३७ वर्षकी महिलाले आफूलाई १२ वर्षकी असहाय बालिका दाबी गर्दै ठगी
काठमाडौँ । एक बालिकाले आफू केवल १२ वर्षकी भएको, घरेलु उत्पीडन र हिंसाबाट उम्किएर भागेको र यो संसारमा आफ्नो कोही नभएको भन्दै रोइकराई गरेपछि ब्राजिलका मानिसहरूले मानवीयता प्रदर्शन गर्दै आफ्ना घरका ढोकाहरू खोले।
तर, ब्राजिलका अनुसन्धान अधिकारीहरूले ती ‘ग्याब्रिएल’ नामक बालिकाको पछाडिको एउटा बिल्कुलै फरक र भयानक यथार्थ उजागर गरेका छन्। अधिकारीहरूका अनुसार उनी वास्तवमा १२ वर्षकी अबोध बालिका नभएर ३७ वर्षकी वयस्क महिला हुन्, जो आफूलाई असहाय र मस्तिष्क पक्षघात (अटिजम) पीडित बालिकाका रूपमा प्रस्तुत गरी मानिसहरूलाई ठगी गरिरहेकी थिइन्।
प्रहरीले गत जुन ३ मा ती महिलालाई पक्राउ गरिएको जानकारी दिएको छ। अदालतको दस्तावेज अनुसार उनको वास्तविक पहिचान अमान्डा मारिया सुजा डी ओलिवेराका रूपमा गरिएको छ। उनीमाथि पहिचान चोरी, किर्ते जालसाजी र ठगीको अभियोग दर्ता गरिएको छ।
अनुसन्धान अधिकारीहरूका अनुसार ओलिवेराले १४ महिनासम्म एउटा परिवारलाई पूर्ण रूपमा भ्रममा राख्दै उनीहरूकै घरमा शरण लिएकी थिइन्। यो घटना सार्वजनिक भएपछि ब्राजिलभर यसले ठूलो तरंग पैदा गरेको छ। प्रहरीका अनुसार साओ पाउलो, रियो डी जनेरियो, मिनास जेराइस, रियो ग्रान्डे दो सुल र गोयास जस्ता धेरै राज्यहरूमा उनले यसैगरी मानिसहरूलाई ठगी गरेको आशंका गरिएको छ।
प्रहरीले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ:’आफ्नो भूमिकालाई विश्वसनीय बनाउनका लागि ती संदिग्ध महिलाले नियमित रूपमा दूध खाने बोतल, बालबालिकाका खेलौनाहरू प्रयोग गर्ने र बालबालिका जस्तै जिद्दी र हर्कतहरू गर्ने गर्दथिन्। आफ्नो वयस्क देखिने अनुहारका बारेमा मानिसहरूले प्रश्न उठाउँदा उनले बाल्यकालमा आफूलाई जबरजस्ती हर्मोन दिइएका कारण शारीरिक बनावट यस्तो भएको भन्दै ढाँट्ने गरेकी थिइन्।’
अनुसन्धान अधिकारी रोड्रिगो गुसोले बीबीसी न्यूज ब्राजिललाई दिएको जानकारी अनुसार, उनलाई आश्रय दिने परिवारका एक आफन्तलाई शंका लागेपछि इन्टरनेटमा खोजी गर्दा यस्तै प्रकृतिको अर्को घटना फेला परेको थियो।
त्यसपछि अन्य राज्यका प्रहरीसँग सूचना आदानप्रदान गर्दा दुवै घटनामा एउटै महिला संलग्न रहेको पुष्टि भयो र उनलाई नियन्त्रणमा लिइयो। पक्राउ पर्ने समयमा उनले आफ्नो अपराध स्वीकार गरेकी थिइन्। ओलिवेराका वकिल राफेल लुइस सिभर्टले उनको मानसिक अवस्थाको परीक्षण गर्न अदालतसँग माग गरेका छन्, जसलाई अदालतले अनुमति दिएको छ।
रियो डी जनेरियोमा उत्पीडनमा परेका र अटिजम भएका बालबालिकाहरूको सहयोगका लागि सामाजिक संस्था चलाउने दुई महिलाहरूले बीबीसीलाई दिएको जानकारी अनुसार सन् २०२३ मा पनि सोही महिलाले फरक नाम प्रयोग गरेर उनीहरूलाई ठगेकी थिइन्।
‘माओज क्यू अबेनओम कम आमोर’ नामक च्यारिटी संस्था चलाउने विभियन हेनरिक्सले ओलिवेरासँग पहिलो पटक सामाजिक सञ्जालमार्फत कुराकानी भएको र त्यतिबेला उनले आफ्नो नाम ‘डुडा’ बताएको खुलाइन्।
ओलिवेराले आफ्नै बुबाले आफूलाई जबरजस्ती देहव्यापारमा धकेलेको र हर्मोनको सुई दिएका कारण शरीर वयस्क जस्तो देखिएको बताएकी थिइन्। यो हृदयविदारक कथा सुनेर भावुक बनेकी हेनरिक्स र उनकी सहयोगी रेनाता म्यागलहाइसले उनको हेरचाहका लागि एउटा फ्ल्याट भाडामा लिएर राखेका थिए।
सहयोगी म्यागलहाइसका अनुसार ओलिवेराले आफूलाई बाल संरक्षण परिषद् (चाइल्ड प्रोटेक्सन काउन्सिल) मा नलैजान बारम्बार अनुरोध गर्थिन्। उनको कथालाई साँचो सावित गर्ने केही भयानक शारीरिक प्रमाणहरू समेत देखिएका थिए।
उनीहरूले ओलिवेरालाई स्वास्थ्य परीक्षणका लागि एक्स-रे गराउन लैजाँदा उनको शरीरभित्र २०० भन्दा बढी स-साना सुईहरू फसेको देखिएको थियो। ओलिवेराले आफ्ना पिताले तन्त्रमन्त्र र जादुटुनाको अनुष्ठानका क्रममा ती सुईहरू शरीरमा घोपेको दाबी गरेकी थिइन्, जसले गर्दा सहयोगीहरू झनै भावुक बनेका थिए।
तर, समय बित्दै जाँदा उनको व्यवहारमा विरोधाभास देखिन थाल्यो। उनले सहयोगीहरूमाथि अत्यधिक मानसिक दबाब दिने, आफूलाई एक्लो छोडेमा आत्महत्या गर्ने धम्की दिने र आर्थिक शोषण गर्न थालेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।
अनुसन्धानको नेतृत्व गरिरहेकी रियोकी प्रहरी अधिकारी मोनिका एरियालले ओलिवेराको मोबाइल फोन कब्जा गरेपछि उनको इन्टरनेट सर्च हिस्ट्रीमा ‘अटिजम भएका मानिसहरूले कस्तो व्यवहार गर्छन्?’ र ‘उत्पीडनमा परेका व्यक्तिहरू जस्तै कसरी देखिने?’ भन्ने जस्ता कुराहरू निरन्तर खोजिएको फेला पारेकी थिइन्।
अदालतले यसअघि उनलाई धरौटीमा छाडेपछि उनी फरार भएकी थिइन्, किनभने ब्राजिलको कानुनमा हिंसा वा गम्भीर धम्की नभएका ठगीका मुद्दामा अभियुक्तलाई लामो समय थुनामा राख्न गाह्रो हुने प्रावधान छ।
पीडित म्यागलहाइसले आफ्नो आर्थिक र मानसिक अवस्था बर्बाद भएकोमा दुःख व्यक्त गर्दै ओलिवेरालाई जेल सजाय मात्र नभई कडा मनोवैज्ञानिक उपचारको समेत आवश्यकता रहेको बताएकी छन्। यति ठूलो धोका पाए तापनि सामाजिक अभियन्ता हेनरिक्सले भने असहाय बालबालिकाहरूको सेवा गर्ने आफ्नो अभियान कहिल्यै नरोक्ने दृढता व्यक्त गरेकी छन्।






डिसी नेपाल





Facebook Comment