महालक्ष्मी विकास बैंकद्वारा विभिन्न विद्यालय र शक्तिपीठमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम

डिसी नेपाल
१ साउन २०८३ १२:५७

काठमाडौं। “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा सामाजिक तथा शैक्षिक कार्यक्रमहरू सम्पन्न गरेको छ।

बैंकको नीति अनुरूप वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र पूर्वाधार विकास जस्ता क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले यी परोपकारी कार्यहरू गरिएका हुन्।

यस वर्षको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले विभिन्न रोटरी क्लबहरूसँग सहकार्य गरी मेचीनगर-७ झापाको श्री पृथ्वी माध्यमिक विद्यालय, बरेङ गाउँपालिका-४ बागलुङको श्री सल्यान सुखाउरा माध्यमिक विद्यालय, हेटौँडा मकवानपुरको श्री वंशगोपाल आधारभूत विद्यालय र गैँडाकोट-१ चितवनको श्री नवदुर्गा आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूलाई सुरक्षित र सहज शौचालय सुविधा प्रदान गर्न आधुनिक शौचालय निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।

यसैगरी, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ रामनगरस्थित श्री कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत ८० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई अध्ययनमा सहजता होस् भन्ने उद्देश्यले बैंकको बेलौरी शाखा कार्यालयमार्फत विद्यालय झोलाहरू वितरण गरिएको छ।

शैक्षिक क्षेत्रकै सहयोग अन्तर्गत बैंकको सिमरा शाखाले बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२ मा रहेको सिमरा कलेजको पठनपाठनलाई थप प्रविधिमैत्री बनाउन १ थान ल्यापटप सहयोग गरेको छ, जसले आर्थिक स्रोतको अभावमा कोही पनि गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्य राखेको छ।

त्यस्तै, बझाङको केदारस्युँ-४ बागथलामा रहेको शिक्षोदय माध्यमिक विद्यालयको किशोरकिशोरी मैत्री सूचना केन्द्रका लागि थर्मोमिटर, बीपी सेट, प्राथमिक उपचार बक्स र स्ट्रेचर जस्ता विभिन्न स्वास्थ्य तथा खेलकुद सामग्रीहरू खरिद गर्न बैंकको बझाङ शाखामार्फत आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

सामाजिक तथा धार्मिक क्षेत्रतर्फ, पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका-४ मा अवस्थित नेपालकै प्रसिद्ध शक्तिपीठ श्री भैरवनाथ मन्दिर परिसरमा फोहोरको प्रभावकारी व्यवस्थापनका लागि १० थान डस्टबिन हस्तान्तरण गरिएको छ।

यसका साथै, मकवानपुरको भीमफेदी-१ सानुटारस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा ‘स्वच्छ पानी स्वस्थ जीवनको आधार’ भन्ने मूल मर्मका साथ आर.ओ.  प्रणालीसहितको खानेपानी संरचना निर्माण गर्न हेटौँडा शाखामार्फत आर्थिक सहयोग गरिएको छ भने रौतहटको चपुर-१० स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई एक थान सेतो डिजिटल बोर्ड समेत प्रदान गरिएको छ।

ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ अनुभव प्रदान गर्ने क्रममा बैंकले हालै मात्र काठमाडौँ महानगरपालिका वडा नं. ३० ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *