चिनियाँ सीमाको मरिम मेला नखुल्दा उपल्लो डोल्पामा खाद्यान्न संकटको चिन्ता, दशैंमा च्याङ्ग्रा आपूर्तिसमेत प्रभावित हुने

डिसी नेपाल
५ असोज २०८३ ७:३६

डोल्पा। चीनसँगको सीमा नजिक डोल्पाको मरिम नाकामा बर्सेनि लाग्दै आएको ‘छोङ्ग्रा मेला’ यस वर्ष सञ्चालन हुन सकेन।

गत वर्षसम्म नियमित रूपमा लाग्दै आएको हाटबजार यस वर्ष नखुलेपछि उपल्लो डोल्पाका स्थानीयवासी खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको भन्दै चिन्तित बनेका छन्। साथै, आफ्ना स्थानीय उत्पादन बिक्री गर्न नपाएकोमा उनीहरूले दुःखेसो पोखेका छन्।

डोल्पो बुद्ध गाउँपालिका-१ का अध्यक्ष छिरिङ घुटुक्क मगरका अनुसार अघिल्ला दुई वर्ष लगातार मेला सञ्चालन भए पनि यस वर्ष किन नखुलेको भन्ने स्पष्ट जानकारी प्राप्त भएको छैन। मेला सञ्चालनका लागि गाउँपालिकाको तर्फबाट चिनियाँ पक्षसँग पटक-पटक पत्राचार गरी पहल गरिए पनि मेला सञ्चालन हुन नसकेको उनले बताए।

“गाउँपालिकाले चिनियाँ सीमातर्फ पत्र पठाएर मेला सञ्चालनका लागि पहल गर्‍यौँ। तर यस वर्ष मेला खुलेन,” अध्यक्ष मगरले भने, “सीमावर्ती नेपाली बासिन्दाको दैनिक जीवनसँग जोडिएको यो मेला सञ्चालनका लागि सङ्घीय सरकारले कूटनीतिक माध्यमबाट थप पहल गर्नुपर्छ।”

मरिमको सीमावर्ती हाट उपल्लो डोल्पाका बासिन्दाका लागि वर्षभरिका आवश्यक सामान जुटाउने मुख्य आधार हो। स्थानीयले त्यहाँ यार्चागुम्बा, च्याङ्ग्रा, चिया, घिउ, छुर्पीलगायत स्थानीय उत्पादन बिक्री गर्ने र त्यसबाट आएको रकमले खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य वस्तु खरिद गर्ने गर्छन्।

डोल्पो बुद्ध गाउँपालिकाका स्थानीय छुल्डिम लामाले यस वर्ष मेला नखुलेपछि घरमा खाने दूध र घिउसमेत सकिएको बताए। उनका अनुसार जोमसोम र दुनैबाट सामान खरिद गर्दा ढुवानी खर्चका कारण अत्यधिक महँगो पर्ने गर्छ।

“मरिमको मेला खुलेको भए १० दिनमै वर्षभरिका लागि चाहिने धेरै सामान किनेर ल्याउन सकिन्थ्यो। यस वर्ष मेला नखुलेपछि दैनिक आवश्यक सामानका लागि टाढा जानुपर्ने बाध्यता आइपरेको छ,” उनले भने।

त्यस्तै, काइके गाउँपालिकाका स्थानीय व्यापारीहरूले यार्चागुम्बा तथा च्याङ्ग्रा बिक्री गर्ने महत्त्वपूर्ण अवसर गुमेको बताएका छन्। मेलामा च्याङ्ग्रा, भेडालगायत पशु तथा स्थानीय उत्पादनको खरिद-बिक्री सहज हुने गरेको उनीहरूको भनाइ छ।

मुस्ताङ हुँदै हुने च्याङ्ग्रा आपूर्तिमा असर पर्ने चिन्ता

मुस्ताङका च्याङ्ग्रा व्यापारी निरज थकालीका अनुसार मरिम नाका सञ्चालन नहुँदा मुस्ताङ हुँदै पोखरा र काठमाडौँ पुग्ने च्याङ्ग्राको आपूर्तिमा समेत असर पर्न सक्छ।

“मरिम नाका नखुल्ने हो भने मुस्ताङबाट पोखरा र काठमाडौँ जाने च्याङ्ग्राको सङ्ख्या घट्न सक्छ,” थकालीले बताए।

उनका अनुसार यस वर्ष चिनियाँ मुद्रा युआनको मूल्य बढेकाले कोरला नाका हुँदै गत वर्षको तुलनामा कम च्याङ्ग्रा नेपाल भित्रिन सक्ने अवस्था छ। यसले आगामी दशैंका लागि काठमाडौँलगायतका बजारमा च्याङ्ग्राको आपूर्तिमा असर पार्न सक्ने उहाँले जानकारी दिए।

थकालीका अनुसार पछिल्ला तीन-चार वर्षदेखि काठमाडौंका च्याङ्ग्रा व्यापारीहरूले मुस्ताङबाट च्याङ्ग्रा खरिद गरी भक्तपुरको सल्लाघारीसम्म लैजाने गरेका छन्। त्यहाँबाट काठमाडौँ उपत्यकाका विभिन्न बजारमा च्याङ्ग्रा बिक्री हुने गर्छ।

मरिम छोङ्ग्रा मेला सञ्चालन नहुनु र कोरला नाकाबाट हुने च्याङ्ग्राको आयातमा सम्भावित कमी आउनाले यस वर्ष दसैँको बजारमा च्याङ्ग्राको आपूर्ति घट्ने र मूल्य बढ्ने व्यवसायीहरूको अनुमान छ।

आगामी वर्षदेखि यो मेला नियमित रूपमा सञ्चालन हुने वातावरण बनाउन नेपाल सरकारले चिनियाँ पक्षसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग स्थानीयले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *