भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

डिसी नेपाल
२ असोज २०८३ २०:१६

काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित बालबालिकाको सुरक्षित संरक्षणका लागि सरकारले राज्यको निर्धारित बाल संरक्षण प्रणालीमार्फत व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ।

बाढी प्रभावित बालबालिकालाई पालनपोषण, शिक्षादीक्षा तथा संरक्षणका नाममा व्यक्ति वा संस्थाले आफ्नो जिम्मामा लिने, विभिन्न माध्यमबाट प्रभाव पार्ने तथा मनोविमर्शका नाममा अवाञ्छित धार्मिक प्रभाव पार्न खोज्ने गतिविधिप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।

विपद्को संवेदनशील अवस्थाको फाइदा उठाउँदै बालबालिकालाई आफूखुसी जिम्मा लिने वा अन्यत्र स्थानान्तरण गर्ने गतिविधिले उनीहरूको सुरक्षा, मनोसामाजिक अवस्था, भावनात्मक विकास तथा दीर्घकालीन भविष्यमा जोखिम निम्त्याउन सक्ने मन्त्रालयले जनाएको छ।

बालबालिकाको सर्वोत्तम हित र सुरक्षित संरक्षण सुनिश्चित गर्न राष्ट्रिय बाल अधिकार परिषद्अन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। प्रारम्भिक छानविन तथा मूल्याङ्कनबाट तत्काल सुरक्षित संरक्षण आवश्यक देखिएका बालबालिकालाई निर्धारित प्रक्रियाअनुसार उक्त केन्द्रमा राखिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

बाढीका कारण अभिभावकविहीन भएका वा तत्काल पारिवारिक संरक्षणबाट वञ्चित बालबालिकालाई सुरक्षित संरक्षणमा ल्याउन सम्बन्धित स्थानीय तहसँग आवश्यक समन्वय र सहजीकरण गर्न मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्बन्धित निकायलाई आग्रह गरेको छ।

त्यस्तै, भदौ १० गतेको बाढीबाट प्रभावित तथा सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेका स्थानीय तहलाई बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर उद्धार, पहिचान, संरक्षण, पारिवारिक पुनर्मिलन तथा आवश्यक सेवाका लागि राज्यका सम्बन्धित निकायसँग समन्वय गर्न मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले विपद्का बेला बालबालिकाको संरक्षण कुनै व्यक्ति वा संस्थाको व्यक्तिगत पहलमा नभई कानुनबमोजिम राज्य संयन्त्र र बाल संरक्षण प्रणालीमार्फत व्यवस्थित, सुरक्षित र जवाफदेही ढङ्गले गर्नुपर्नेमा जोड दिएको छ।

सरकारको यो पहलले बाढी प्रभावित बालबालिकालाई तत्काल सुरक्षित आश्रय उपलब्ध गराउनुका साथै उनीहरूको पहिचान, पारिवारिक अवस्था मूल्याङ्कन, संरक्षण, शिक्षा, मनोसामाजिक सहयोग तथा दीर्घकालीन पुनर्स्थापनालाई एकीकृत प्रणालीमार्फत अघि बढाउने आधार तयार गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *