चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकामा महिला पक्राउ
काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले आइतबार लस एन्जलस विमानस्थलबाट ३४ वर्षीया एक महिलालाई गिरफ्तार गरेको छ। ती महिलामाथि चीन सरकारका लागि काम गर्दै ताइवानका राष्ट्रपति लाइ चिङ-तेका छोराको जासुसी (निगरानी) गरेको तथा उनको तस्बिर र भिडियो चीनसम्म पुर्याएको आरोप लागेको छ।
अमेरिकी महिलाको पहिचान वेनयिङ झाङ उर्फ हिदर झाङको रूपमा भएको छ। उनी क्यालिफोर्नियाको इरभिन सहरमा रियल स्टेट एजेन्ट हुन्। एफबीआईले उनलाई लस एन्जलसबाट साङ्घाई जाने उडान समात्नै लाग्दा गिरफ्तार गरेको हो। अमेरिकी अधिकारीहरूले उनीमाथि विदेशी सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोप लगाएका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार झाङ सेप्टेम्बर २०२५ मा अर्का एक व्यक्तिसँग लास भेगासबाट सियाटल गएकी थिइन्। दुवैले त्यहाँ एउटा कालो रङको निसान रोग कार भाडामा लिए र ताइवानका राष्ट्रपतिका छोरा टिङ-यु लाइको घरनजिक पुगिन् ।
अनुसन्धान एजेन्सीको आरोप छ – दुवैले घर र त्यहाँ आवतजावत गर्ने मानिसहरूको तस्बिर र भिडियो खिचेका थिए। छिमेकीको सुरक्षा क्यामेराको फुटेजमा पनि दुवैलाई क्यामेराबाट रेकर्डिङ गरिरहेको देखिएको थियो।
अमेरिकी अधिकारीहरूका अनुसार झाङले यस क्रममा चीनका एक सरकारी अधिकारीलाई विच्याटमार्फत जानकारी पठाएकी थिइन्। एफबीआईका अनुसार उनले आफूले टिङ-युलाई देखेको र उनको भिडियो बनाइरहेको बताएकी थिइन्। उनले दुईवटा गाडीको नम्बरसमेत पठाएकी थिइन्।
एफबीआईको उजुरी अनुसार यस सम्पूर्ण मामलाको सुरुआत जुन २०२५ मा भएको थियो। झाङलाई उनकी पुरानो विश्वविद्यालयकी एक साथीले चीनका सरकारी अधिकारीसँग भेट गराएकी थिइन्।
झाङ जुन महिनामा चीनको चाङसा सहर गएकी थिइन्। त्यहाँ उनले एउटा निजी कोठा बुक गरिन्, जहाँ उनको चिनियाँ अधिकारीसँग भेट भयो। एफबीआईका अनुसार अधिकारीले उनलाई निगरानी (जासुसी) सँग सम्बन्धित काम सुम्पेका थिए।
अनुसन्धान एजेन्सीका अनुसार त्यसपछि झाङले म्यासेज पठाएर आफूले यो काम सम्हाल्ने बताएकी थिइन्।
केही समयपछि उनले अधिकारीलाई आफू अर्को हप्ता सियाटल जान सक्ने जानकारी दिइन्। त्यसपछि नै सेप्टेम्बर २०२५ मा उनी आफ्ना साथीसँग सियाटल गइन् र राष्ट्रपतिका छोराको घरको निगरानी गरिन्।
एफबीआई एजेन्ट होल्टले उजुरीमा भनेका छन् – यदि चीनले कुनै सम्भावित द्वन्द्वका क्रममा ताइवानका राष्ट्रपतिमाथि दबाब सिर्जना गर्न चाहन्छ भने उनका नजिकका नातेदारहरूको लोकेसन, घर र गाडीहरूको तस्बिर उसका लागि उपयोगी हुन सक्छ।
झाङका श्रीमान् एड्रिक डिङ, जो सोही रियल स्टेट कम्पनीमा काम गर्छन्, उनले मिडियासँग कुरा गर्दै आफूलाई अझै यस मामलाबारे जानकारी नरहेको बताएका छन्।
टिङ-यु लाइ ताइवानका राष्ट्रपति लाइ चिङ-तेका छोरा हुन् र उनी अमेरिकामा बस्छन्। उनी इन्जिनियर हुन् र उनको पढाइ पनि अमेरिकामै भएको हो।
उनले सन् २०१२ मा केस वेस्टर्न रिजर्भ युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङको पढाइ पूरा गरे। त्यसपछि जोन्स हप्किन्स युनिभर्सिटी बाट मास्टर्स डिग्री र युनिभर्सिटी अफ वासिङ्टनबाट पिएचडी गरे।
टिङ-यु हाल नेदरल्यान्ड्सको बहुराष्ट्रिय कम्पनी फिलिप्समा काम गर्छन्। उनकी पत्नी र बच्चा पनि अमेरिकामै बस्छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment