राहुघाटको अवरोधले रोकियो बेनी–जोमसोम सडक खुलाउने काम
काठमाडौं । राहुघाट जलविद्युत् आयोजनाअगाडि रहेको संरचना र विद्युत् टावरका कारण सडक विभागका मेसिन तीन दिनदेखि अघि बढ्न नसक्दा बेनी–जोमसोम सडक खुलाउने काम रोकिएको छ । आयोजनातर्फबाट ग्याबियन पर्खाल निर्माण तथा विद्युत् टावर हटाउने काम पूरा भएपछि मात्र सडक विभागका मेसिन अघि बढाउन सकिने अवस्था रहेको विभागले जनाएको छ ।
मालढुंगा–बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–जोमसोम खण्डका विभिन्न स्थानमा पहिरो र सडक कटानका कारण यातायात प्रभावित भएको छ । सडक विभागका अनुसार राहुघाटको अवरोध हटेर मेसिन परिचालन गर्न पाए करिब सात दिनभित्र सडक सञ्चालनमा ल्याउन सकिने प्रारम्भिक अनुमान छ ।
राहुघाट जलविद्युत् आयोजनाले सडकतर्फ आफ्नो संरचना जोगाउन ग्याबियन पर्खाल निर्माण गरिरहेको छ । साथै, सडक विस्तारका लागि आवश्यक स्थानमा रहेको विद्युत् टावर हटाउने काम पनि भइरहेको छ । यी कामका कारण सडक विभागका मेसिन राहुघाटबाट अघि बढ्न सकेका छैनन् ।
सडक योजनाका प्राविधिक तथा कर्मचारी भने सोही स्थानमा बसेर मेसिन अघि बढ्ने प्रतीक्षामा रहेको विभागले जनाएको छ । राहुघाटबाट मेसिन अघि बढ्न नसक्दा त्यसदेखि तातोपानीसम्मका क्षतिग्रस्त स्थानमा थप काम गर्न सकिएको छैन ।
विभागका अनुसार आयोजनाले ग्याबियन पर्खाल निर्माण तथा विद्युत् टावर हटाउने काम आज दिउँसोसम्म सम्पन्न गरेमा सडक विभागका मेसिन परिचालन गर्न सकिनेछ । त्यसपछि उपलब्ध मेसिन र जनशक्ति परिचालन गरी करिब सात दिनमा सडक खुलाउने लक्ष्य राखिएको छ । तर राहुघाटको अवरोध तत्काल हट्न नसके सडक खुलाउने समय अनिश्चित हुने विभागले जनाएको छ ।
बेनी–जोमसोम सडकखण्डका विभिन्न स्थानमा सडक पूर्ण रूपमा वा आंशिक रूपमा क्षतिग्रस्त भएको छ । रातोपानीका दुई स्थानमा सडक नै भत्किएर पैदल यात्रुसमेत हिँड्न नसक्ने अवस्था रहेको विभागले जनाएको छ । भीरकाटेनजिक पनि सडकमा क्षति पुगेको छ ।
बेगखोलानजिक करिब १ सय मिटर सडक पूर्ण रूपमा कटान भएको छ । बैँसेरीमा यसअघि पहिरो गएको स्थानमा थप पहिरो खसेको छ । यी स्थानमा सडक सञ्चालनका लागि थप निर्माण तथा पहिरो हटाउने काम आवश्यक रहेको विभागले जनाएको छ ।
तातोपानी क्षेत्रमा सडक कटान भएको भागमा ‘ब्याक कटिङ’ तथा टेवा पर्खाल निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ । पोखरेबजार पुलको एप्रोच निर्माणको काम पनि भइरहेको छ ।
यसैबीच मालढुंगा–बेनी–जोमसोम–कोरला सडकअन्तर्गत घासादेखि कोरलासम्मको सडक भने पहिरो हटाएर दुईतर्फी सञ्चालनमा ल्याइएको छ । तर बेनीदेखि घासासम्मको खण्डमा रहेका क्षतिग्रस्त स्थानका कारण नियमित यातायात सञ्चालनमा समस्या रहेको छ ।
सडक खुलाउन विभिन्न स्थानमा मेसिन परिचालन गरिए पनि इन्धनको अभावले काम प्रभावित भएको विभागले जनाएको छ । सडक विभागका मेसिन आवश्यक स्थानमा परिचालन गर्न नसक्दा क्षतिग्रस्त सडक पुनः सञ्चालनमा ल्याउने काममा ढिलाइ भएको हो ।
बेनी–जोमसोम सडक म्याग्दी र मुस्ताङलाई जोड्दै चीनको कोरला नाकासम्म पुग्ने प्रमुख मार्ग हो । सडक अवरुद्ध हुँदा स्थानीय आवागमनका साथै दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री तथा अन्य वस्तुको ढुवानीमा समेत असर परेको छ ।
घासादेखि कोरलासम्म सडक दुईतर्फी सञ्चालनमा आए पनि बेनी–जोमसोम खण्डका क्षतिग्रस्त स्थानमा काम अघि बढाउन राहुघाटको अवरोध हटाउनु अहिले मुख्य आवश्यकता बनेको सडक विभागले जनाएको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment