गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ

डिसी नेपाल
१२ असोज २०८३ २२:१३

काठमाडौं। नेपाल प्रहरीले गृहमन्त्रीको सचिवालयका मानिससँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा एक युवक पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले टेलिफोनमार्फत गृहमन्त्रीको सचिवालयका मानिससँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ घर भएका ३७ वर्षीय धर्मराज मल्ललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले सामाजिक सञ्जालमा वैयक्तिक प्रतिष्ठा एवं सार्वजनिक मर्यादाविपरीत अडियो सार्वजनिक भएको आरोपमा मल्ललाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ मल्लविरुद्ध छवटा मुद्दा रहेको खुलेको छ। अडियोबारे वास्तविकता बुझ्न सोधपुछ गर्दा उल्टै प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले पक्राउ गरिएको प्रवक्ता थापाले बताए।

पक्राउ मल्लविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसुरमा दुई दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ मल्लविरुद्ध बाँकेमा दूरसञ्चार ऐनको कसुरमा मुद्दा दर्ता भएको र यो मुद्दामा उनी फरार रहेको प्रहरीले जनाएको छ। यस्तै, बाँकेमै तीनवटा अभद्र एउटा ठगी र एउटा बैंकिङ कसुरको मुद्दासमेत मल्लविरुद्ध परेको प्रवक्ता थापाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *