हिमताल विष्फोट र यसबाट हुने विशाल क्षति भाग १ : हालैको भोटेकोशीको भयानक बाढी

डिसी नेपाल
१३ भदौ २०८३ ७:५५

प्रत्येक वर्षको वर्षात्को समयमा नेपालमा बाढी पहिरोको कारण ठूलो धनजनको क्षति हुने गरेको कुरा हामीले साना छँदादेखि देखेभोगेका हौँ । तर केही वर्ष अघिदेखि भने बाढी पहिरोले निकै उग्र रूप लिन थालेको र यसबाट निकै नै ठूलो धनजनको क्षति हुने गरेको छ । गत भदौ १० गते बिहान अकस्मात चीनको केरुङभन्दा २० किलोमिटर माथि रहेको हिमालको एक विशाल हिमचट्टान त्यहाँ रहेको हिमतालमा खसेर हिमताल फुट्न गए पछि त्यहाँबाट निस्केको अकल्पनीय बाढीले केरुङको नेपाल–चीन सिमानाको भन्सार क्षेत्रदेखि रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, चितवन र नवलपरासी जिल्लासम्मका धेरै बस्ती, सडक, पुल र संरचनालाई बगाउँदै र डुबाउँदै ठूलो क्षति गर्न पुग्यो । बिहानको नित्यकर्ममा व्यस्त स्थानीय बासिन्दालाई यो प्रकारको प्राकृतिक प्रकोपले एकैछिनमा उनिहरू मध्ये धेरैको ज्यान लिँदैछ र धेरैको घरबार बगाएर लग्दै छ भन्ने रत्तिभर शंका पनि उब्जिन नदिई ठूलो विपत्ति पर्न पुग्यो ।

नेपाली बजारमा बेच्नको निम्ति आयात भएर रसुवा–केरुङ नाकामा राखिएका सयौँ चिनियाँ विद्युतीय सवारी साधन, व्यापारिक प्रयोजनको निम्ति दुवै मुलुकमा जान ठीक परेका विभिन्न सामानका कन्टेनरहरू, त्यहाँको भन्सारमा कार्यरत नेपाली तथा चिनियाँ कर्मचारीहरू, मानसरोवरको भ्रमणमा जान सो नाकामा पुगेका र फर्केका पर्यटकहरू, सरकारी र स्थानीय व्यक्तिहरू तथा सम्पूर्ण पुर्वाधारहरू अकस्मात आएको सुनामी रूपी बाढीले बगाएर एकैछिनमा सोत्तर पारेर दक्षिणतर्पm भोटेकोशी हुँदै तल्लो भूभागमा लिएर गयो । सद्गुरुको ८० जनाको अन्तर्राष्ट्रिय सदस्य टोली पनि त्यति नै बेला मानसरोवरबाट फर्किएर सो भन्सार नाकामा आइपुगेको थियो । सुन्नमा आए अनुसार त्यो अप्रत्याशित बाढी नदीको सतहबाट १६० फीट माथिसम्मबाट बगेको थियो रे ।

सो माटोको लेदो जस्तो बाढीले केरुङ, स्याफ्रुबेसी, नौमुरे, टिमुरे, बेत्रावती, त्रिशुली, बट्टार, देवीघाट तथा नदीको बहाव मार्गमा पर्ने पृथ्वी राजमार्गका धार्के, धादिङ जाने पुल, मलेखु र मुग्लिङ तथा नारायणी नदीका किनारासम्म नै नराम्रो सँग क्षति पु¥याउन पुग्यो । भदौ १० गतेको यो प्रकोपमा परेर सयौँ मानिसले ज्यान गुमाउनु प¥यो भने हजारौँ मानिसहरू अझसम्म पनि बेपत्ता छन् र ठूलो संख्यामा मानिसहरू घरबार विहिन भएका छन् ।

सो बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनमा पर्ने सडक पुर्वाधारमा ठूलो क्षति पु¥याएको छ । त्रिशुलीको ऐतिहासिक फलामे पुलदेखि धादिङ जाने मलेखुको पुल तथा अन्य धेरै पुलहरू बगाएर लगेको छ भने मुग्लिङबाट पोखरा जाने पुलको जगमा पनि केही नोक्सानी गरेको शंका गरिएको छ ।

भोटेकोशी नदी नेपालमा जलविद्युत उत्पादन गर्ने प्रमुख नदीहरू मध्येको हो । यसपाली विध्वङ्शकारी बाढीले सो नदीमा बनेका झण्डै १२ वटा विद्युत आयोजनाहरूलाई ध्वस्त बनाउनुका साथै त्यहाँ कार्यरत करिव २०० कर्मचारीलाई बेपत्ता पारिदिएको छ भने त्यहाँबाट उत्पादन भइरहेको झण्डै साँढे ४ सय मेगावाट विद्युत पनि अब केही समयको निम्ति गुमेको छ ।
प्राप्त समाचार अनुसार जनै पुर्णिमाको दिन गोसाइँकुण्डमा नुहाएर दर्शन गर्न जाने कतिपय भक्तजन पनि सो प्रकोपको शिकार बन्न पुगे वा बचेकाहरू अलपत्र परेका छन् रे । त्यस्तै स्वदेशी र विदेशी पर्यटकको पनि त्यस्तै हाल भएको छ रे । प्राप्त समाचार अनुसार करिव ४५० जना पर्यटकहरूको अवस्था यकिन हुन सकेको छैन भने झण्डै डेढ सय जना सुरक्षाकर्मी र दुई दर्जन बैंक कर्मचारीहरू बेपत्ता भएका छन् ।

यो यस्तो असहज परिस्थिति हो कि राज्यले पनि यस्तो अवस्थामा सहज रूपले काम गर्न सक्दैन । एकातिर स्थानीय जनताहरूको बिजोग भइरहेको छ भने अर्को तर्पm हजारौँ यात्रीहरू बेपत्ता वा अलपत्र परिरहेका छन् । रसुवा र नुवाकोटमा बगेका मानिसका शव र घर तथा घरका सामान छर्पस्ट भएर नारायणीको किनारसम्म भेटिएका छन् ।

यस्तो अवस्थामा राज्यको संयन्त्र वाहेक विभिन्न गैरसरकारी र स्वयम्सेवी संस्थाहरू पनि एक भएर दैवीप्रकोपको सामना गर्न अघि सर्नु पर्दछ । नेपालमा सरकारी सुरक्षा अङ्गहरू जस्तै सेना, सशस्त्र र जनपद प्रहरी यस्तो विपद्को बेलामा नभइ नहुने परोपकारी संस्था बन्न पुगेका छन् । यी सुरक्षा निकायहरूले हरेक विपद्को बेलामा आफ्नो ज्यानको बाजी लगाएर जनता र उनका सम्पति तथा मुलुकको पुर्वाधारलाई जोगाउन तथा भत्केका संरचनालाई मर्मत गरेर अल्पकालीन सहजता ल्याउनमा ठूलो योगदान गरिरहेका छन् ।

यसपालीको यो विपद्को बेलामा भेटिएका घाइते मानिसहरूलाई उद्धार गरेर सेनाको हेलिकप्टरले राजधानीसम्म पनि ओसार्ने काम गरेको थियो । कतिपय मानिसहरूलाई बाटो खन्ने बुलडोजरमा राखेर पनि उद्धार गरिएको दृश्य देखिएको थियो भने हिलाम्य भएर सुरक्षा टोली र स्वयम्सेवकहरूले कतिपयलाई उद्धार गरेको देख्दा नरसाउने आँखा बिरलै थिए होलान् । जलविद्युत आयोजनाका निर्माणाधीन सुरुङभित्र पसेर पनि मजदूर तथा इन्जिनियरहरूको उद्धार गरिएको थियो ।

विश्वका विभिन्न स्थानमा बेला बेलामा हुने गरेका विपद्का बेलामा जस्तै हाल नेपालमा भएको यो विपद्को समाचारको रिपोर्टिङ विश्वभरका लोकप्रिय टेलिभिजन च्यानल, रेडियो र विद्युतीय सञ्चार सञ्जालले गरिरहेका छन् । एक अति नै सून्दर र सत्कारशील जनता रहेको मुलुक भनेर विश्वमा चिनिने नेपालमा यसरी परिआएको यो विपद्मा पुरै विश्व चिन्तित हुन पुगेको छ । तर केही भारतीय निजी टेलिभिजन च्यानलले यो विपद् निम्त्याउनमा चीन र सो क्षेत्रमा बन्दै गरेका जलविद्युतका आयोजना जिम्मेवार भएका भनेर भट्याउनु र एकजना नेपालका उपप्रधानमन्त्री भइसकेका नेताले पनि सो च्यानलमा त्यस्तै अभिव्यक्ति दिएको सुन्नेहरू तिनको चेतना र संस्कारको स्तर देखेर अचम्मित भएका छन् ।

नेपालमा प्राकृतिक प्रकोपले विध्वङ्श मच्चाउँदा धेरै मुलुकहरूले विभिन्न प्रकारले सहयोग गर्ने गरेका छन् । छिमेकी राष्ट्र भारत र चीनका सरकार प्रमुखहरूले दुःख व्यक्त गर्नुका साथै विभिन्न प्रकारका सहयोग प्रदान गर्न शुरु गरिसकेका छन् भने अन्य मुलुक र अन्तर्राष्ट्रिय संस्थाले राहतका सामग्री पठाउने वचनवद्धता पनि जाहेर गरिसकेका छन् । अमेरिकी राष्ट्रपतिले समेत एक सार्वजनिक अन्तर्वार्तामा नेपाल अमेरिकाको अति नै राम्रो मित्र भएको र नेपालमा भएको यस्तो विपद्मा जस्तो सहयोग गर्न पनि आफु तयार रहेको कुरा बताएका थिए । यस्तो बेलामा उनीहरूले सदाशयता देखाउनु निकै सह्राहनीय कुरा हो तर दीर्घकालको निम्ति भने नेपालले खासगरी हाम्रा छिमेकी मुलुकहरूसँग उनीहरूको लामो अनुभवको आधारमा प्राविधिक सहयोग मागेर भए पनि हाम्रो सुरक्षा संयन्त्रभित्रै एउटा वृहत् र प्रभावकारी विपद् व्यवस्थापन इकाइको स्थापना गर्नु पर्ने समय आइसक्यो ।

नेपालमा ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ नामको उच्च सरकारी निकाय भएको भए पनि त्यसमा विभिन्न सरोकारवाला संस्थाहरूको प्रतिनिधित्व गराएर त्यसलाई एक सक्रिय संस्थामा रुपान्तरण गर्न सक्नु पर्दछ । त्यस्तो इकाइमा सुरक्षा निकायका साथै सबै दलका र गैरसरकारी सैस्थाका यथेष्ट प्रतिनिधि कार्यकर्ता र स्वयम्सेवकहरूलाई पनि सम्मिलित गराई नियमित रूपमा विपद् व्यावस्थापनको तालिम र ड्रिल गराइरहनु पर्दछ । साथै विपद् व्यवस्थापनको निम्ति आवश्यक आधारभुत मेसिनरी, सामग्री, हेलिकप्टर आदिको पनि जोहो गर्नु जरुरी छ ।

दुःखको कुरा के छ भने, नेपालका विभिन्न राजनीतिक दलका कार्यकर्ताको संख्या ५० लाखको हाराहारीमा छ । तर ती अधिकांश कार्यकर्तालाई दलहरूले यस्ता दैवीप्रकोप तथा उद्धार कार्यमा खटाउनुको सट्टा, हडताल र तोडफोडमा मात्र उपयोग गर्ने गरेका देखिन्छ । यस्तो संगठित युवा शक्तिलाई राजनीतिक शक्तिका साथै विकास, निर्माण र दैवीप्रकोप र उद्धार तथा परिआएको बेलामा राष्ट्रको निम्ति बलिदान दिन सक्ने शक्तिको रूपमा बदल्न सके कति राम्रो हुने थियो । यस पटक भने प्रमुख दलहरूले आफ्ना केही नेता र कार्यकर्तालाई विपत्तिमा परेकाको उद्धारको निम्ति पठाउने निर्णय गरेका रहेछन् । विगतमा जे जति मनमुटाव र भाँडभैलो भएका भए पनि अब भने सबै दलहरू मिलेर विपद् व्यवस्थापनदेखि मुलुकको विकासको काममा पनि सहभागी हुनु जरुरी छ ।

कतिपय राजनीतिक दलका नेताहरू भने यस्तो असहज परिस्थितिमा पनि कसरी सरकार र राज्यलाई दोषी बनाउने भन्ने खोट खोज्नमा नै व्यस्त हुने गरेका हुन्छन् । उनीहरूलाई जनताको दुःख र मानवीय संबेदनासँग कुनै लेना वा देना नै हुँदैन । बरु आफ्ना खेमाका ठेकेदारहरूले अबका दिनमा पुनर्निर्माणका के के काम पाएर फाइदा निकाल्न सक्छन् भन्ने कुरामा नै खोक्रा दिमाग खेलाइ रहेका होलान् ।

प्रधानमन्त्री र खासगरी गृहमन्त्रीले उद्धार कार्यमा यसपाली शुरुदेखि नै देखाउँदै आएको सक्रियता र पहल निकै सह्राहनीय छ । मुलुकमा सरकार भएको आभास यस्तै सक्रियताबाट जनताले प्राप्त गर्ने हो । त्यस्तै विभिन्न दलका नेताहरूले पनि यसपाली छिटै यस विपद् बारे आफ्ना सहयोगी भावना प्रकट गरे । नेपालमा राजतन्त्र हटाई सकिएको भए पनि राजा ज्ञानेन्द्रले मुलुकमा भएका राम्रा वा नराम्रा सबै कुरामा निकै चासो र चिन्ताका साथ आफ्नो भनाई राख्ने गर्नाले उनलाई नेपाली जनताले आफ्ना अवकास प्राप्त अभिभावक वा बाबु कै रूपमा माया र सम्मान गर्ने गरेका छन् ।

हाल आएर भोटेकोशीको भयानक बाढीको कहर अब सकियो भन्ने मानसिकता बन्दै गएको भए पनि चीनले भर्खरै मात्र दिएको जानकारी अनुसार यसपालीको बाढीको सुत्रपात भएको ठाउँमा रहेको तालमा फेरी लाखौँ घनमिटर हिउँ र पानी जम्मा हुन शुरु भएको छ र केही दिनमा त्यसको बोझ सहन नसकेर सो ताल पुनः विस्फोट हुने सम्भावना प्रवल छ रे । अब आउन सक्ने बाढी हिजोअस्तिको भन्दा धेरै गुणा ठूलो हुन पनि सक्छ रे । यस्तो भयावह समाचार प्राप्त भइसके पछि त त्यो भेगका बासिन्दाको सुरक्षाको निम्ति निकै तयारी अवस्थामा रहनु पर्ने बेला आइसकेको छ ।

हिमताल विस्फोट हुने जस्तो प्राकृतिक प्रकोपलाई रोक्ने क्षमताको त मानवजातीले विकास गरिसकेको छैन तर त्यस्ता अवस्थालाई न्युनिकरण गर्ने र प्राकृतिक प्रकोपबाट बच्ने र जति सक्दो कम क्षतिमा यसलाई टार्ने जस्ता कुरामा भने राज्यले सधैँ तयारी अवस्थामा रहिरहनु पर्ने हुन्छ । प्रत्येक वर्ष यस्ता प्रकारका विपत्हरू निम्ति रहेका छन् भने हिमताल विस्फोट भएर हुने प्रकोप पनि केही वर्षदेखि प्रायः यस्तै समयमा सधैँ नै भइरहेको छ । त्यसैले यस्तो अवस्थामा कसरी जनताको जीवन र वासस्थान तथा धनसम्पत्तिको सुरक्षा गर्ने तथा मुलुकको भौतिक पुर्वाधारलाई सक्दो जोगाउने भन्ने कुरामा राज्य चनाखो हुनु जरुरी छ ।

नेपालमा त्रिशुली जस्ता नदीको किनारामा नै जोडिएर रहेका वस्तीहरू धेरै छन् । राणाकाल, पञ्चायत र त्यसपछिको कालमा पनि नदीको किनारको जमीनमा नदीसँगै टाँसिएर घर बनाएर बसेका मानिसहरूलाई अब सुरक्षाको हिसाबले पनि त्यति नै जमीन र घर बनाउने खर्च राज्यले क्रमैसँग उपलब्ध गराएर त्यस्ता ठाउँबाट सार्नु पर्ने बेला आएको छ । त्यस्तो नदी किनारका जमीनमा भने रुख रोपेर हरित प्राकृतिक छेका बन्ने अवस्थाको सिर्जना गरिनु पर्दछ । भविश्यमा पनि कदाचित ठूलो बाढी आएमा जनताले ज्यान गुमाउन नपरोस् ।

अर्को अङ्कमा हामी हिमालय र यसबाट निस्कने विशाल नदी तथा हिम पहिरो र हिमतालहरू बारे अझ विस्तृत कुरा गर्नेछौँ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *