व्यंग्य : २१औं पुस्ताका युवाहरू : चलनमा हराएको चेतना

डिगबहादुर तामाङ
३१ वैशाख २०८३ ७:५७

पुरानो आँखाले नयाँ राजनीतिक रंगमञ्च हेर्दा लाग्छ-पात्रहरूको चयन त भएको छ, तर ती पात्रहरूलाई न कुलदेवताको सम्झना छ, न कसैले केही भन्लान् कि भन्ने डर छ, न संगीतमा “सुर र तालको संगम नभएसम्म संगीत हुँदैन” भन्ने आधारभूत ज्ञान छ। र्‍याप र हिपहपले युट्युब भरिएर अरबौँ कमाउने जमाना आएपछि परम्परा, संस्कार, पहिरन, मर्यादा-यी सबैलाई “पुरानो पुस्ताको बोझ” ठान्ने चलन बढेको छ।

तर विडम्बना त के छ भने-पुर्खाले बनाएको रंगमञ्च नै आज पनि देशको चिनारी हो; नत्र र्यापको बर्बर आवाजले देश चल्ने भए त संसदको घण्टी हटाएर स्पिकर राखिदिए हुन्थ्यो। किन चाहियो रंगमञ्चमा पोशाक? राष्ट्रमुखले बोल्ने ठाउँमा किन चाहियो मर्यादा? राष्ट्रिय पोशाकको महत्व बिर्सेकै हो कि-हैन भने किन नलगाएको? कि अब राष्ट्रिय पोशाक पनि “आउटडेटेड फिल्टर” भयो?

२१औँ पुस्ताका युवाहरूलाई हेर्दा लाग्छ-शास्त्रीय संगीतको गहिराइ उनीहरूका कानमा पुरानो देवालयको चिरिएको ढुङ्गाजस्तै मौन छ। हिपहपको धड्कनमा टाउको हल्लाउँदै, फाटेको पाइन्ट भिरेर, आँधीले उडाएको कपालसहित सडकमा सम्राटझैँ हिँड्दै, त्यही हिँडाइ तीनपटक दोहोर्‍याएर भिडियो बनाउँदै, दर्शकको संख्या गनेर भविष्यको नक्सा कोर्दै, बाहिरी चमकले भित्री रिक्तता छोप्दै, लाइकलाई बुद्धिको मापन र फलोअरलाई नेतृत्वको प्रमाण ठान्दै हिँड्छन्।

इतिहास? त्यो त उनीहरूका लागि पुरानो कागजको गन्धजस्तै—छुन मन नलाग्ने, बुझ्न झन् मन नलाग्ने। इतिहास पढ्नुभन्दा “इतिहास बनाउने” सजिलो छ भन्ने ठान्छन्-त्यो पनि तीन मिनेटको भिडियोमा।

तर इतिहासले भन्छ-नेता बन्नेहरू पहिले चरित्र बनाउँथे, आजका युवाहरू पहिले क्यामेरा कोण मिलाउँछन्। पहिलेका नेताहरू जनताको पीडा सुन्थे, आजका युवाहरू इमोजी गन्छन्। पहिलेका नेताहरू राष्ट्रको नक्सा हेर्थे, आजका युवाहरू मोबाइलको उज्यालो हेर्छन्।

पहिलेका नेताहरू संघर्ष गर्थे, आजका युवाहरू रूप बदल्ने भिडियो बनाउँछन्। अनि “म इतिहास बनाउँछु” भन्छन्-खुई खुई, इतिहास बनाउनेहरूले त इतिहास पढ्थे; आजका युवाहरूले त इतिहास शब्दको अर्थ पनि गुगल गर्नुपर्छ।

आफ्ना सन्तानलाई के सिकाउने-त्यही फाटेको सुरुवाल? कि “फाटेको जति आधुनिक” भन्ने नयाँ संविधान लेखिदिने? पहिरन, व्यवहार, संस्कार, जिम्मेवारी, राष्ट्रियता-यी सबै बुझेर नेता बन्नेहरू कहाँ? आज त औपचारिक कार्यक्रम होस् वा गम्भीर समारोह-त्यही फाटेको पाइन्ट, त्यही लत्रिएको टीसर्ट, त्यही कालो चस्मा, त्यही नाचगानको हिँडाइ।

मानौँ जीवन कुनै निरन्तर भिडियोको दृश्य हो, जहाँ अर्थभन्दा आवरण ठूलो। आवरण पनि यस्तो-जति फाट्यो उति आधुनिक; जति असम्बद्ध उति स्वतन्त्र। स्वतन्त्रता र अव्यवस्था बीचको रेखा? खुई, त्यो त देख्ने फुर्सद कहाँ! फुर्सद त लाइक हेर्नमै सकिन्छ, हैन र?

शास्त्रीय संगीत सुन्दा निद्रा लाग्ने, तीन मिनेटको बेसुरो चिच्याहटमा उछालिएका शब्द मिसाएर ताल मिल्यो कि मिलेन त्यो भन्दा ठूलो उपलब्धि केही नभएको, शब्द छरिएका, अर्थ हराएका-तर ठीक। दर्शक आयो भने सबै दर्शक नै आजको संस्कार, पहिचान, राष्ट्रियता, भविष्य। “राष्ट्रियता के हो?” भन्दा “पुरानो पुस्ताको कुरा” भन्ने। नयाँ पुस्ताको कुरा भनेको-चलन, उछाल, प्रतिक्रिया, हाँसो, व्यंग्य, अनि दर्शक, दर्शक, दर्शक।

दर्शक नआए निराशा, आए उत्सव-“भोलिदेखि अनुशासन सुरु गर्छु” भन्दै दूधचिया; “भोलिदेखि पढाइ सुरु गर्छु” भन्दै भुटेको मकै-रोटी; “भोलिदेखि बचत सुरु गर्छु” भन्दै किनमेल।

भोलि बदलिने कुरा? खुई, केही छैन-फिल्टर मात्र बदलिन्छ। यस्तै अवस्थामा नेतृत्व-स्थानमा पुगेका केही मानिसहरूलाई हेर्दा लाग्छ-जसले राष्ट्रलाई दिशा दिनुपर्ने हो, उसैले निष्क्रियतालाई पहिचान बनाएको; जसले अनुशासन देखाउनुपर्ने हो, उसैले औपचारिक पहिरनको अर्थ नबुझेको; जसले शिष्टाचार बुझाउनुपर्ने हो, उसैले शिष्टताको अर्थ उल्टो बुझेको।

अनि मनमा कठोर प्रश्न उठ्छ-यदि आजका यिनै मानिसहरूले औपचारिकता, मर्यादा, पहिरन र जिम्मेवारीको अर्थ बुझेनन् भने भोलि तिनकै छोराछोरीले क्रीडापोशाक-आधा पाइन्ट, गाउँघरको भाषामा ‘कत्तु’, नयाँ पुस्ताको भाषामा ‘फैशन’-त्यही लगाएर सभाभवनमा पस्ने, राष्ट्रप्रमुखको सम्बोधनकै बीच उठेर बाहिर निस्कने, औपचारिकताको पवित्रता भत्काउने र मर्यादाको सीमाना मेटिदिने त होइनन्? त्यो दिन सभाभवनभन्दा टिकटक स्टुडियो नै ठूलो देखिन थाल्ला।

किनकि शिष्टाचार पहिरनको चमक होइन-चरित्रको उज्यालो हो। औपचारिकता पोशाकको भिन्नता होइन-जिम्मेवारीको पहिचान हो। नेतृत्व आसनको उचाइ होइन-मर्यादाको अनुशासन हो।

यदि आफ्नै देशको पोशाक लगाउन लाज लाग्छ भने-नाटक मन्थन हुने रंगमञ्च त्यागेर अर्को राष्ट्रियता रोज्ने रंगकर्मी बन्ने हो कि? अन्त्यमा, यदि आजै नेतृत्व-स्थानमा बसेकाहरूले आफ्नो व्यवहार, पहिरन, शिष्टाचार र जिम्मेवारीलाई सही अर्थमा आत्मसात् गरेनन् भने भोलिको पुस्ताले तिनै गलत अभ्यासलाई परम्परा ठान्नेछ, र त्यो परम्परा राष्ट्रका लागि बोझ बन्नेछ-र त्यो दिन हामी बस्, “खुई, के दिन आयो!” भनेर हेर्दै बस्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *