कसले गर्थ्यो?
उता विदेशमा यसका बाबाआमालाई एकछिन फुर्सद छैन। अब त आफैँ स्कुल जान सक्ने भएको छ। `साँउभन्दा व्याजको माया ! ” नातितिर हेर्दै पुलकित मुन्द्रामा बुढाले भने।
`अरुबेला त ठिकै हो । बिरामी भयो भने मेरो सातो नै जान्छ । ऊ बेला आफ्ना छोराछोरी मेलापात , दाउराघाँस गर्दै कति दुखले हुर्काइयो । अहिले यसको मात्र चाकडी गर्दे दिन बित्छ । ´´ बुढीले भन्दै थिइन् , मोबाइलमा घन्टी बज्यो।
छोराबुहारीले भिडियो कल गरे । बुढीले नाति बोलाउन थालिन् ,“ आऊ , आऊ सुबोध ! तिम्रो बाबाआमाको फोन आयो । ल बोल्न यता आऊ त! ´
ऊ आफ्नै पारामा खेलिरह्यो। कति गर्दा पनि बोल्न खोजेन ? वास्तै गरेन । उनीहरूले फोन काटे । बुढीले चिन्ता गर्दै भनिन् ,` हाम्रो मायाले कतै आफ्ना बाबाआमासंग यसको दूरी त बढ्ने होइन।´
बुढा एकछिन घोरिए अनि भने, ” आमाबुबाको स्पर्श नपाएपछि कसरी माया बसोस् त ? बाध्यताले निम्त्याएको यो दूरी पनि ठीक त होइन ।”
लघुकथा : गाह्रो
” ल ! अब दुई दिनपछि यो ठाउँमा माननीय ज्यू आउँदै हुनुहु्न्छ रे ! सबै तयारी ठीकठाकसँग गर्नुपर्छ । उहाँलाई पनि लागोस् कि , वाह ! क्या गजबले स्वागत् गरेछन् जस्तो। अब हामीसबै स्वागत् कसरी गर्ने भन्ने तयारीमा लाग्नुपर्छ, है ! केटा हो। ” माननीयज्यूको स्वागतको तयारीमा लाग्यो समीर।
ए ! साँच्चै भन त बरु स्वागत् चाहिँ कसरी गर्ने ? सबैको राय माग्यो । कोहीले ठूलो रेस्टुरेन्टमा लगेर खाना खुवाउने भने। कोहीले हैन, लजमा बस्ने हो ,भने। कोहीले पार्टी कार्यालयमा राख्नुपर्छ भने।
यसै बीचबाट बोल्दै अशोकले भन्यो। सबैभन्दा राम्रो त माननीय ज्यू आएको खुसीयालीमा कार्यक्रम राखौ न ! त्यसो गर्दा उहाँ पनि खुसी ! हामीलाई पनि स्वागत् गरे जस्तो नि भयो। राम्रो नि हुँनेभयो। अशोकले भन्यो।
सबैले हुन्छ भने , कार्यक्रमको लागि व्यापक हल्ला मच्चाए। घरदैलो पनि गरे । ल है ! सबैजना आउनुपर्छ नि मास धेरै देखाउनु पर्छ भन्दै हिँडे । समिर र अशोक
कार्यक्रमको भव्य तयारी चल्यो । गाउँ नजिकैको चौतारीमा स्वागत कार्यक्रम शुरु भयो।
समीर र अशोक बडो फूर्तीका साथ कार्यक्रम बीच खटिदै थिए । माननीय ज्यूको आगमन पश्चात उद्घोषकले कार्यक्रम सञ्चालन गरे। सररर नामहरु बोलाउदै अतिथिको आशन ग्रहण गराउँदै गए । बीचबीचमा पनि अतिथिको नाम लिँदै आशन ग्रहण गराउँदै गए। कार्यक्रम सञ्चालक!
मञ्चामुखभन्दा मञ्चासिन धेरै भए । अतिथिको आशन ग्रहण गर्ने क्रममा अतिथिहरु त मञ्चमा अटाइनअटाई खचाखच भए । लाग्छ, सम्मान पाउने मात्र थिए जस्तो।
केही आठ / दशजना महिलाहरुले मात्र सुनेर बसेका थिए । कार्यक्रम सञ्चालकले अतिथिहरु क्रमश : एकपछि अर्को गर्दै बोल्न दिनुभयो । अतिथिहरु बोल्दै जानुभयो । माननीय ज्यूले लाजबोध मान्दै खुसुक्क अध्यक्षलाई भन्नुभयो । “खै त ! मास यत्ति हुन् ।”
बोलाउन त सबैलाई बोलाएको हो , क्यारे ! आइदिएनन् के गर्नु , अहिले त को आफ्नो हो को पराई हो चिन्नै सकिएन ? यस्ता विश्वास नभएका भए जनता नि ! पहिला त जे भने पनि खुरुखुरु मान्थे । अहिले त केही बोल्नै हुन्न । केही भन्यो खाउला जस्तो गर्छन् । अध्यक्षले भने
” माननीय ज्यूले टाउको निहुराएर घोरिएर सोच्नुभयो ,जनता पहिलाका जस्ता भेडा रहेनछन । अब राजनीति गर्न गाह्रो छ ।”















Facebook Comment