अध्यक्ष ओलीलाई हटाउने कुरा भ्रम मात्र हो, एकीकृत प्रतिवेदनमा सहमति भयो : महेश बस्नेत

डिसी नेपाल
४ असोज २०८३ १४:२५

काठमाडौं। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने र नेतृत्व परिवर्तनका विषयमा उठेका भ्रमहरूलाई चिर्दै अघि बढ्ने सहमति भएको छ।

काभ्रेको बल्थलीमा बसेको आवासीय बैठकपश्चात् प्राप्त मस्यौदा प्रस्तावहरूलाई समेटेर तयार पारिएको एकीकृत प्रतिवेदनमाथि छलफल गर्दै कार्यदलले यस्तो निष्कर्ष निकालेको हो।

बैठकबारे जानकारी दिँदै एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओलीलाई पदबाट हटाउने, राजीनामा माग्ने वा उनको आलोचना गर्ने विषयमा कहीँ कतै छलफल र सहमति नभएको दाबी गरे।

पार्टीभित्र उत्पन्न अन्योल र भ्रम निवारण गर्दै पार्टी सुदृढ एकता प्रदर्शनका साथ अघि बढ्ने सहमति भएको छ। कार्यदलले पार्टीलाई थप जुझारु र सशक्त बनाउँदै वर्तमान सरकारका अधिनायकवादी, प्रतिशोधी, निरङ्कुश र जनविरोधी शैलीका विरुद्ध सशक्त जनआन्दोलन सिर्जना गर्ने निर्णयसमेत गरेको छ। सोही आन्दोलन र सांगठनिक पुनर्ताजगीको तयारीका लागि पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने सहमति पनि बैठकले जुटाएको छ।

यसअघि कार्यदलमा संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलका फरक-फरक प्रतिवेदन पेस भएपछि विवाद सिर्जना भएको थियो।

महासचिव पोखरेलको प्रतिवेदनमा पार्टी पुनर्गठन र विशेष महाधिवेशनको चर्चा भएपछि अध्यक्ष ओली पक्ष असन्तुष्ट बनेको थियो। तर, बल्थली बैठकपछि उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव पोखरेल सम्मिलित तीन सदस्यीय समिति गठन गरी दुवै प्रतिवेदनलाई मिलाएर एकीकृत दस्तावेज तयार पारिएको छ।

पार्टीभित्र मतविभाजन र सम्भावित फुटको अवस्था आउन नदिन बहुमत-अल्पमतको प्रक्रियामा नगई सहमतिमै दस्तावेज टुंग्याइएको एमाले नेताहरूले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *