सीपीएलमा व्यस्त रहेका सन्दिप पूरा सिजन नखेली फर्किँदै

डिसी नेपाल
८ असोज २०७६ १२:११

काठमाडौं । क्यारेबियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरिरहेका सन्दिप लामिछानेले दोश्रो सिजन पनि पुरा सिजन खेल्न नपाउने भएका छन्।

बार्बेडोस ट्राइडेन्टको प्रतिनिधित्व गर्ने क्रममा मंगलबार छैठौं खेल खेल्ने क्रममा नेपाली लेग स्पिनरले १७ रन खर्चेर २ विकेट लिएका थिए। यो सिजन कुल ६ खेल खेल्दा सन्दिपले कुल ८ विकेट लिए।

नेपाली रास्ट्रिय टिमले सेप्टेम्बर २७ देखि सिंगापुरमा खेल्ने त्रिकोणात्मक सिरिज र त्यसलगत्तै ओमानमा ५ देश सहभागी टि–२० सिरिज खेल्नको लागि सन्दिपले सिपिएल टि–२० पुनः बिचैमा छोड्नु परेको हो।

गत सिजन सीपीएलमा पनि सेन्ट किट्सको लागि सन्दिपले पुरा सिजन खेल्न पाएका थिएनन्। एसिया कप छनौट प्रतियोगिता रहेको कारण उनले मात्र ५ खेल मात्र खेलेका थिए जुन क्रममा कुल ७ विकेट लिएका थिए। गत सिजन अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, र ग्लोबल टि–२० क्यानडामा पनि सन्दिपले नेपाली टिमको खेल परेकाले पुरा सिजन खेल्न पाएका थिएनन्।

करेबियन प्रिमियर लिग अक्टोबर १२ सम्म संचालन हुनेछ। बार्बाडोस फाइनल पुगेको खण्डमा पनि ओमान सिरिजको अन्तिम खेल अक्टोबर १० मा रहेका कारण सन्दिप फर्किने सम्भावना अत्यन्त न्यून रहेको हो। लिग अंकतालिकामा चौथो स्थानमा रहेको बार्बेडोसले ६ खेल खेल्दा मात्र २ जित हात पारेको छ।

सिंगापुरमा नेपालले टेस्ट राष्ट्र जिम्बाबे र सिंगापुरसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। अक्टोबरमा युएईमा आयोजना हुने टि–२० विश्वकप छनौट प्रतियोगिताको तयारीको लागि सिंगापुरले सिरिजको आयोजना गरेको हो।

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले सेप्टेम्बर २७ मा जिम्बाबे र २८ मा सिंगापुरसंग खेल्नेछ। त्यसपछि अक्टोबर १ मा जिम्बाबे र अक्टोबर ३ मा सिंगापुरसंग खेल्ने तालिका रहेको छ। नेपालले टेस्ट रास्ट्र समेत सहभागी सिरिजमा खेल्न लागेको यो नै पहिलो पटक हो।

त्रिकोणात्मक सिरिज खेलेपछि नेपाल सिंगापुर बाटै ओमान प्रस्थान गर्नेछ जहाँ नेपालले आयोजक ओमान सहित, हंगकंग, नेदरल्याण्ड, आयरल्याण्ड गरि कुल ५ टिम सहभागी हुने टि–२० सिरिज खेल्नेछ। यो सिरिज पनि ओमानले टि–२० विश्वकप छनौटको तयारीको लागि आयोजना गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *