अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक
बागलुङ। बाढीपहिरोले क्षति पुर्याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन्। सडक सञ्चालनमा आएपछि दसैँ मनाउन घर फर्किने यात्रुलाई सहज भएको छ।
यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले जिल्लाका सडक पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो। मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, प्रदेशस्तरीय तथा ग्रामीण सडक अवरुद्ध भएका थिए। क्षतिग्रस्त सडकमा अस्थायी मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको हो।
सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार मालढुङ्गा पुलको पहुँचमार्ग, बागलुङ–बेनी सडक तथा मध्यपहाडी लोकमार्गको गलकोट र निसीखोला खण्डमा मर्मतपछि यातायात सञ्चालन भएको छ। मालढुङ्गा पुलको पहुँचमार्ग १५ दिनपछि र गलकोट–ताराखोला सडक १७ दिनपछि सञ्चालनमा आएको थियो।
सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय तथा सहायक राजमार्गमा करिब रु. ३० करोडको क्षति भएको सुवेदीले बताए। मध्यपहाडी लोकमार्गको निसीखोला र गलकोट खण्डमा सबैभन्दा बढी क्षति पुगेको उनले जानकारी दिए।
मध्यपहाडी लोकमार्गको निसीखोलास्थित कानाबगर र झिवाखोला क्षेत्रमा करिब ४०० मिटर सडक बगाएर बगरमा परिणत भएको थियो। ती स्थानमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ। घोडाबाँधे–हटिया खण्डमा पनि एक दर्जनभन्दा बढी स्थानमा पहिरो गएको र सडक भासिएको थियो। कालीगण्डकी करिडोरको कालाखोला बगर, बेलबगर र जैमिनीघाट क्षेत्रमा पहिरोले क्षति पुर्याएको थियो। ती स्थानमा अस्थायी पहुँचमार्ग निर्माण तथा मर्मत गरेर यातायात सञ्चालन गरिएको छ। बागलुङ बजारदेखि सिँगाना र तित्याङ जाने सडकमा पनि पहिरोले क्षति पुर्याएको थियो। अवरुद्ध ग्रामीण सडक स्थानीय तहले मर्मत गरेर सञ्चालनमा ल्याएका छन्।
पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख अनुप थापाका अनुसार प्रदेश सरकारअन्तर्गतका सडकमा करिब रु. २० करोडको क्षति भएको प्रारम्भिक अनुमान छ। सबैभन्दा बढी क्षति गलकोट–हरिचौर–ताराखोला सडकमा पुगेको उनले बताए।
उक्त सडकको आठ किलोमिटर खण्डमा एक दर्जन स्थानमा पहिरो गएको थियो भने तीन स्थानमा ताराखोलाले कालोपत्र सडकको ट्र्याक नै बगाएको थियो। ती स्थानमा माटो भरेर अस्थायी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ।
जिल्लाका राष्ट्रिय, सहायक तथा प्रदेशस्तरीय सडकमा गरी करिब रु. ५० करोडको क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिग्रस्त सडकको दीर्घकालीन पुनर्निर्माणका लागि रु. एक अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। तत्कालका लागि कटिङ, फिलिङ र अस्थायी पहुँचमार्ग निर्माण गरेर सडक सञ्चालनमा ल्याइए पनि स्थायी पुनर्निर्माणको काम भने बाँकी छ। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment