चीनबाट ६ सैन्य कार्गो विमानमार्फत राहत सामग्री प्राप्त भयो : महावीर पुन
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले चीन सरकारबाट नेपालले ६ वटा सैन्य कार्गो विमानमार्फत बाढीपीडितका लागि उद्धार तथा राहत सामग्री प्राप्त गरेको बताएका छन्।
चिनियाँ सहयोगबारे जानकारी दिँदै मन्त्री पुनले ती विमानमार्फत ड्रोन, डीएनए परीक्षण किट, पीसीआर, बडी फ्रिजर, टेन्ट तथा भाँडाकुँडालगायत विभिन्न सामग्री प्राप्त भएको बताए।
उनले चीनबाट अनुदानस्वरूप २ लाख अमेरिकी डलर नगद तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि थप २ लाख अमेरिकी डलर प्राप्त भएको जानकारी दिए। रेडक्रसमार्फत २ लाख डलर बराबरको सामग्रीसमेत प्राप्त भएको उनले बताए।
पुनले विपद् व्यवस्थापनका लागि चीनबाट ६ जना विपद् राहत विज्ञ र १५ जना फोरेन्सिक विज्ञ प्राप्त भएको बताए। फोरेन्सिक विज्ञहरू अहिले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा काम गरिरहेको उनले जानकारी दिए।
उनले कठिन तथा जोखिमपूर्ण परिस्थितिमा त्रिशूली क्षेत्रमा उद्धार टोलीलाई सहयोग गरेको चिनियाँ विज्ञ टोलीलाई धन्यवाद दिए।
मन्त्री पुनले चिनियाँ सरकारबाट प्राप्त एआई तथा स्याटेलाइट डाटाले विपद् प्रभावित क्षेत्रको अवस्था अनुगमन गर्न सहयोग पुगेको बताए। उनले ‘माजु प्रणाली’मार्फत प्राप्त हुने रियल टाइम डाटाको प्रयोग र नेपाल–चीनबीचको डाटा आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
मन्त्री पुनले प्रभावित क्षेत्रका नागरिकलाई सहयोग पु¥याउन चीन सरकारले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्दै चिनियाँ सरकार र विज्ञ टोलीको सहयोगप्रति आफू हृदयदेखि कृतज्ञ रहेको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment