सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव रावतद्वारा सुरेन्द्र तिमिल्सिनाको निधनप्रति शोक व्यक्त

डिसी नेपाल
१ कार्तिक २०८३ २२:०५
32
Shares

धनगढी । नेपाल सांस्कृतिक कलाकर्मी संघका पूर्वमहासचिव एवम् लोकतान्त्रिक आन्दोलनका योद्धा सुरेन्द्र तिमिल्सिनाको निधनप्रति सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव सुरत रावत ‘डोटेली कान्छा’ले गहिरो दुःख व्यक्त गरेका छन्।

उक्त दुःखद खबरले आफूलाई मर्माहत बनाएको बताउँदै सदस्य सचिव रावतले दिवङ्गत तिमिल्सिनासँगको सहकार्य र आत्मीयतालाई स्मरण गरेका छन्। नेपाल सांस्कृतिक कलाकर्मी संघमा डिबी गुरुङको अध्यक्षतामा संघले नेतृत्व गर्दा डिबी गुरुङ अध्यक्ष, सुरेन्द्र तिमिल्सिना महासचिव र आफू केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेर सँगै काम गरेको उनले उल्लेख गरेका छन्।

जिम्मेवारीको हिसाबले तिमिल्सिना महासचिव भए पनि सधैँ अभिभावकत्व प्रदान गर्दै मार्गनिर्देशन गरेको स्मरण गर्दै रावतले भनेका छन्, ‘भाइ, तिमी सुदूरमा छौं तर हिम्मत नहार्नु, हामी छौँ नि! भन्ने उहाँका प्रेरणादायी शब्दहरू अझै पनि आफ्नो स्मरणमा ताजै छन्।’

देशको लोकतान्त्रिक आन्दोलन होस् वा श्रमजीवी कलाकर्मीहरूको हकहितका निम्ति भएका संघर्षहरू, हरेक मोर्चामा तिमिल्सिनाको नेतृत्वदायी भूमिका सधैँ स्मरणीय रहने उनले बताएका छन्।

सदस्य सचिव रावतले दिवङ्गत आदरणीय व्यक्तित्व सुरेन्द्र तिमिल्सिनाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनका छोरा सचिन तिमिल्सिनालगायत सम्पूर्ण आफन्तजन र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *