टेष्ट राष्ट्र जिम्बावेसँग भिड्दै नेपाल, यसरी हेर्नुहोस लाईभ

डिसी नेपाल
१० असोज २०७६ ६:३०

काठमाडौं । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले आज टेष्ट राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

इन्डियन एसोसियसनको मैदानमा नेपालले साँझ टेष्ट राष्ट्र जिम्बावेको सामना गर्नेछ । नेपाल र जिम्बावेबीचको खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुनेछ ।

जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तर, युवा खेलाडीले भरिएको जिम्बावेविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाली टिममा युवा खेलाडीको बाहुल्यता हुनेछ ।

जिम्बावेविरुद्ध जित निकाल्न नेपाललाई युवा खेलाडीको प्रदर्शन महत्वपूर्ण हुनेछ । यस सिरिजलाई नेपालले युवा खेलाडीको परिक्षाको रुपमा समेत लिएको छ ।

हालै बंगलादेशमा त्रिकोणात्मक सिरिज खेलेको जिम्बावेका खेलाडी निकै लयमा रहेका छन् । नेपाल भने केहि महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दैछ । बंगलादेशमा फाइनल पुग्न असफल जिम्बावे सिंगापुरमा भने सिरिज जित्ने योजना सहित मैदान उत्रने छन् ।

नेपाल र जिम्बावेबीच टी–ट्वान्टी क्रिकेटमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । एकदिवसीयमा भने नेपालले जिम्बावेसँग प्रतिस्पर्धा गरिसकेको छ ।

सन् २०१८ को मार्चमा भएको विश्वकप छनोटमा नेपालले जिम्बावेसँग खेलेको थियो । जहाँ नेपालले ११६ रनको हार व्यहोरेको थियो । सिंगापुरमा भने नेपाल त्यस हारको बदला लिने दाउमा हुनेछ ।

यस्तै आज देखि सुरु हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज प्रत्यक्ष प्रशारण हुने भएको छ । सिंगापुर क्रिकेटका अनुसार सिरिजका सबै खेल विसी स्पोर्ट्सको फेसबुक पेज तथा युट्यूब च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

नेपाली टोलीः

पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, ईशान पाण्डे, सन्दीप जोरा, रोहित कुमार पौडेल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *