बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा
बर्दिया। राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई आज नियन्त्रणमा लिइएको छ। गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन दुई वटा खोर (केज) राखेको थियो।
डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईँका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो। सो लगतै चितुवाको उद्धार गरी करिब ९ बजे बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारामा बुझाइएको उनले जानकारी दिए।
गत बिहीबार मध्यराति राजापुर नगरपालिका-३ चख्खापुरस्थित सडकमा बसिरहेका बेला चितुवाले थारुमाथि आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका थारुलाई स्थानीयले तत्काल उद्धार गरी राजापुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएकामा उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएको थियो।
चितुवाको आक्रमणबाट थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालयले शुक्रबारदेखि खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास गरेको वरिष्ठ वन अधिकृत चापागाईँले बताए। “मानिसमाथि आक्रमण गरेपछि दुई वटा खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास गर्दै आएका थियौँ”, उनले भने। आज मात्रै नियन्त्रणमा लिन सफल भएको उनले बताए।
चालु आर्थिक वर्षमा बर्दियामा चितुवाको सुरक्षित उद्धार गरिएको यो पहिलो घटना भएको कार्यालयले जनाएको छ। पछिल्लो समय जिल्लामा चितुवाको आक्रमण बढ्दै गएको छ। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म चितुवाको आक्रमणबाट एक जनासहित ३८ वटा घरपालुवा जनावर मारिएका डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ।
गाउँ बस्तीमा खसी, बाख्रा, बङ्गुर, गाई, भैँसी, कुकुरलगायत घरपालुवा जनावरमाथि चितुवा तथा बाघले आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालयले खोर राखेर तिनलाई नियन्त्रणमा लिने प्रयास गर्दै आएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment