एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रविधि प्रयोग हुने
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी कात्तिक ९ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि प्रयोग हुने भएको छ।
एनपीएलको आधिकारिक फेसबुक पेजमार्फत यसपटकको प्रतियोगितामा डीआरएस प्रयोग गरिने जानकारी दिइएको हो। क्रिकेटमा अम्पायरको निर्णय पुनरावलोकन गर्न प्रयोग गरिने यो प्रविधिले खेलमा निर्णयलाई थप सटीक बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
डीआरएसमार्फत बलिङ टोलीले अम्पायरको निर्णयमा चित्त नबुझेमा विकेटका लागि पुनरावलोकन माग गर्न सक्नेछ भने ब्याटिङ टोलीले पनि गलत निर्णय भएको अवस्थामा त्यसलाई चुनौती दिन सक्नेछ।
यसपटकको एनपीएलमा एलबीडब्लु निर्णयको पुनरावलोकनका लागि पूर्ण थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ। त्यसैगरी रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयको पनि समीक्षा गर्न सकिनेछ।
प्रतियोगितामा कृत्रिम बुद्धिमत्ता (एआई) को सहायताले ब्याटमा बल लागेको वा नलागेको पहिचान गर्ने प्रविधिसमेत प्रयोग हुनेछ। यसका अतिरिक्त वाइड बलको उचाइ, छक्काको दूरी र उचाइ मापन तथा बलिङसम्बन्धी अन्य विश्लेषणात्मक विवरण पनि उपलब्ध हुने जनाइएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलमा डीआरएस प्रविधि प्रयोग गर्ने निर्णयलाई नेपाली क्रिकेटका लागि कोसेढुंगा सावित हुने बताएका छन्।
डीआरएसको प्रयोगले खेलका विवादास्पद निर्णय पुनरावलोकन गर्न सहज बनाउनुका साथै प्रतियोगिताको प्राविधिक स्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment