झापामा जापानिज इन्सेफ्लाइटिसको प्रकोप: चार महिनामा नौ जनामा संक्रमण, पाँचको मृत्यु

डिसी नेपाल
२८ साउन २०८३ १३:१५

भद्रपुर (झापा)। झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमणबाट पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ।

जिल्लामा हालसम्म नौ जनामा जेई संक्रमण पुष्टि भएकोमा तीन पुरुष र दुई महिला गरी पाँच जनाको ज्यान गएको हो।

स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगरका तीन, बिर्तामोडका दुई तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधाराका एक-एक जनामा यो संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार संक्रमित हुनेहरूमा अधिकांश ५० वर्षभन्दा माथिल्लो उमेर समूहका रहेका छन्।

जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एउटा घातक भाइरसजन्य रोग हो। यसको सङ्क्रमण भएपछि भाइरसले सोझै मानिसको मस्तिष्कमा गम्भीर असर पुर्‍याउँछ।

सुँगुर र हाँसलाई जेई भाइरसका मुख्य स्रोतका रूपमा लिइन्छ। त्यसैले सुँगुर पालन व्यवसायमा संलग्न व्यक्तिहरूका साथै धानखेत र पानी जम्ने घोल तथा दलदल क्षेत्र वरपर बसोबास गर्ने समुदाय यस रोगको उच्च जोखिममा रहने गर्छन्।

स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जेईको जोखिमबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने र सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा अनिवार्य रूपमा सहभागी भई जेईविरुद्धको खोप लगाउन आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *