जलन उपचार प्रणाली सुदृढ बनाउँदै सरकार: स्वास्थ्यकर्मीलाई विशेष तालिम र देशैभर एकीकृत मापदण्ड लागू गरिने

डिसी नेपाल
१ साउन २०८३ १३:२१

काठमाडौं। नेपालमा जलन (बर्न) उपचार सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सर्वसुलभ बनाउन सरकारले विशेष तयारी सुरु गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा जलन उपचारको वर्तमान अवस्था, यस क्षेत्रका चुनौती र आगामी सुधारका प्राथमिकताबारे विज्ञ तथा अभियान्ताहरूसँग मन्त्रालयमा विस्तृत छलफल गरेकी छन्।

बिहीबार भएको उक्त शिष्टाचार भेटघाट तथा छलफलमा नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर कीर्तिपुरका वरिष्ठ चिकित्सकहरू डा. किरण नकर्मी, डा. शंकरमान राई तथा जलन अभियान्ता उज्जल थापाको सहभागिता रहेको थियो।

छलफलमा जलनका बिरामीले दुर्घटना हुनासाथ पहिलो क्षणमै सही र प्रभावकारी उपचार पाउनुपर्ने आवश्यकतालाई मुख्य प्राथमिकताका साथ औंल्याइएको छ।

जलन व्यवस्थापनलाई तल्लो तहदेखि नै सुदृढ बनाउन स्थानीय स्वास्थ्य संस्था, एम्बुलेन्स सेवा, जिल्ला अस्पतालदेखि प्रदेश र संघीय अस्पतालसम्म कार्यरत स्वास्थ्यकर्मीहरूका लागि विशेष तालिम सञ्चालन गरिने भएको छ।

यसका साथै प्राथमिक उपचार सम्बन्धी आवश्यक ज्ञान र सीप सबै तहका स्वास्थ्यकर्मीहरूमा विस्तार गर्ने विषयमा मन्त्रालयले जोड दिएको छ।

देशैभरिका जलनका बिरामीको उपचारलाई एकरूपता दिन, गुणस्तरीय र वैज्ञानिक बनाउनका लागि एकीकृत मापदण्ड अर्थात् ‘स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल’ तयार गरी सबै तहका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा कार्यान्वयन गर्ने विषयमा समेत गहन विचार आदानप्रदान भएको छ।

मन्त्रालयका अनुसार जलन उपचारलाई स्थानीय, प्रदेश र संघीय गरी तीनै तहमा चरणबद्ध रूपमा व्यवस्थित गरिनेछ, जसले गर्दा जटिल बिरामीहरूको समयमै र सुरक्षित रेफरल सुनिश्चित हुन सकोस्।

मन्त्री मेहताले जलन उपचारलाई स्वास्थ्य सेवाको महत्त्वपूर्ण प्राथमिकताका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै यस क्षेत्रमा कार्यरत विशेषज्ञ संस्थाहरूको अनुभवलाई राष्ट्रिय स्तरमा उपयोग गरिने बताइन्।

भेटका क्रममा जलन रोकथामसम्बन्धी जनचेतना जगाउने, उपचारको पहुँच बढाउने, आवश्यक नीतिगत सुधार गर्ने तथा नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर कीर्तिपुरको प्राविधिक अनुभवलाई देशैभरि विस्तार गर्ने विषयमा समेत मन्त्रालय र विज्ञहरूबीच महत्वपूर्ण सहमति बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *