कुमारी बैंकद्वारा बाजुराको गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण
काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्रमा अवस्थित गौमुल गाउँपालिका भित्रका ६ वटा सामुदायिक माध्यमिक विद्यालयहरूलाई ५५ इन्चका स्मार्ट टेलिभिजन (Smart TV) उपलब्ध गराएको छ।
बैंकको गौमुल शाखाले गाउँपालिकाको प्रत्यक्ष समन्वयमा यो सहयोग कार्यक्रम सम्पन्न गरेको हो। भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको यस क्षेत्रमा बैंकको यो प्रयासले डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने र ग्रामीण भेगका विद्यार्थीहरूका लागि शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, रोचक तथा प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
यस प्रविधिमैत्री सहयोग कार्यक्रमबाट गौमुल गाउँपालिका-५ को श्री मानाकोट माध्यमिक विद्यालय, गाउँपालिका-२ को श्री जनज्योति माध्यमिक विद्यालय, गाउँपालिका-१ को श्री अम्लिस माध्यमिक विद्यालय, गाउँपालिका-२ कै श्री फूलपाता माध्यमिक विद्यालय, गाउँपालिका-६ को श्री कीर्तिचौर माध्यमिक विद्यालय र गाउँपालिका-३ को श्री बालविकास माध्यमिक विद्यालय लाभान्वित भएका छन्।
शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार भएको र ग्रामीण तथा सहरी क्षेत्रबीच रहेको शैक्षिक अवसरको खाडललाई कम गर्न बैंकले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ।
बैंकद्वारा उपलब्ध गराइएको स्मार्ट टेलिभिजनका माध्यमबाट विद्यार्थीहरूलाई डिजिटल सामग्री र श्रव्य–दृश्य (Audio-Visual) माध्यमसँग जोडेर सहरी क्षेत्रका विद्यार्थी सरह नै गुणस्तरीय शिक्षाको समान अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।
“समुदायका लागि कुमारी बैंक” भन्ने मूल भावनाका साथ बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका विविध क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
शिक्षा क्षेत्रमा गरिएको यस लगानीले भविष्यका पुस्तालाई डिजिटल युग अनुकूलको ज्ञान र सीप हासिल गर्न प्रेरित गर्ने तथा स्थानीय स्तरमा शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बैंकले जनाएको छ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर फैलिएका २८६ शाखा, ४१ विस्तारित काउन्टर, ३०४ एटीएम र ४० शाखारहित बैंकिङ एकाइहरू मार्फत लाखौँ ग्राहकहरूलाई आधुनिक र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।
आगामी दिनहरूमा पनि समाजको दिगो विकासमा योगदान पुर्याउने यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।






डिसी नेपाल





Facebook Comment