रास्वपामा बढ्यो असमझदारी, मन्त्री र सांसदलाई आज रविको निर्देशन

डिसी नेपाल
३ भदौ २०८३ ८:१८

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच नै असमझदारी देखिन थालेपछि रास्वपाले मन्त्री र सांसदहरूलाई सहभागी गराएर बुधबार अन्तर्क्रिया गर्ने भएको छ ।

बुधबार बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने अन्तर्क्रियामा पार्टी सभापति रवि लामिछानेले मन्त्री तथा सांसदहरूलाई निर्देशन दिने कार्यक्रम रहेको छ ।

अन्तर्क्रियामा पछिल्लो समय सरकार र पार्टीका सांसदहरूबीच बढ्दै गएको असमझदारी, संसद्मा सांसदहरूको प्रस्तुतिसहित समग्र गतिविधिको समीक्षा गरिने एक नेताले बताएका छन् । संसदीय अनुशासनको विषयमा प्रश्न उठेका सांसदहरूलाई सचेत गराउने तयारीसमेत रहेको ती नेताले जानकारी दिए ।

रास्वपाभित्र सांसदहरूले संसद्मा बोल्दा प्रयोग गर्ने भाषा, सार्वजनिक कार्यक्रममा प्रस्तुत हुने शैली र गतिविधि मर्यादित हुनुपर्ने विषयमा नेतृत्वले चासो देखाएको छ । पछिल्लो समय केही सांसदहरूले पार्टी तथा सरकारको अपेक्षाअनुसार संसदीय मर्यादा कायम नगरेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको बताइएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि सरकार र पार्टीका सांसदबीचको असमझदारी सतहमा आएको थियो । परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेपछि रास्वपाकी सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन् ।

तर सभामुख डीपी अर्यालले उनलाई संसदीय मर्यादा र सभाको गरिमाको ख्याल गर्न सचेत गराउँदै बोल्न समय दिएनन् । सभामुखले बोल्ने अनुमति नदिएपछि सांसद तामाङ बैठकबाट बाहिरिएकी थिइन् ।

यही घटनासहित पछिल्लो समय संसद्मा देखिएका गतिविधिका विषयमा रास्वपाले आन्तरिक समीक्षा गर्न लागेको हो । बुधबारको अन्तर्क्रियाबाट मन्त्री र सांसदबीच समन्वय बढाउने तथा संसद्मा पार्टीका सांसदहरूको भूमिका र प्रस्तुतिलाई थप व्यवस्थित बनाउने विषयमा नेतृत्वले निर्देशन दिने तयारी गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *