लघुकथा : तर्क

भूमिका गैरे तिमिल्सिना
२१ चैत २०८२ ७:५८
100
Shares

“विचार नमिलेको हो र ?”

एक मनले भन्यो, मनमा खुल्दुली चल्यो। फेरि अर्को मनले, “होइन, किन नमिल्नु? नबुझेर झर्किएको होला, केही बेरमा शान्त होला अनि सम्झाउँला।” मैले आफैंसँग प्रतिप्रश्न गरेँ।

छोराले तर्क राख्यो, ” ऊ परिवर्तनका कुरा गर्छ। शब्दकोशमा सीमित रहेको असम्भव भन्ने शब्दलाई सही डिजाइन दिएर सम्भवमा रूपान्तरण गर्न सक्ने क्षमता युवामा हुन्छ। त्यो जोस अनि साहस, अरूमा कहाँ ?” उसले एकैसासमा कुरा टुङ्ग्यायो।

मैले उसको मुहारमा पुलुक्क नजर दौडाए अनि भनेँ, “अहिले आँलाकाँचा छौ, उमेर नै कति भएको छ र? परिपक्वता आउँन घामपानीले खारिन पर्छ क्या! जोसमा होस् हुँदैन।” मैले केही शान्त गराउँन खोजेँ।

ऊ रन्कियो, “हामीलाई काँचो दिमाग भन्ने, देख्नु भएन। भदौ २३ र २४ को जेन्जी आन्दोलन! एकैदिनमा सत्ता पलट, त्यसैको परिणाम हो अहिलेको सरकार। बाआमा विचरा! सडकमा गए नि शान्तिले नाचेर आउँछन्, अनि तिनका माग जिउँका तिउँ।” उसले परिस्थिति नियाल्दै बोल्यो।

मैले शब्दले सम्झाउने हरसम्भव प्रयत्न गरेँ। उसका कुरा ठूला थिए। मैले नम्रता देखाएँ, “बोली अनि व्यवहारमा फरक छ, भन्न जस्तो सजिलो गर्न हुँदैन। परिवर्तन कुनै जादुको छडी होइन, समय लाग्छ।” मैले सौम्य भावले सम्झाए।

ऊ निडर हुँदै, “शक्तिको भरमा शासन टिकाएर हुन्छ, शासकदेखि रैतीसम्म मान्य हुँने सिष्टम बनाएर सबैलाई कानुनको दायरामा नल्याएसम्म परिवर्तन सम्भव छैन।” उसको सोचमग्न तर्कले म नि:शब्द रहेँ।

लघुकथा : चर्चा

मोबाइलमा घन्टी बज्यो।

फोनमा सम जयन्ती मनाउँने जानकारी भयो। समय र स्थान तोकियो। सबैले तोकिएकै समयमा उपस्थिति जनाए। उद्घोषकले कार्यक्रमको तारतम्य मिलाए। उनका योगदानको चर्चा र कविता वाचनमा उपस्थितले केही न केही सुनाउँनु पर्ने थियो।

उद्घोषकले अतिथिको आसन ग्रहण गराए। शङ्ख ध्वनि र स्वस्ति वाचनले सभाहल गुञ्जियो।

उद्घोषकले समबारे चर्चा गर्न श्यामसुन्दरलाई बोलाए। उनले भने, “दश वर्षको उमेरमा कविता लेखेका सम एक साहित्यकार,चित्रकार र नाट्यसम्राट हुन्। उनका बाजे डम्मर शमशेर अत्यन्तै क्रुर थिए। उनले अनेक पारिवारिक पिडा सहदै जेल जीवन पनि बिताएका थिए र क्षयरोगले उनको मृत्यु भयो।” उनले सर्सती भने।

फेरि जोडे, “प्रजातन्त्र पश्चात् सबैमा समान देखाउन राणा हटाई सम जोडेका थिए। स्वाध्ययनबाटै पूर्वीय र पाश्चात्य कला, धर्म, दर्शनका ज्ञाता थिए ।” उनले संक्षेपमा चर्चा गरेर उपस्थित स्रष्टाहरूको ध्यान खिँचेका थिए।

कविता वाचन भयो। कार्यक्रम औपचारिक रूपमा सकियो। कुराकानीका बीच एकले भन्यो, “अनेक हन्डर ठक्कर खाएर जीवन त संघर्षले बिताएका रहेछन् हगि!”

अर्कोले जवाफ फर्कायो, “धैर्यको वृक्ष तितो हुन्छ तर त्यसको फल मिठो हुन्छ भनेझैं जति ठूला चुनौती उति धेरै सफलता !”उसले अनुहार उज्यालो पार्दै दृढताले बोल्यो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *