मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

डिसी नेपाल
२१ असोज २०७६ १६:५७

जनकपुरधाम। बडादशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ ।
धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ । मिथिला क्षेत्र शक्ति उपासनाका लागि प्रसिद्ध रहेको क्षेत्र हो । भगवती दुर्गालाई शक्तिस्वरुपा मानेर परम श्रद्धापूर्वक पूजा गरिने चलन रहेको छ । यस अवसरमा गाउँघरमा भगवती दुर्गाको माटो बनाएर श्रद्धापूर्वक पूजापाठ गरी मेला लगाइने गरिन्छ।

भगवती दुर्गा नौ दिनसम्म माइती आउने र दशमीका दिन बिदा भई ससुराली जाने गर्छिन् भन्ने मान्यता मिथिला, बङ्गाल र आसाममा रहेको पाइन्छ । यसैकारण माटोको दुर्गाको प्रतिमा बनाई पूजा गरिने स्थानमा दुबो, धान, सुपारी र बेसारले खोइँछ भरेर यात्राका दिन भगवती दुर्गालाई बिदाइ ९विसर्जन० गरिने चलन रहेको छ।

मिथिला क्षेत्र तन्त्र, मन्त्र, टुनामुना, साधना आदिका लागि पनि विख्यात रहेको छ । यस शारदीय नवरात्रको अवधिमा तन्त्र, मन्त्र, टुनामुना र साधनाका क्षेत्रमा उन्मुख हुन चाहने जिज्ञासुका लागि प्रशस्त मानिन्छ । मैथिली भाषामा यस विद्यालाई गुनमन्तर सीखब (मन्त्र सिक्ने) भनिन्छ।

यस्तै अकाल मृत्यु भएका तथा मोक्ष प्राप्ती गरिनसकेका आत्माहरू डुलिरहने तथा तिनीहरूले समाजमा दुःख दिने मान्यता रहेअनुसार तिनीहरूको प्रकोपबाट रक्षाका लागि ढोल बजाइने परम्परा पनि रहेको छ। यसरी ढोल बजाइनुलाई डगहर देव भनिन्छ। यसबाट दुष्टआत्माको प्रकोप समाजमा नपर्ने मान्यता रहेको पाइन्छ।

दशमीका दिन दशवटै द्वार खुल्ला रहने मान्यताअनुसार कुनै पनि शुभकार्य गर्न प्रशस्त मानिन्छ । यस दिन जुनसुकै दिशातर्फ यात्रा गर्दा मुहुर्तको विचार गरिरहनु नपर्ने भनिन्छ । यात्राका दिन भगवतीको प्रसादस्वरूप जयन्ती धारण गर्ने तथा पुरोहितले यजवानलाई जयन्ती लगाएर आशीर्वाद प्रदान गर्ने प्रचलन रहेको छ । यस दिन नीलकण्ठ चराको दर्शन शुभ मानिन्छ । यसका लागि नीलकण्ठ चराको गुँड रहेको रूखलाई पहिलै नै ठम्याएर राखिने गरिन्छ।

यात्राका दिन आस्थावानहरू कागज, कलम लिएर नीलकण्ठ चरालाई उडाएर दर्शन गरी त्यस स्थानमा केही श्लोक कागजमा लेख्ने परम्परा पनि रहेको छ।

यस्तै भगवान् रामले दुर्गा भगवतीको आराधना गरी दशमीकै दिन रावण वध गर्न सफल भएकाले यस दिनलाई विजयादशमी पनि भनिएको मान्यताअनुसार प्रतीकात्मक रावण बध गर्ने चलन पनि रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *