धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

डिसी नेपाल
२४ साउन २०८३ २०:११

रसुवा । ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने अनियमितता रोक्नका लागि रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित धुन्चे बजारमा बजार अनुगमन गरिएको छ। जिल्ला बजार अनुगमन समितिद्वारा शनिबार साँझ आकस्मिक रूपमा बजारको विशेष अनुगमन गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका जिल्ला बजार अनुगमन समितिका संयोजक द्रुवप्रसाद अधिकारीका अनुसार धुन्चे बजारमा ग्यासको अभाव देखाएर लुकाइछिपाइ राखेका छन् भन्ने स्थानीयको गुनासोका आधारमा गोसाइँकुण्ड–६ धुन्चे बजारमा समितिको नेतृत्वमा नेपाल प्रहरी तथा स्थानीय प्रशासनको सक्रिय सहभागितामा अनुगमन गरिएको हो।

बजारमा खाना पकाउने एलपी ग्यासको उपलब्धता असहज बनाई अभाव देखाएर बढी मूल्यमा ग्यास बिक्री गर्नेलाई रोकेर उपभोक्तालाई ठगीबाट जोगाउन र व्यापारीलाई व्यावसायिक आचारसंहिता पालना गर्न सचेत गराइएको समितिका संयोजक अधिकारीले जानकारी दिए। शनिबारको बिदाका दिन उपभोक्ताको हितलाई ध्यानमा राख्दै अनुगमन टोलीले बजारका विभिन्न ग्यास डिपो तथा किराना पसलको निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा ग्यास सिलिन्डरको मौज्दात, मूल्य र बिक्री वितरणको अवस्थाबारे जानकारी लिइएको थियो। यस किसिमको अनुगमनले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिने र बजार अनुशासन कायम राख्न मद्दत पुग्ने विश्वास गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *