सुनको भाउ बुधबार तोलामा ८ सयले बढ्यो, चाँदी पनि महँगियो

डिसी नेपाल
३१ असार २०८३ ११:४३

काठमाडौं। नेपाली बजारमा गएका दुई दिनमा तीन-चार हजार रुपैयाँले ओरालो लागेको सुनको मूल्य बुधबार भने पुनः उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ तथा सोमबार तोलामा २ हजार ८ सय रुपैयाँ गरी दुई दिनमै ४ हजार रुपैयाँले घटेको थियो। जसका कारण हिजो मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा झरेको थियो भने त्यसअघि गएको आइतबार तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि बुधबार वृद्धि देखिएको छ। आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ पुगेको छ। यसअघि मंगलबार मूल्य घटेर चाँदी तोलाको ४ हजार ३ सय ६० रुपैयाँमा झरेको थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र आन्तरिक बजारको माग तथा विशेषगरी सरकारले बजेटमार्फत सुनचाँदीमा भन्सार महसुल बढाउने नीतिगत निर्णय गरेसँगै नेपाली बजारमा बहुमूल्य धातुको मूल्यमा ठूलो उतारचढाव आइरहेको व्यवसायीहरू बताउँछन्।

यसै वर्षको गएको माघ १५ गते सुनको भाउ एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली सुन बजारको इतिहासमै हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

सोही दिन चाँदीको मूल्य पनि ऐतिहासिक उचाइमा पुग्दै तोलाको ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको थियो। यद्यपि, त्यसको ठीक तीन दिनपछि अर्थात् माघ १८ गते चाँदीको मूल्यमा तोलामा १ हजार ५ सय ६५ रुपैयाँको कीर्तिमानी गिरावट आएको थियो, जुन चाँदीको मूल्यमा आएको हालसम्मकै सबैभन्दा उच्च गिरावट हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *