श्रीलंकासँग पाकिस्तान ८ विकेटले पराजित, सिरिजको फाइनलमा दुवै देश खेल्ने

डिसी नेपाल
१० कार्तिक २०८३ १९:५३

काठमाडौं। दिल्सान मदुशंकाको उत्कृष्ट बलिङ र कामिन्दु मेन्डिसको अविजित अर्धशतकको मद्दतमा श्रीलंकाले पाकिस्तानलाई आठ विकेटले पराजित गरेको छ। लाहोरमा भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई ११० रनमै समेट्दै १८.१ ओभरमा लक्ष्य पूरा गरेको हो।

श्रीलंकाका मदुशंकाले ३४ रन खर्चेर पाँच विकेट लिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो करियरकै उत्कृष्ट बलिङ प्रदर्शन हो। साहान आराचिगेले दुई विकेट लिँदा असिथा फर्नान्डो, इशान मलिंगा र दुनिथ वेलालागेले एक–एक विकेट लिए।

पाकिस्तानका बाबर आजमले सर्वाधिक २९ रन बनाए। तर अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा घरेलु टोली सामान्य योगफलमै समेटियो। पाकिस्तानको घरेलु मैदानमा बनेको यो दोस्रो न्यून एकदिवसीय योगफल हो।

लक्ष्य पछ्याउने क्रममा कामिन्दु मेन्डिसले ६० बलमा अविजित ६२ रन बनाए। पवन रथनायकेले अविजित २३ रन जोड्दै श्रीलंकालाई जित दिलाए। यस जितसँगै श्रीलंकाले पाकिस्तानविरुद्ध लगातार पाँच खेलको हारको शृङ्खला पनि अन्त्य गरेको छ।

यो नतिजासँगै श्रीलंका र पाकिस्तानबीच फाइनलमा प्रतिस्पर्धा हुने निश्चित भएको छ। इंग्ल्यान्ड भने फाइनल दौडबाट बाहिरिएको छ। बिहीबार श्रीलंका र इंग्ल्यान्डबीच हुने खेलले फाइनलको समीकरणमा प्रभाव पार्ने छैन।

फाइनल खेल आगामी शनिबार लाहोरमा हुने तालिका रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *