‘कुडा कर्नालीका’मा उमा वादीको विद्धत प्रवचन : पढाईको होइन, पीडाको डिग्री सुनाउँदै छु’

डिसी नेपाल
२९ चैत २०८२ १६:२८
16
Shares

सुर्खेत। जब उमा वादी आफ्नो जीवन भोगाइको कथा लिएर ‘कुडा कर्नालीका…..’ कर्णाली उत्सवको स्टेजमा पुगिन् त्यतिबेला निकै भावुक पनि देखिइन्। कर्णाली उत्सवको दोस्रो दिनको सुरुवात गर्दै ‘प्रतिरोधि पाइला’ सत्रमा विद्वत प्रवचनका लागि मञ्चमा उभिएकी उमाले आफ्नो मात्र होइन वादी समुदायको जीवन भोगाई, भोग्नु परेको विभेद र उत्पीडनका श्रीखंलाहरु शब्दमा उतारिन्।

‘धेरैलाई लाग्दो हो, उमा वादी धेरै पढेकी छन्’ आफ्नो प्रवचनको सुरुवातमै आफूले कम पढेकोमा पछुतो मान्दै भनिन्, ‘स्कूल धेरै धाएँ हजुर तर कक्षा थोरै पढेँ। मसँग शैक्षिक प्रमाणपत्रको डिग्री त छैन, तर जीवन भोगाइ र पीडाको डिग्री अवश्य छ।’ वादी समुदायको फिरन्ते जीवनशैली, जीवन धान्नकै लागि गर्नु परेको कठोर संघर्ष, परम्परागत समाजमा वादी समुदायले भोग्नु परेको उत्पीडनका कारण आफूले पढ्न नपाएको उनले गुनासो गरिन्।

सल्यानमा जन्मिएर बाँके, बर्दिया, कैलाली, कञ्चनपुर हुँदै भारतको कुमाउ र गडुवालसम्म पुगेको आफ्नो बाल्यकालको कथा पनि उनले सुनाइन्। बादी समुदाय भन्ने वित्तिकै देह व्यपारलाई सम्झने हाम्रो परम्परागत मान्यताका कारण पनि थुप्रै विभेद र अपमान सहनु परेको उनको भोगाइ छ।

‘वादी भन्ने वित्तिकै महिलाहरुलाई देह व्यापारमा लगाउने समुदाय भन्ने बुझाइ छ’ उनले भनिन्, ‘सबै वादी समुदायमा यो पेशा नभए पनि सामाजिक दृष्टिकोण यही छ।’ देह व्यापार पनि कुनै समय समुदायको लागि बाध्यता भएको बताइन्।

उमा वादी कर्णाली र सुदूरपश्चिमको भूगोललाई जोड्ने ऐतिहासिक वादी आन्दोलनकी अगुवा हुन्। उनी सुदूरपश्चिम प्रदेशसभाकी पूर्व सदस्य पनि हुन्। उनले समुदायको मुक्ति र विभेदविरुद्ध आवाज उठाउँदाका अनुभुतीहरु सबिस्तार सुनाईन्। त्यही संघर्षले वादी र दलित समुदायले भोग्दै आएको विभेदमा कमी भए पनि पूर्ण रुपमा अधिकार पाउन नसकेको बताइन्। सल्यानमा जन्मिएर कर्मथलो सुदूरपश्चिम बनाएकी उमाले समुदायको आत्म सम्मानका लागि गरेको ४८ दिने ऐतिहासिक आन्दोलन र त्यसपछिका उपलब्धिबारे स्मरण गरिन्।

वादी समुदायको आन्दोलन केवल एउटा जात विशेषको मात्र नभई सम्पूर्ण नेपाली महिलाको आत्मसम्मानको लडाइँ भएको उमाको ठहर छ। त्यही लडाइँकै कारण आमाको नामबाट नागरिकता र जन्मदर्ता पाउने अधिकार केवल वादीका लागि मात्र नभई देशका सम्पूर्ण महिला र दलित महिलाहरूको लागि ठुलो उपलब्धि भएको उनको भनाई छ।
उनले समाजमा व्याप्त जातीय विभेदविरुद्धको लडाइँमा मात्र होइन् प्रदेश सभा सदस्य भइसकेपछि पनि आफुले विभेद भोग्नु परेको तितो यथार्थ सुनाइन्। प्रदेशसभा सदस्य निर्वाचित भइ कानून बनाउने थलोमा पुग्दापनि जातकै कारण आफुले कोठा भाडासमेत नपाएको उनले बताइन्।

‘म जनप्रतिनिधी भएकै अवस्थामा समेत ‘वादी’ भएकै कारण मैले कोठा भाडामा पाउन पनि निकै गाह्रो भयो’ उनले भनिन्, ‘कोठा खाली छ भनेर देखाउने घरबेटीले जब मेरो नाम सुन्थे, अनि कोठा दिन इन्कार गर्थे।’

वादी भएकैले सभामुखको पहलमा सरकारी कार्यालयको एउटा कोठामा बसेर सदन धाउनुपरेको पीडा उनले सुनाइन्। वादी समुदायलाई हेर्ने परम्परागत दृष्टिकोण संकुचित भएको भन्दै परिवर्तन गर्न जरुरी भएको उनको भनाइ छ। देह व्यापार गर्छन् भन्ने बुझाइका कारण वादी समुदायका महिलाहरुले अहिले पनि सामाजिक अपमान सहनु परेको उनको भनाई छ। ‘सबै वादी महिलाहरू यौन पेशामा छैनन् भन्ने तथ्य समाजले अझै स्वीकार गरेको छैन’ उनले भनिन्, ‘बादी समुदायको आर्थिक र सामाजिक सुधार गर्न सके मात्र समुदायलाई हेर्ने सामाजिक दृष्टिकोण बदल्न सकिन्छ।’

वादी समूदाय भुमीहीन भएर खोलाको किनार, जंगलका ओडारमा बस्नु परेको भन्दै त्यसका लागि सरकारले गास, बास र कपाससंगै शिक्षाको ग्यारेन्टी हुनुपर्ने उनको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *