बाढी र पहिरोपछि जनजीवन सामान्य बनाउन सरकार सक्रिय

डिसी नेपाल
१२ असोज २०८३ २०:४२

काठमाडौं। अविरल वर्षाका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवनलाई सामान्य बनाउन सरकार सक्रिय भएकाे छ।

गत असोज ८ गतेदेखि वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाइते र ४ जना सम्पर्कविहीन रहेका छन्।

यस अवधिमा भएका ५१३ वटा मनसुनजन्य घटनाबाट १,०६५ परिवार प्रभावित भएका छन्। यसैगरी, २२५ घरमा पूर्ण र १३७ घरमा आंशिक क्षति पुग्नुका साथै २७ गोठ र ११४ पशुचौपाया नष्ट भएका छन्।

 बाढी पहिरोबाट देशभरका विभिन्न राजमार्ग र सडकखण्डका १४७ स्थानमा क्षति पुगेको थियो। तीमध्ये १२५ स्थानमा सरकारले आफ्ना संयन्त्रहरू परिचालन गरी मर्मतपश्चात् सञ्चालनमा ल्याइसकेको छ।

पृथ्वी राजमार्गअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरो पन्छ्याएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ भने नारायणगढ-मुग्लिन खण्डको सिमलताल नजिक भासिएको स्थानमा मर्मत गरी एकतर्फी गाडी सञ्चालन गरिएको छ।

बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा डाइभर्सन बगेका कारण अवरुद्ध बनेको सडक खुलाउने प्रयास तीव्र पारिएको छ। थप क्षति नभएमा भोलि साँझसम्म यो राजमार्ग सञ्चालनमा आउनेछ। कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम, पाल्पा, बागलुङ तथा नवलपरासी खण्डका विभिन्न स्थानमा पहिरो हटाउने काम जारी छ।

भालुवाङ-चकचके-लिवाङ र त्रिभुवन राजपथ सञ्चालनमा आइसकेका छन् भने सालझण्डी–सन्धिखर्क–ढोरपाटन र बेसिसहर–चामे सडकखण्ड खुलाउने काम भइरहेको छ।

 बाढीका कारण राष्ट्रिय प्रसारण लाइनबाट १,०१३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएकोमा सेती/मादी कोरिडोरका २६२ मेगावाट र मर्स्याङ्दी कोरिडोरका १९० मेगावाटका जलविद्युत् केन्द्रहरू सञ्चालनमा आइसकेका छन्।

अवरुद्ध १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् केन्द्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ भने क्षतिग्रस्त राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आउन करिब १० दिन लाग्नेछ।

दूरसञ्चारतर्फ नेपाल टेलिकमका अवरुद्ध १,१३२ टावरमध्ये ७८२ वटा र एनसेलका १६२ मध्ये १०५ वटा टावर मर्मत गरी सेवा पुनः सुचारु गरिएको छ।

 नारायणी नदीको बाढीबाट डुबानमा परेको सुस्ता तथा चितवनका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि तिलाठी कोइलाडी गाउँपालिकाका ५०० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

सर्लाहीको लखनदेई, रौतहटको लालबकैया र बागमती तथा रुपन्देहीको तिनाउ नदी तटीय क्षेत्रका प्रभावित बस्तीहरूबाट सुरक्षाकर्मीले मानिसहरूलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएका छन्। मुस्ताङ, मनाङ, पाल्पा, बागलुङ, म्याग्दीलगायत पहाडी जिल्लाका प्रभावितहरूलाई स्थानीय तहसँगको समन्वयमा राहत तथा अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ।

मौसमजन्य खतरा अझै नटरेकाले र जोखिम कायमै रहेकाले प्रधानमन्त्री बालेन शाहले सबै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *