नेपाली क्रिएटरहरूको भुक्तानी सहज बनाउन ‘हाम्रो पे’ र ‘भिल’ बीच संस्थागत सहकार्य
काठमाडौं। हाम्रो पात्रोअन्तर्गत सञ्चालित लोकप्रिय डिजिटल वालेट ‘हाम्रो पे’ र ग्लोबल क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’ बीच औपचारिक रूपमा संस्थागत सहकार्य भएको छ।
हालै नेपाल र भारतमा आफ्नो सेवा विस्तार गरेको एआई-सञ्चालित प्लेटफर्म भिलले नेपालका कन्टेन्ट क्रिएटरहरूलाई भुक्तानी व्यवस्थापन चुस्त बनाउन हाम्रो पेलाई आधिकारिक पेमेन्ट पार्टनरका रूपमा चयन गरेको हो।
यस महत्त्वपूर्ण साझेदारीसँगै भिल प्लेटफर्ममा आबद्ध भएका नेपाली डिजिटल क्रिएटरहरूले विभिन्न ब्रान्डहरूसँग सहकार्य गरी आर्जन गरेको आफ्नो व्यावसायिक कमाइ सुरक्षित, छिटो र सरल रूपमा हाम्रो पेमार्फत सिधै प्राप्त गर्न सक्नेछन्।
यसले नेपाली क्रिएटरहरूले भुक्तानी लिने क्रममा भोग्दै आएका अनावश्यक झन्झट, लामा प्रक्रिया र प्राविधिक कठिनाइहरूलाई पूर्ण रूपमा अन्त्य गर्ने विश्वास लिइएको छ।
नेपालमा डिजिटल कन्टेन्ट निर्माण, ब्रान्ड सहकार्य र इन्फ्लुएन्सर मार्केटिङको क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको भए तापनि धेरै क्रिएटरहरूका लागि समयमै र सुरक्षित रूपमा भुक्तानी पाउनु अझै पनि चुनौतीपूर्ण रहँदै आएको छ। हाम्रो पे र भिलबीचको यो सहकार्यले क्रिएटरहरूको सोही समस्यालाई सम्बोधन गर्दै उनीहरूको काम र आम्दानीलाई थप व्यवस्थित बनाउने उद्देश्य राखेको छ।
यस सहकार्यका विषयमा बोल्दै हाम्रो पात्रोकी अपरेसन्स डाइरेक्टर सुदिना गौतमले नेपालमा तीव्र रूपमा फैलिरहेको क्रिएटर इकोनोमीमा आबद्ध सिर्जनशील युवाहरूलाई सहज डिजिटल वित्तीय सेवा दिनु आफूहरूको प्राथमिकता रहेको बताइन्।
उनले भिलसँगको यो सहकार्यले क्रिएटरहरूको कमाइ प्राप्त गर्ने प्रक्रियालाई सरल मात्र बनाउने नभई नेपालको डिजिटल व्यवसायलाई थप व्यवस्थित, समावेशी र पहुँचयोग्य बनाउन ठूलो मद्दत पुर्याउने उल्लेख गरिन्।
डिजिटल वालेटको रूपमा रकम स्थानान्तरण, मोबाइल रिचार्ज, बिल भुक्तानी जस्ता विभिन्न सरल र सुरक्षित वित्तीय सेवा दिँदै आएको हाम्रो पेले यो सहकार्यमार्फत डिजिटल समुदायलाई वित्तीय सञ्जालमा अझ बलियो गरी जोड्ने लक्ष्य लिएको छ।
अर्कोतर्फ, एआई प्रविधिमार्फत क्रिएटर खोजी, क्याम्पेन व्यवस्थापन, कन्टेन्ट वर्कफ्लो र एनालिटिक्स जस्ता सुविधाहरू एउटै प्लेटफर्ममा दिँदै आएको भिलमा हालसम्म विश्वका १२० भन्दा बढी देशका ४५० भन्दा धेरै ब्रान्ड र ५ लाख ५० हजारभन्दा बढी प्रमाणित क्रिएटरहरू आबद्ध भइसकेका छन्।






डिसी नेपाल





Facebook Comment