बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

डिसी नेपाल
२६ असोज २०८३ २०:४३
88
Shares

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने अन्य छ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आँबुखैरेनी गाउँपालिका–६ छापस्वारा निवासी ४७ वर्षीया इन्द्रमाया गुरुङको मृत्यु भएको हो। बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि गुल्टर हुँदा सडकबाट करिब सात मिटर तल नालीमा खसेर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी गुरुङलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएका अन्य छ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन्।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको नेतृत्वमा गएको टोलीले घटनास्थलमा पुगी उद्धार कार्य गरेको थियो।

प्रहरीले जिप चालक आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क निवासी ३३ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *