बाणगंगा नदीको टापुमा फसेका एक बालकको सकुशल उद्धार, अर्का बेपत्ता
रुपन्देही । कपिलवस्तुको बाणगंगा नदीमा पानीको बहाव बढेपछि बीच टापुमा फसेका दुई बालकमध्ये एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ भने अर्का बालक अझै बेपत्ता छन्।
बाणगंगा नगरपालिका–४ स्थित मायादेवी रङ्गशालाको दक्षिणतर्फ बाणगंगा नदीमा पौडी खेल्न गएका बाणगंगा–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा अचानक नदीको बहाव बढेपछि बीचमा रहेको टापुमा फसेका थिए। नदीमा पानीको सतह तीव्र गतिमा बढेपछि उनीहरू ज्यान जोगाउन टापुमा रहेको रुखमा चढेर बसेका थिए।
घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी सुरक्षा बेस पिपराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीको कमान्डमा उद्धार टोली तत्काल घटनास्थलतर्फ परिचालन भएको थियो।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले रबर बोटको प्रयोग गरी साँझ करिब ६ बजे १६ वर्षीय रिदम लामालाई सकुशल उद्धार गरी नदीबाहिर निकालेको छ।
तथापि, १० वर्षीय बुद्ध लामा भने घटनास्थलमा फेला नपरेपछि उनको खोजी कार्य तीव्र पारिएको छ। बेपत्ता बालकको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले नदी क्षेत्रमा खोजी तथा उद्धार जारी राखेको प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment