भोटेकोशी बाढी प्रभावित पत्रकारका परिवारलाई महासङ्घले एक–एक लाख सहयाेग गर्ने
काठमाडौं। नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा पत्रकारका परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा बाढी प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई तत्काल सहयोग उपलब्ध गराउने निर्णय गरिएको उल्लेख छ।
महासङ्घले बाढीपछि सम्पर्कविहीन रहेका नयाँ पत्रिका शाखाका सदस्य तथा महासङ्घका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, भक्तपुर शाखाका पूर्वसल्लाहकार शेखर ढुङ्गाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको हो।
त्यस्तै, बाढीका कारण परिवार तथा घरवाससमेत गुमाएका राताेपाटीकर्मी एवं रसुवा शाखाका सदस्य निराजन पौडेललाई पनि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार बाढीबाट प्रभावित अन्य पत्रकार तथा सञ्चारमाध्यमलाई पनि सम्बन्धित जिल्ला शाखामार्फत प्राप्त हुने क्षतिको विवरण र आवश्यकताका आधारमा मापदण्ड तयार गरी सोहीअनुसार राहत तथा सहयोग उपलब्ध गराइनेछ।
यसैबिच विपद्को समयमा प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई सहयोग गर्न इच्छुक महासङ्घका सदस्यहरूलाई नेपाल पत्रकार महासङ्घको विपद् कोषमा सहयोग रकम जम्मा गर्न महासङ्घले आग्रह गरेको छ।
गत भदाै १० गते चीनकाे तिब्बतबाट आएकाे विनाशकारी बाढीले मानवीय तथा भाैतिक क्षति गरेकाे थियाे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment