कञ्चनपुर प्रहरीद्वारा अदालतको फैसला कार्यान्वयनमा तीव्रता: वैशाखयता ७१ जना फरार अभियुक्त पक्राउ
महेन्द्रनगर। कञ्चनपुर प्रहरीले अदालतको फैसला कार्यान्वयन प्रक्रियालाई निकै तीव्रता दिएको छ। विभिन्न मुद्दामा अदालतबाट कैद सजाय तथा जरिवाना तोकिएपछि कानुनको आँखा छलेर फरार रहँदै आएका अभियुक्तहरूलाई पक्राउ गर्न प्रहरीले जिल्लाभर विशेष सक्रियता बढाएको हो।
अपराध गरेर फरार रहेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रहरीले विशेष रणनीति अपनाएर खोजी अभियान चलाइरहेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार गत वैशाख महिनादेखि हालसम्मको छोटो अवधिमा मात्रै ७१ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा पेस गरिएको छ।
जिल्ला प्रहरी कार्यालयको आधिकारिक तथ्यांक अनुसार गत वैशाख महिनामा मात्रै सबैभन्दा बढी ३४ जना फरार अभियुक्त पक्राउ परेका थिए। त्यसैगरी जेठ महिनामा १४ जना र असार महिनाको हालसम्म २३ जना फरार अभियुक्तहरूलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ।
प्रवक्ता रावतले ज्यान मार्ने उद्योग, कर्तव्य ज्यानदेखि लिएर लागुऔषध जस्ता गम्भीर प्रकृतिका मुद्दाका फरार अभियुक्तहरूलाई पक्राउ गर्ने क्रम निरन्तर रूपमा अघि बढिरहेको जानकारी दिए।
अदालतबाट कैद सजाय तोकिएका ती अभियुक्तहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको आदेशानुसार कारागार चलान गर्ने गरिएको छ। फरार रहेका अपराधीहरूलाई प्रभावकारी रूपमा समात्नका लागि प्रहरीले जिल्लाका विभिन्न संवेदनशील क्षेत्रहरूमा विशेष रूपमा सादा पोसाकका प्रहरी (सदाचारी टोली) समेत परिचालन गरेको छ।
अदालत र जिल्ला प्रशासन कार्यालयबाट फरार सूचीमा रहेका अभियुक्तहरूको विस्तृत विवरण (लिष्ट) मागेर प्रहरी टोली गहन खोजी कार्यमा जुटेको प्रवक्ता रावतले बताए।
जुनसुकै अपराध गरेर फरार रहेपनि उनीहरूलाई ढिलोचाँडो कारबाहीको दायरामा ल्याउन र समाजमा शान्ति सुरक्षा अमनचयन कायम राख्न कञ्चनपुर प्रहरी सदैव सक्रिय र प्रतिबद्ध रहने उनको भनाइ थियो।






डिसी नेपाल





Facebook Comment