उपत्यकामा ग्यासको मूल्य घट्यो, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ

डिसी नेपाल
१ असोज २०८३ १८:००

काठमाडौं। कृष्णभीरको सडक खुलेसँगै नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पूर्ववत मूल्यमै बेच्ने जानकारी दिएको छ।

संघले प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन उद्योगी तथा विक्रेतालाई आग्रह गरेको हो। संघले शुक्रबारदेखि लागू हुने गरी नेपाल आयल निगमले तोकेको मूल्यमा मात्र ग्यास बिक्री गर्न आग्रह गरेको हो।

त्रिशूली नदीमा आएको बाढीले कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि उपत्यकामा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए। त्यस क्रममा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च थप गरी अधिकतम २ हजार १६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री गर्न संघले यसअघि आग्रह गरेको थियो।

अवरुद्ध सडकमा वैकल्पिक मार्ग निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू नियमित रूपमा काठमाडौं आउन थालेका छन्। त्यससँगै वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने अवस्था हटेकाले अब अतिरिक्त ढुवानी खर्च नलिन संघले जनाएको छ।

संघले सबै ग्यास उद्योगीलाई नयाँ मूल्यबारे आफ्ना विक्रेतालाई जानकारी गराउनसमेत आग्रह गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *