तीन दशक लामो सांगीतिक यात्रापछि पहिलोपटक युरोप भ्रमणमा निस्किँदै मंगोलियन हार्ट
काठमाडौं । सन् १९९२ मा स्थापना भएको चर्चित नेपाली सांगीतिक ब्यान्ड मंगोलियन हार्ट आफ्नो तीन दशकभन्दा लामो सांगीतिक यात्रापछि पहिलोपटक युरोप भ्रमणमा निस्कने भएको छ।
फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुन लागेको ‘मंगोलियन हार्ट युरोप मिनी टुर २०२६’ अन्तर्गत ब्यान्डले युरोपका चार देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ। समूहको आठ सदस्यीय टोली यही सेप्टेम्बर २४ तारिखमा नेपालबाट युरोप यात्राका लागि प्रस्थान गर्ने तयारीमा छ।
टोलीमा गायक राजु लामा, ब्यान्ड म्यानेजर तथा गितारिस्ट बोबी लामा, ड्रमर सन्तोष थापा मगर, बास गितारिस्ट पवन कपाली, लिड गितारिस्ट भूपेन्द्र बज्राचार्य, मादल तथा तालवादक बाबुराजा महर्जन, बाँसुरीवादक विनय महर्जन तथा साउन्ड इन्जिनियर निरेन्द्र रञ्जित रहेका छन्।

कार्यक्रम तालिकाअनुसार ब्यान्डले सेप्टेम्बर २६ मा डेनमार्क, अक्टोबर ३ मा रोमानिया, अक्टोबर ५ मा पोर्चुगल र अक्टोबर ११ मा क्रोएसियामा लाइभ प्रस्तुति दिनेछ। यो युरोप भ्रमणलाई सांगीतिक यात्रासँगै सामाजिक सेवासँग पनि जोडिएको छ।
रसुवा बाढीका कारण प्रभावित भएका परिवारप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सांगीतिक यात्राबाट प्राप्त हुने रकमको केही हिस्सा राहत तथा सहयोगका लागि छुट्याउने निर्णय गरिएको गायक राजु लामाले बताएका छन्। ‘हामी संगीत लिएर युरोप जाँदैछौँ, तर हाम्रो यात्रा मनोरञ्जनमा मात्र सीमित छैन।रसुवालगायत विपद्बाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हाम्रो पनि जिम्मेवारी छ। त्यसैले यस यात्राबाट उठेको रकममध्ये केही हिस्सा उहाँहरूको सहयोगका लागि प्रयोग गर्नेछौँ,’ गायक लामाले भने।
ब्यान्ड म्यानेजर बोबी लामाले सामाजिक उद्देश्यसमेत जोडिएको यो यात्रामा युरोपमा रहेका सम्पूर्ण नेपाली समुदाय तथा संगीतप्रेमीलाई सहभागिताका लागि आग्रह गरेका छन्। ‘आउनुहोस्, भेटौँ, गाऔँ, नाचौँ र मंगोलियन हार्टसँगै नेपाली संगीतको उत्सव मनाऔँ। अनि जति सकिन्छ रसुवा बाढी पीडितको दुखमा मल्हम लगाऔँ,’ उनले भने।
No ads found for this position



डिसी नेपाल
Facebook Comment