पब्जी मोबाइलको ग्लोबल ओपनमा नेपालका टीटूके र होरा ई-स्पोर्ट्स छनोट
काठमाडौं। नेपालका दुई ई-स्पोर्ट्स टिम पब्जी मोबाइलको प्रतिष्ठित ‘ग्लोबल ओपन च्याम्पियनसिप’मा छनोट भएका छन्। शनिबार काठमाडौँमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन साउथ एसिया फाइनलमा दोस्रो र तेस्रो स्थान हासिल गर्दै ट्रेन टु किल (टीटूके) र होरा ई-स्पोर्ट्सले ग्लोबल ओपनमा आफ्नो स्थान सुरक्षित गरेका छन्।
ई-स्पोर्ट्स सङ्घ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा चार दिनसम्म चलेको क्षेत्रीय छनोट प्रतियोगितामा सहभागी १६ टिममध्ये उत्कृष्ट प्रदर्शन गर्दै नेपालका यी दुई टिमले सफलता पाएका हुन्।
प्रतियोगितामा टीटूके १८८ अङ्कसहित समग्रमा दोस्रो र होरा ई-स्पोर्ट्स १७५ अङ्कसहित तेस्रो स्थानमा रहे। नेपालकै अर्को टोली एचएलएक्स चौथो स्थानमा रहे पनि ग्लोबल ओपनका लागि छनोट हुन सकेन। यस्तै, पाकिस्तानको ‘फोर थ्रिभ्स’ टिम पहिलो स्थान हासिल गर्दै ग्लोबल च्याम्पियनसिपमा छनोट भएको छ।
प्रतियोगितामा प्रथम भएको फोर थ्रिभ्सले नौ हजार अमेरिकी डलर, दोस्रो भएको टीटूकेले पाँच हजार पाँच सय अमेरिकी डलर र तेस्रो स्थान प्राप्त गरेको होरा ई-स्पोर्ट्सले चार हजार पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गरे। विजयी खेलाडीहरूलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र ईशानका कार्यवाहक अध्यक्ष हिमविक्रम केसीले पुरस्कार प्रदान गरे।
काठमाडौँमा चार दिनसम्म सञ्चालन भएको यस प्रतियोगिताको टिकट बिक्रीबाट सङ्कलित कुल रकमको ५० प्रतिशत भाग प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हस्तान्तरण गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत यस कार्यक्रमलाई विभिन्न निजी तथा अन्य सङ्घ-संस्थाहरूले सहयोग गरेका थिए। काठमाडौँमा सम्पन्न यो ‘पीएमजीओ साउथ एसिया’ प्रतियोगिता दक्षिण एसियाकै उत्कृष्ट ल्यान (LAN) इभेटहरूमध्ये एक भएको ईशानका सचिव आशिष दाहालले बताए।
समापन समारोहमा बोल्दै सचिव दाहालले आगामी दिनहरूमा नेपालमा अझ ठूला अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स प्रतियोगिताहरू भित्र्याउन सङ्घले निरन्तर पहल गरिरहेको जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment