काठमाडौंमा अन्तर्राष्ट्रिय फिल्म कार्यशाला

डिसी नेपाल
११ असोज २०८३ १५:३०

काठमाडौं । फिल्म निर्माणको कक्षा सधैँ किताब, नोट र सिद्धान्तबाट मात्रै चल्दैन। कहिलेकाहीँ क्यामेरा पछाडिका वर्षौंका अनुभव, मैदानमा भोगिएका कठिनाइ र एउटा कथालाई पर्दासम्म पुर्‍याउने यात्राका किस्सा नै नयाँ पुस्ताका लागि सबैभन्दा ठूलो पाठ बन्न सक्छ।

२० वर्षीय फिल्म विद्यार्थी स्वयं मानन्धर त्यस्तै एउटा अनुभव सुनिरहेका थिए। निर्माणमा रूचि राख्ने स्वयंका लागि अमेरिकी फिल्मकर्मी बर्ट ग्रेगरीका अनुभव सुन्ने अवसर विशेष थियो। कार्यकारी निर्माता तथा अडियो मिक्सर ग्रेगरीले फिल्म निर्माणमा निर्माता, प्राविधिक र अन्य टिमबीचको सहकार्यदेखि वास्तविक फिल्डमा आइपर्ने चुनौतीसम्मका अनुभव सुनाइरहेका थिए।

आफ्नो अनुभव नयाँ ठाउँमा, नयाँ पुस्तासँग बाँड्न पाउँदा ग्रेगरी पनि उत्साहित देखिन्थे। ‘हामीलाई जहिल्यै नयाँ कथा, नयाँ भूगोल र नयाँ फिल्ममेकरसँग आफ्नो कुरा शेयर गर्न पाउँदा खुसी लाग्नु स्वाभाविक हो,’ उनले भने।

नेपालमा वृत्तचित्र छायांकनका लागि आएको ग्रेगरी नेतृत्वको अन्तर्राष्ट्रिय फिल्म टोलीले काठमाडौंमा नयाँ पुस्ताका नेपाली फिल्ममेकरसँग अनुभव साटेको हो। ग्रेगरीले २० भन्दा बढी वृत्तचित्रमा काम गरेका छन् भने १४४ देशमा अडियोसम्बन्धी काम गरेको अनुभव उनीसँग छ। उनी एमी सम्मानित साउन्ड मिक्सरसमेत हुन्।

उनीसँगै नेपाल आएको टोलीमा निर्देशक तथा सह–कार्यकारी निर्माता ल्यूक कोर्म्याक पनि थिए। नेटफ्लिक्स, बीबीसी, डिज्नी प्लस, एप्पल र नेसनल जियोग्राफिकजस्ता अन्तर्राष्ट्रिय संस्थाका परियोजनामा काम गरिसकेका कोर्म्याकसँग फिल्म निर्माण तथा सिनेमाटोग्राफीमा दुई दशकभन्दा लामो अनुभव छ। टोलीमा छायांकन निर्देशक जोभान सेल्स, क्यामेरा सहायक ज्याकारि टिडमोर, लाइन निर्माता क्रिस्टियन पल्लाडिनो र उत्पादन प्रबन्धक म्याथ्यु भेनेजियोलगायत थिए।

लाइन निर्माताले क्रिस्टियन पल्लाडिनोले भने, ‘मैले कहिल्यै लाइन प्रोडुसरमा मात्रै सीमित रहिन्। थोरै बजेट हुँदा हामीले थुप्रै काम एक्लैले गर्नु पर्छ। त्यस्तो अवस्थामा पनि ठूला निर्मातालाई कन्भेन्स गर्ने कथा र शैली हुनु पर्छ। र लाइन निर्माताले निर्देशक र निर्मातालाई उत्तिकै विश्वास दिलाउनु पर्छ।’

अमेरिकी फिल्ममेकरका अनुभव एउटै ठाउँमा सुन्न पाउनु नेपाली फिल्मका विद्यार्थी तथा नयाँ फिल्ममेकरका लागि कक्षाकोठाभन्दा बाहिरको एउटा फरक पाठ बन्यो। ठूला टिमसँग नजिक हुन गाह्रो हुन्छ।

कार्यशालाको संयोजन शान्ता नेपाली र उनको टिमले गरेको हो। काठमाडौंमा आधारित निर्देशक, सिनेमाटोग्राफर, माउन्टेनियर तथा लाइन प्रोड्युसर शान्ता सन् २००६ देखि फिल्म निर्माणमा सक्रिय छिन्। सामाजिक मुद्दा, सीमान्तकृत समुदाय तथा आउटडोर र साहसिक कथामा केन्द्रित वृत्तचित्र तथा टेलिभिजन कार्यक्रम निर्देशन र निर्माण गर्दै आएकी शान्ताको काम नेसनल जियोग्राफिक, डिस्कभरी च्यानल, ट्राभल च्यानल र एनिमल प्लानेटलगायतका अन्तर्राष्ट्रिय नेटवर्कमा प्रसारण भएका छन्।

नेपालमा वृत्तचित्र छायांकनका लागि आएको अन्तर्राष्ट्रिय टोलीसँग नेपाली फिल्मकर्मीलाई प्रत्यक्ष जोड्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको उनले बताइन्।

‘उहाँहरूको टिमसँग हामी महिना दिनदेखि काम गरिरहेका छौँ। ठूलो टिमसँग नजिक भएर काम गर्न सधैं सजिलो हुँदैन। तर उहाँहरूको अनुभव सुन्ने र केही सिक्ने सबैको रुचि थियो,’ शान्ताले भनिन्।

उनका अनुसार कार्यशालाको उद्देश्य केवल अनुभव सुनाउनेभन्दा पनि व्यावहारिक रूपमा सिक्ने र सिकाउने वातावरण बनाउनु थियो। ‘सिक्ने कुरा कहिल्यै सकिँदैन। निर्देशकदेखि साउन्ड र क्यामेरासम्म सबै विधाका मानिसहरू उहाँहरूको टिममा हुनुहुन्छ। त्यसैले आज आउनेहरूले उहाँहरूबाट केही न केही सिक्न सकून् भनेर कार्यक्रम राखिएको हो,’ उनले भनिन्।

क्यामेरा उठाएरै सिक्ने अवसर

कार्यशाला परम्परागत कक्षाजस्तो थिएन। त्यहाँ लामो सैद्धान्तिक व्याख्यानभन्दा क्यामेरा सञ्चालन, सिनेमाटोग्राफी, दृश्य संरचना, प्रकाश, कठिन भूगोलमा छायांकन तथा फिल्डमा आइपर्ने समस्याको समाधानजस्ता विषयलाई व्यावहारिक रूपमा प्रस्तुत गरिएको थियो।

शान्ताका अनुसार सहभागीले ‘प्र्याक्टिकली’ केही सिक्न सकून् भन्ने नै कार्यक्रमको मुख्य उद्देश्य थियो।

अन्तर्राष्ट्रिय टोली अहिले नेपालमा जीवनयापन तथा सर्वाइभलसँग सम्बन्धित परियोजनाका लागि हेलम्बु क्षेत्रमा काम गरिरहेको छ। नेपाली फिल्मकर्मी र स्थानीय टिमसँग सहकार्य गर्दै काम गर्ने सम्भावनालाई पनि यसले खुला गरेको शान्ताको भनाइ छ।

‘उहाँहरूको अनुभव स्थानीय फिल्ममेकरसँग कसरी शेयर गर्ने र उहाँहरूसँग कसरी काम गर्ने भन्नेमा हाम्रो फोकस छ,’ उनले भनिन्।

सिकाइसँगै सहकार्यको सम्भावना

शान्ता नेपाली प्रोडक्सन्सले विगतमा नेसनल जियोग्राफिक, ट्राभल च्यानल, विश्व स्वास्थ्य संगठन (WHO), संयुक्त राष्ट्रसंघ (UN) लगायतका संस्थासँग सहकार्य गर्दै आएको छ। सिनेमाटोग्राफी, प्रोडक्सन, अनुसन्धान तथा लजिस्टिक्समा दक्ष जनशक्ति रहेको कम्पनीले गैर–काल्पनिक कथामा सामाजिक तथा मानवअधिकारका विषयलाई प्राथमिकता दिँदै आएको छ।

नयाँ पुस्ताका नेपाली फिल्ममेकरसँग अन्तर्राष्ट्रिय फिल्मकर्मीको प्रत्यक्ष भेटघाटले सिकाइसँगै सम्भावित सहकार्यका ढोका पनि खोल्न सक्ने शान्ताको विश्वास छ।

नेपालमा छायांकन भइरहेको परियोजनाबाट बन्ने सामग्रीमा नेपाली प्रोडक्सन टिमलाई जोड्ने, स्थानीय जनशक्तिको क्षमता प्रयोग गर्ने र नेपालबाटै अन्तर्राष्ट्रियस्तरका कथालाई प्रवर्द्धन गर्ने सम्भावना पनि यस क्रममा देखिएको छ।

अन्ततः कार्यशालाको सन्देश सरल थियो—फिल्म निर्माण सिक्ने सबैभन्दा प्रभावकारी बाटो क्यामेरा उठाउनु, मैदानमा उत्रिनु र काम गर्दै सिक्नु हो। र, स्वयं मानन्धरजस्ता नयाँ पुस्ताका दुई दर्जन फिल्मका विद्यार्थीका लागि विश्वका विभिन्न भूगोलमा काम गरिसकेका फिल्मकर्मीको अनुभव प्रत्यक्ष सुन्न पाउनु त्यही यात्राको एउटा महत्त्वपूर्ण सुरुवात बन्न सक्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *