बाढीमा बेपत्ता भएकाको पहिचानका लागि औंलाछाप भिडाइने

डिसी नेपाल
२ असोज २०८३ १९:२१

काठमाडौं । केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा, नुवाकोट र धादिङ जिल्लाका जिल्ला कमाण्ड पोष्टहरुबीच प्रभावित परिवारका लागि अस्थायी आवास व्यवस्थापन, अस्थायी आवासका लाभग्राही पहिचान कायम र सूचना प्रणालीमा इन्ट्री, विकास साझेदार, संघसंस्था, निजी क्षेत्रलगायतको सहयोग र प्रारम्भिक पुनर्स्थापना लगायतका विषयमा छलफल भएको छ।

भर्चुअल माध्यमबाट भएको छलफलमा प्रमुख जिल्ला अधिकारीहरुले सडक तथा पुलहरुको ‘कनेक्टिभिटी’, सम्पर्कविहीन भएका व्यक्तिका परिवारहरुबाट मृत्यु दर्ता, बालबालिकाको व्यवस्थापन, स्थानीयद्वारा पुरिएका घरहरुको उत्खननका लागि भएको माग, बाढीले प्रभाव पारेका ठाउँमा आवासीय, सार्वजनिक पूर्वाधार निर्माणमा स्पष्टताको आवश्यकता लगायतका विषय राखे।

केन्द्रीय कमाण्ड पोष्टका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्पर्कविहीन भएका व्यक्तिका परिवारहरुबाट मृत्यु दर्तालगायतका विषयमा केन्द्रीय स्तरमा छलफल भइरहेको जानकारी दिए।

आजै बसेको केन्द्रीय कमाण्ड पोष्टको बैठकले भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु भएका व्यक्तिहरुको पहिचान गर्न शवबाट उठाइएको औंलाछाप नमूनाहरुको विद्युतीय प्रति आवश्यकता अनुसार निर्वाचन आयोग, राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग, पासपोर्ट विभाग, अध्यागमन विभाग र सवारी तथा यातायात व्यवस्था कार्यालयमा रहेको सफ्टवेयर आदिको प्रयोग गरी तुलना गर्न सकिने गरी अनुमति प्रदान गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ।

त्यसैगरी, बैठकले भारत, चीन, दक्षिण कोरिया लगायतका मित्र राष्ट्रहरुबाट आएका खोज तथा उद्धार टोलीले रसुवा-भोटेकोशी बाढी प्रभावितको खोज तथा उद्धारमा पुर्‍याएको सहयोग र योगदानको उच्च सम्मान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *