सिंहदरबारमा जेनजी सांसदहरूसँग प्रधानमन्त्री बालेनको विशेष छलफल
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेनजी’ उमेर समूहका युवा सांसदहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सुरु गरेका छन्।
युवा जनशक्ति, प्रविधि र समसामयिक विकासका एजेन्डामा केन्द्रित उक्त बैठकमा विशेष गरी नवीन प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा गहन छलफल भइरहेको छ।
प्रधानमन्त्री शाहले युवा पुस्ताका जनप्रतिनिधिहरूका नवीन सोच, जनअपेक्षा तथा प्रत्यक्ष अनुभवलाई सरकारी नीति निर्माण र बजेट कार्यान्वयनको दायरामा कसरी प्रभावकारी रूपमा ढाल्न सकिन्छ भन्ने विषयमा सांसदहरूसँग सुझाव माग गरेका छन्।
बैठकमा सहभागी युवा सांसदहरूले प्रविधिमैत्री सरकारी सेवा, नवप्रवर्तनका लागि सहज ऋण तथा अनुदान, अनुसन्धानमा लगानी र जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने रणनीतिबारे आ-आफ्नो धारणा प्रस्तुत गरिरहेका छन्।
युवा पुस्ताको आकांक्षा अनुकूल सुशासन र विकासका प्राथमिकता निर्धारण गर्न प्रधानमन्त्री शाहले जेन्जी प्रतिनिधिहरूसँगको संवादलाई निरन्तरता दिने रणनीति अपनाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment