भारती खरेल: मानसपटलका सम्झनाहरू
‘भारती खरेल: सृजना र समीक्षा’-हातमा एउटा पुरानो तर ऐतिहासिक कृति छ। यस कृतिका पानाहरू पल्टाउँदै गर्दा समयको गति पछाडितिर मोडिन्छ र मन वि.सं. २०५२ साल माघ १२ गतेको त्यो अविस्मरणीय दिनतिर पुग्छ।
त्यस दिन रामशाहपथस्थित ‘एप्रोक्स’ को सभाहलमा एउटा भव्य र गरिमामय कार्यक्रमको आयोजना गरिएको थियो। तत्कालीन प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको करकमलबाट ‘भारती खरेल: सृजना र समीक्षा’ कृतिको लोकार्पण भएको थियो।
समाजसेवी तथा साहित्यकार खरेलको साहित्य, समाजसेवा र जीवनका विविध पक्षमा प्रकाश पारिएका विचार तथा विश्लेषणहरूको सँगालो सो समीक्षा कृतिमा समेटिएको थियो।
साहित्यकारद्वय नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईद्वारा सम्पादित कृतिलाई आज आफ्नै निजी पुस्तक संसारमा पाउँदा म केहीछिन लोकार्पण समारोहको त्यही दिनतिर पुगेँ।
कहिलेकाहीँ वर्तमानलाई बिर्सेर विगततिर फर्किएर रमाउनुको आनन्द पनि पृथक मिठासले भरिएको हुँदोरहेछ। एउटा सानो चिर्कटोभित्रको सम्झनाको मनचिन्ते झोलामा अनेकौँ सम्झनाका तरेलीहरू तैरिरहेका हुँदारहेछन्।
देशका वरिष्ठ साहित्यकार, संस्कृतिविद्, समाजसेवी तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको त्यो दिव्य समारोहमा म स्वयं पनि प्रत्यक्ष सहभागी हुन पाउने सौभाग्य मिलेको थियो। सभाहलको एकाछेउमा भारती खरेलको शान्त र भर्भराउँदो भावप्रधान तस्बिर मालाले सजाइएको थियो।
ती श्रद्धेय साहित्यकारप्रति उपस्थित सबैको मन संवेदित भइरहेको म महसुस गर्थेँ। बोल्ने वक्ताहरूको प्रारम्भिक बोलीमै भारती खरेलप्रति भावपूर्ण श्रद्धाका शब्द अभिव्यक्त हुन्थे। त्यसपछि उहाँको सिर्जनात्मक योगदानको बेलिबिस्तार प्रारम्भ हुन्थ्यो।
आज यतिका वर्षपछि फेरि भारती खरेलको उक्त किताब हातमा लिँदा र ती अतीतका दिनहरू सम्झँदा मन एकाएक भावुक बन्न पुग्छ।
लोकार्पण समारोहमा उपस्थित वरिष्ठ साहित्यकार तथा समालोचकहरूले उहाँको बहुआयामिक व्यक्तित्व र कालजयी कृतित्वमाथि पोख्नुभएका श्रद्धाका शब्दहरू अझै पनि मेरो कानमा उस्तै गरी गुञ्जिरहेको महसुस हुन्छ। अहिले पुनः किताबका पानाहरू पल्टाउँदै दिवङ्गतप्रति अश्रुपुरित शब्दका सुसेलीमा डुब्दै जाँदा भारती खरेलको जीवनदर्शनको पाटो बोध हुन्छ।
जीवन र साधनाको यात्रामा काभ्रेपलाञ्चोकको भुम्लु हलिदेवमा संवत् १९९५ मङ्सिर १६ गते (बुबा मी. सु. लीलानाथ उप्रेती र आमा अनन्तकुमारीकी माहिली सुपुत्रीका रूपमा) जन्मनुभएकी भारती खरेल नेपाली साहित्य र समाजसेवाकी एक निष्ठावान् साधिका हुनुहुन्थ्यो।
भारतका स्वामी शांतानन्द योगीबाट प्रारम्भिक शिक्षा प्राप्त गरी एस.एल.सी. सम्मको अध्ययन गर्नुभएकी उहाँको वि.सं. २००९ मा चन्द्रिकानन्द खरेलसँग विवाह भएको थियो। सदाबहार चर्चित गायक दीपक खरेल उहाँहरूकै सुपुत्र हुनुहुन्छ।
साहित्य सृजनासँगै उहाँले विभिन्न विद्यालय, अस्पताल, धर्मशाला र खानेपानी निर्माण जस्ता सामाजिक कार्यमा सक्रिय सहयोग पुर्याउनुभयो। केन्द्रीय तथा जिल्लास्तरका धार्मिक एवं सामाजिक सङ्घ–संस्थाहरूमा रहेर उहाँले पुर्याउनुभएको योगदान सधैँ अनुकरणीय छ।
वि.सं. २०४९ साउन ४ गते उहाँको अल्पायुमै निधन भएको थियो। निधनपछि उहाँको नाममा ‘भारती खरेल प्रतिष्ठान’ को स्थापना गरियो। यही संस्थाबाट यो कृति प्रकाशन गरिएको हो। यस प्रतिष्ठानबाट साहित्यकार, समाजसेवी तथा संस्कृतिकर्मीहरूलाई हरेक वर्ष ‘भारती खरेल स्मृति पुरस्कार’ द्वारा पुरस्कृत गरिन थालियो।
केही पुरस्कार वितरण समारोहमा पनि म सहभागी भएको सम्झन्छु। २०७१ सालमा वरिष्ठ आख्यानशिल्पी परशु प्रधानले यो पुरस्कार पाउनुहुँदा म उहाँको आमन्त्रणमा सरिक भएको थिएँ। खरेलको ७७औँ जन्मजयन्तीको अवसरमा ५१ हजार राशिसहित प्रमुख अतिथि तत्कालीन सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले प्रधानलाई सम्मानित गर्नुभएको थियो।
भारती खरेलले नेपाली साहित्यका विभिन्न विधामा आफ्ना प्रखर कलम चलाउनुभएको थियो। उहाँका प्रमुख प्रकाशित कृतिहरूमध्ये उपन्यास– ‘यौटी आमाको कथा’, ‘गंगा-जमुना’, ‘कुमारी आमा’, र ‘लाहुरे’ छन्।
त्यसैगरी भक्तिरचनामा ‘भजन-भारती’ (भक्तिरचना) र ‘श्रद्धा-सुमन’ (भजन तथा कवितासङ्ग्रह) छन्। त्यस्तै ‘नवरत्न’ शीर्षकको आध्यात्मिक विषयवस्तुमा आधारित निबन्धसङ्ग्रह रहेको छ। उहाँले ‘भाइटीका’ नाटक र ‘पछुतो’ शीर्षकको कथासङ्ग्रह पनि लेख्नुभएको छ। उहाँका दुई वटा भजनका क्यासेटहरू पनि जनसमक्ष आइसकेका छन्।
लोकार्पण समारोह र विद्वान्हरूको दृष्टिमा भारती खरेललाई मैले नजिकैबाट चिन्ने अवसर पाएको थिएँ।
आज फेरि यतिका वर्षपश्चात् त्यस दिनको लोकार्पण समारोहमा उपस्थित विद्वान्हरूले उहाँको बहुमुखी प्रतिभाका विविध पक्षबारे मन्थन गर्नुभएको सन्दर्भसँगै भारती खरेलको सरल जीवनशैली मेरो मानसपटलमा झल्झली मीठो सम्झना बनेर आइरहेको छ।
‘भारती खरेल: सृजना र समीक्षा’ कृतिमा ४१ जना वरिष्ठतम् सर्जकहरूको मनले देखेको र अनुभव गरेको कुरा समावेश छ। विशेषतः उहाँका कृतिहरूलाई समालोचक तथा साहित्यकारले सारगर्भित विश्लेषणका विविध पाटामा राखेर विशुद्ध साहित्यकार, समाजसेवी र भजन लेखिकाका रूपमा चित्रण गर्नुभएको छ।
प्रा.डा. बालकृष्ण पोखरेल, प्रा.डा. वासुदेव त्रिपाठी, प्रा.डा. मोहनहिमांशु थापा, प्रा.डा. केशव उपाध्याय, प्रा.डा. अभि सुवेदी, प्रा.डा. चुडामणि बन्धु, प्रा. शिवगोपाल रिसाल, जगन्नाथ शर्मा त्रिपाठी र देवीप्रसाद सुवेदीजस्ता मूर्धन्य समालोचकहरूले उहाँका कृतिमाथि गहिरो विवेचना गर्नुभएको छ।
उहाँका नाटक, उपन्यास, भजन (भजन-भारती) र आध्यात्मिक निबन्धहरू (नवरत्न) मा सूक्ष्म सनातन ॐकार र भक्तिभावको उच्च चेतना रहेको उहाँहरूले चर्चा गर्नुभएको छ।
त्यसैगरी खरेलको नारीवादी तथा सामाजिक दृष्टिमाथि पनि विशद व्याख्या गरिएका लेखहरू छन्।
प्रा.डा. कृष्णहरि बराल, डा. गोमा, प्रा. ठाकुर पराजुली, प्रा. घनश्याम कँडेल, महेश प्रसाई, डा. रामदयाल राकेश र आनन्ददेव भट्टले उहाँका उपन्यास (कुमारी आमा, यौटी आमाको कथा) मा पोखिएका नारी संवेदना, उत्पीडन र नारी-प्रेरणाका स्वरहरूलाई शब्दका माध्यमबाट सशक्त रूपमा रेखांकित गर्नुभएको छ।
बहुमुखी प्रतिभा र समाजसेवीको पहिचान पेस गर्दै प्रा. मोहनराज शर्मा र डा. वामदेव पहाडीले उहाँलाई केवल एक साहित्यकार मात्र नभई समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने एक उदार समाजसेवी र बहुमुखी साहित्य-साधिकाका रूपमा स्मरण गर्नुभएको छ।
दैवज्ञराज न्यौपाने, प्रा. कृष्ण गौतम, कृष्ण प्रधान, कृष्णप्रसाद पराजुली, गोपीकृष्ण शर्मा, घटराज भट्टराई, दधिराज सुवेदी आदिले समेत उहाँको व्यक्तित्व र कृतित्वका पक्षमा चर्चा गर्नुभएको छ।
नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईद्वारा सम्पादित यो ‘भारती खरेल: सृजना र समीक्षा’ ग्रन्थले उहाँको कीर्तिलाई अजर-अमर बनाएको छ। वर्षौंपछि आज यो ग्रन्थ पुनः नियाल्दै गर्दा लाग्छ- सच्चा स्रष्टा र समाजसेवी कहिल्यै मर्दैनन्।
भारती खरेलका कालजयी शब्दहरू, उहाँको साधनामय जीवन र त्यो लोकार्पण समारोहको ऐतिहासिक क्षण मेरो मानसपटलमा सधैँभरि ताजै रहनेछ।
साहित्यकार भारती खरेलप्रति यिनै शब्दहरूमार्फत हार्दिक शब्द-श्रद्धासुमन अर्पण गर्दछु।
No ads found for this position




Facebook Comment