एनपीएल क्रिकेटका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स, खेलकुदमा ठूलो साझेदारी
काठमाडौं। एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय इनर्जी ड्रिंक्स ब्रान्ड ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि ऐतिहासिक साझेदारीको घोषणा गरेको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रतियोगिताका कुल आठ फ्रेन्चाइज टोलीमध्ये ६ वटा टोलीसँग टाइटल स्पोन्सरसिप (प्रमुख प्रायोजक) सम्झौता गर्दै नेपाली खेलकुदको व्यावसायिक इतिहासमा निजी क्षेत्रबाट सम्भवतः सबैभन्दा ठूलो लगानी गरेको हो।
कम्पनीले काठमाडौँ गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रमुख प्रायोजकका रूपमा औपचारिक सम्झौता सम्पन्न गरिसकेको छ।
एनपीएलको आगामी तेस्रो संस्करणका लागि आयोजित एक विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि र एग्रो थाई फुड्स प्रालिकी बिजनेस हेड सोनिया राणाले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।
सहमतिअनुसार एक्स्ट्रिम इनर्जी ड्रिंक्स आगामी तीन वर्षसम्म यी ६ वटै टोलीको प्रमुख प्रायोजकका रूपमा रहनेछ भने टोलीहरूको प्लेइङ जर्सीको अगाडिको मुख्य भागमा ब्रान्डको लोगो अंकित गरिनेछ।
यो सहकार्यले नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता एनपीएलमार्फत ब्रान्डलाई दर्शकमाझ अझ सशक्त रूपमा स्थापित गर्नुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ।
सम्झौता कार्यक्रमका प्रमुख अतिथि एवं क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले यो सहकार्य नेपाली क्रिकेटको दिगो विकास, खेलाडीहरूको उज्ज्वल भविष्य र समग्र क्रिकेट संरचनालाई सुदृढ बनाउनका लागि एक महत्त्वपूर्ण कदम भएको उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स मेनेजर कृष्ण दाहालले प्रतिष्ठित प्रतियोगिता एनपीएलका ६ वटा टोलीसँग सहकार्य गर्न पाउनु गर्वको कुरा भएको बताउँदै यो साझेदारी केवल ब्रान्ड प्रचारका लागि मात्र नभएर नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि भएको प्रस्ट पारे।
विगत केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा निरन्तर लगानी गर्दै आएको एक्स्ट्रिम इनर्जी ड्रिंक्स हाल नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको पनि प्रमुख प्रायोजक हो। यसका साथै कम्पनीले फुटबल, भलिबल, म्याराथन तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा पनि सक्रिय सहकार्य गर्दै आएको छ।
नेपालीहरूको महान् चाड दसैँपछि आयोजना हुन लागेको एनपीएलको तेस्रो संस्करण अगाडि भएको यो बृहत् सम्झौताले नेपाली खेलकुदमा निजी क्षेत्रको आकर्षण र विश्वास निकै बढेको पुष्टि गर्छ। आगामी दिनमा पनि नेपाली खेलकुदको विकास, खेलाडीहरूको क्षमता वृद्धि र खेल संस्कृतिको विस्तारमा निरन्तर योगदान दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।






डिसी नेपाल





Facebook Comment