भोटेकोशी बाढी प्रभावितका लागि पशुपति फाउन्डेसन अमेरिकाद्वारा डेढ करोड सहयोग

डिसी नेपाल
१० कार्तिक २०८३ २०:१०

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि संयुक्त राज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय पशुपतिनाथ फाउन्डेसन लस एन्जलसको पहलमा डेढ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग सङ्कलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइएको छ।

फाउन्डेसनका अध्यक्ष विमल श्रेष्ठका अनुसार अमेरिकामा रहेका नेपाली समुदायको सक्रिय सहभागितामा ९९ हजार ६४ अमेरिकी डलर सङ्कलन गरिएको थियो। सो रकमबाट बैंक शुल्क कटाएर बाँकी रहेको ९७ हजार ८७५ अमेरिकी डलर प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको उनले जानकारी दिएका छन्।

नेपाली राजदूतावास वासिङ्टन डीसीका अधिकारीहरूको समेत सहभागितामा भर्चुअल माध्यम (जुम)मार्फत आयोजित एक कार्यक्रममा फाउन्डेसनका पदाधिकारी र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरणको घोषणा गरिएको हो।

प्रवासमा रहेर पनि मातृभूमिमा आइपरेको विपद्लाई आफ्नै पीडा सम्झेर सहयोग गर्नु नेपालीहरूको अनुपम देशप्रेम, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको ज्वलन्त उदाहरण भएको फाउन्डेसनले जनाएको छ। यसअघि पनि फाउन्डेसनले नेपालमा गएको भूकम्पलगायत विभिन्न विपद्का बेला राहत तथा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएको थियो।

विश्वभर नेपाली संस्कृति, सम्पदा तथा भाषाको संरक्षण गर्दै पशुपतिनाथ र बुद्ध भूमि नेपालको पहिचान प्रवर्द्धन गर्ने मुख्य लक्ष्य बोकेको यस फाउन्डेसनले हाल क्यालिफोर्नियामा मन्दिर, बुद्ध स्तूप र एकीकृत सांस्कृतिक केन्द्र निर्माणको कार्यलाई समेत अघि बढाइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *