भारी वर्षाको जोखिम: नमोबुद्ध नगरपालिकाका सबै विद्यालय असोज ८ र ९ गते बन्द
काभ्रेपलाञ्चोक । मौसम विज्ञान विभागको पूर्वानुमान र नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयको परिपत्रअनुसार आगामी दिनहरूमा हुन सक्ने भारी वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै नमोबुद्ध नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
असार/असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राखी नगरस्तरीय विपद् व्यवस्थापन समितिको असोज ८ गते बिहान ८:३० बजे बसेको बैठकले सो निर्णय गरेको हो।
निर्णयअनुसार नमोबुद्ध नगरपालिकाअन्तर्गत सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू असोज ८ र ९ गतेका लागि बन्द रहनेछन्।
यसैगरी नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सुरक्षित विद्यालय भवनहरूलाई आवश्यकता अनुसार अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
साथै विद्यार्थी तथा अभिभावकहरूलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन पूर्वसूचना सम्प्रेषण गर्न आग्रह गरिएको छ।
विपद्को यस समयमा सम्पूर्ण प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी स्वतः परिचालित भई आवश्यक सहयोग र सहजीकरण गर्न नमोबुद्ध नगरपालिकाका शाखा अधिकृत राम बहादुर तामाङद्वारा हस्ताक्षरित सूचनामार्फत अनुरोध गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment