नेपालगञ्जमा भारोत्तोलन प्रतियोगिता
नेपालगञ्ज (बाँके)। नेपालगञ्जमा आजदेखि ‘प्रथम मेयर राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप’ सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले राष्ट्रियस्तरको प्रतियोगिताले नेपालगञ्जको खेलकुद गतिविधिलाई नयाँ ऊर्जा दिएको बताए। उनले भने, ‘राष्ट्रियस्तरको प्रतियोगिता नेपालगञ्जमा आयोजना हुनु सकारात्मक कुरा हो। खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्छ।’
नगर प्रमुख विष्टले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तहले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने बताए। उनले यसका लागि उपमहानगरपालिकाले आवश्यक सहयोग र सहकार्य गर्दै जाने बताए।
कार्यक्रममा बाँके जिल्ला भारोत्तोलन सङ्घका अध्यक्ष डा प्रतीक श्रेष्ठले नेपालगञ्जमा सञ्चालन भइरहेको यस प्रतियोगिताले खेलाडीको उत्साहसँगै स्थानीय खेलकुदको सम्भावनालाई उजागर गरेको बताए। उनका अनुसार प्रतियोगितामा १४२ खेलाडी सहभागी छन्। नेपालगञ्जलाई खेलकुदको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विभिन्न जिल्लाबाट खेलाडी नेपालगञ्ज आएर राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनु यहाँको खेलकुद विकासका लागि महत्वपूर्ण अवसर भएको बताए। खेलकुदले युवालाई अनुशासनमा राख्नुका साथै उनीहरूलाई सकारात्मक गतिविधितर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
उद्घाटन कार्यक्रममा ओलम्पियन सुरेन्द्र हमाल, नेपालगञ्ज–२ का वडाध्यक्ष मनोज श्रेष्ठ, प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौर, प्रहरी निरीक्षक शेखर खड्कालगायतको उपस्थिति थियो। नेपालगञ्ज उपमहानगरपालिकाको विशेष सहयोग तथा राष्ट्रिय भारोत्तोलन महासङ्घको सहकार्यमा उक्त प्रतियोगिता आयोजना गरिएको हो। दुई दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment